सरकारले मिर्गौलाका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णय गरेको छ । सरकारले यसअघि सातामा दुईपटकका दरले दुई वर्षसम्म डायलासिस सेवा निःशुल्क दिँदै आएको थियो । अब मिर्गौला रोगीलाई आजीवन निःशुल्क डायलासिस सेवा दिने निर्णय मन्त्रिपरिषद्ले बिहीबार गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले बताए । छोटो समयको निःशुल्क सेवाले आफूहरूलाई बाँच्न कठिन भएको र पैसा अभावमा प्रत्यारोपण पनि गर्न नसकिएको भन्दै बिरामी लामो समयदेखि संघर्षमा थिए । सरकारले यसअघि डायलासिस सेवामा एउटा बिरामीका लागि दुई वर्षसम्म बर्से्नि पाँच लाख २० हजार रुपैयाँ खर्च गर्दै आएको थियो । सातामा दुईपटक भन्दा बढी डायलासिस गर्नुपर्ने बिरामीले आफैं पैसा तिनुपर्ने बाध्यता थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सरकारी निर्णयअनुसार कार्यविधि बनाएर सम्बन्धित अस्पताल र स्वास्थ्य संस्थामा पठाएपछि निःशुल्क डायलासिस सेवा लागू हुने बताए । सातामा दुईपटकमात्र निःशुल्क डायलासिस सेवा दिने हो वा जति आवश्यक पर्छ त्यति नै दिने भन्ने पनि कार्य्विधिले टुंगो लगाउने उनले बताए । एकपटक डायलासिस सेवा बापत निजी अस्पतालले पाँच हजार रुपैयाँसम्म लिने गरेका छन् । सरकारी स्वास्थ्य संस्थाले दुई हजार ५ सय रुपैयाँसम्म उक्त सेवा प्रदान गर्छन् ।
अस्वस्थकर खानपान र जीवनशैली, अनावश्यक अत्यधिक औषधि सेवन, शारीरिक अभ्यासको कमीलगायत कारण नेपालमा २६ लाख मानिस मिर्गौलाको कुनै न कुनै समस्याबाट ग्रसित छन् । त्यसमध्ये दुई लाख ६० हजार मानिसको मिर्गौलामा गम्भीर समस्या छ । तीमध्ये पनि वर्षमा २६ हजार मानिसको मिर्गौला काम नगर्ने अवस्थामा पुग्छ । त्यसमध्ये आर्थिक अवस्था कमजोर भएका करिब ३ हजार मिर्गौलारोगी जीवन बचाउन डायलासिसका लागि भौंतारिने गरेका छन् । मिर्गौला फेल भएका अधिकांशले डायलासिस र प्रत्यारोपणको पहुँचमा पुग्न नसक्दा ज्यान गुमाउने गरेका छन् ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा मात्रै दैनिक एक सय २० जनासम्म मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् । शिक्षण, पाटन, वीरलगायत सरकारी अस्पतालमा डायलासिस गराउनेको चाप निकै छ । मानवअंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डायलासिस सेवा निःशुल्क गर्ने सरकारी निर्णय आफैंमा राम्रो भएको तर यसले प्रत्यारोपण सेवालाई प्रोत्साहन नगर्ने हो कि भन्ने शंका व्यक्त गरे । ‘सरकारले डायलासिस सेवा निःशुल्क गर्दा बिरामीलाई तत्कालका लागि ठूलो राहत मिल्नेमा कुनै द्विविधा छैन । तर जीवनभर स्वस्थ भएर बाँच्न प्रत्यारोपण नै आवश्यक पर्छ’, उनले भने, ‘त्यसैले प्रत्यारोपणको सेवामा पनि सरकारले प्रोत्साहन गर्नुपर्छ । प्रत्यारोपणले उत्पादनशील जीवन बाँच्न सहयोग गर्छ ।’ राष्ट्रिय मिर्गौला रोग केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले डालयासिस निःशुल्क गर्ने सरकारको निर्णय ऐतिहासिक भएको बताए । डा. काफ्लेले डायलासिस गर्नुपर्ने ८० प्रतिशत बिरामी विपन्न रहेको बताए । यी बिरामीले सरकारी निर्णयलाई ठूलो उपलब्धि मानेका छन् । डा. काफ्लेले पनि मिर्गौला रोगीलाई बचाउने र स्वस्थ बनाउने दीर्घकालीन उपाय भने डायलासिस नभई प्रत्यारोपण भएको बताए । ‘अब बिरामीले डायलासिस गर्ने पैसा बचाउनेछन्’, उनले भने, –‘सरकारले प्रत्यारोपणपछि खाने औषधि पनि निःशुल्क गरिदियो भने बिरामीले सहज रूपमा मिर्गौला फेर्न पाउनेछ र जीवनभर डायलासिसका लागि झन्झट मिल्नेछैन ।’
के हो डायलासिस ? ः डायलासिस रगत शुद्घीकरण गर्ने कृत्रिम विधि हो । मृगौलाको कार्यक्षमता कमजोर हुँदा शरीरको विषाक्त पदार्थ पूर्णरूपमा बाहिर निस्किन सक्दैन । क्रिइटिनिन, युरिया लगायत विषाक्त पदार्थको मात्रा बढ्छ । यस्तोमा मेसिनको सहयोगले रगत सफा गर्ने प्रक्रिया नै डायलासिस हो । रगतमा संकलित हुने विषाक्त पदार्थ हटाउन र पानी तथा मिनरल्सको सन्तुलन वनाउन मृगौलाले काम नगर्ने अवस्थालाई किड्नी फेल्योर भनिन्छ । रगत परीक्षणमा युरिया र क्रिइटिनिनको बढ्दो मात्राले किड्नी फेल्योरलाई दर्साउँछ । बिस्तारै र स्थायी रूपमा मृगौलाको कार्यक्षमता घट्दै जाने क्रमलाई क्रोनिक किड्नी फेल्योर भनिन्छ । मृगौलाभित्र दसौं लाख ‘नेफ्रोन’ भनिने स–साना संरचना हुन्छन्, जसले रगतलाई शुद्घ पार्छ । फोहर पदार्थ र अतिरिक्त पानी हटाउँछ, जुन पिसाबका रूपमा शरीर बाहिर निस्किन्छ । मृगौलाले हार्मोन निर्माण गर्ने, पिसाब बनाउने, मिनरल अवशोषण गर्ने र अम्लको सन्तुलन राख्ने कामसमेत गर्छ ।
बिरामी हर्षितः डायलासिस सेवा आजीवन निःशुल्क गर्ने निर्णयलगत्तै भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा पुग्दा डायलासिस गराइरहेका बिरामीका आँखामा खुसी देखिन्थ्यो । डायलासिस गराइरहेकी ओखलढुंगा बर्नालुकी पोकलकुमारीले डायलासिस गर्दा अब पैसा लाग्दैन भन्ने सुनेर निकै खुसी लागेको बताइन् । ‘सकेसम्म प्रत्यारोपण गर्न पाए हुन्थ्यो भन्ने लागिराखेको थियो । डायलासिस गर्न पनि गाह्रो भइरहेका बेला त्यो त सपनाजस्तै भएको थियो’, उपचार गर्न भूकम्पपीडित आफन्तसँग पालमा बसिरहेकी उनले भनिन्,–‘अब डायलासिस मा जीवनभर पैसा नलाग्ने भन्ने सुन्दा अझै संसार देख्न पाइन्छ कि भन्ने लागिरहेको छ ।’ पत्नीको डायलासिसका लागि केन्द्रमा आइपुगेका नवलपरासी सुनवलका निर्मल परियार पनि सरकारले डायलासिस निःशुल्क गर्ने निर्णय गरेपछि खुसी छन् । सरकारले निर्णय गरे पनि आफूहरूले निःशुल्क सेवा नपाउने हो कि भन्ने डर भने उनको मनमा छ ।
गर्भवती महिलाका लागि ३० टिप्स
१.नियमित रूपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौन सम्पर्क गरे गर्भ रहन सक्छ।
२.गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छै न ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
३. कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ।
४.गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।
५.छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।
६.गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भैरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो।
७.गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न – पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण) भए पनि अल्ट्रासाउन्ड – भिडियो एक्सरे) को आफ्नै महत्व छ।
८.आर्थिक विपन्नता वा सेवाको अभावले पटक( पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ(छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ।
९.मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन
चरणमा बाँडिएको छ। प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक–फरक हुन्छन्।
१०.नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउँछन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन्।
११.गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने (पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ।
१२.गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू (तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन्।
१३.विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ। यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ।
१४.पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरि गराउनुपर्छ।
१५.प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग
(भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय
महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ। १६.पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खाना खानुपर्छ।
१७.नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो।
१८ जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ।
१९. मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक(पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।
२०.गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ।
२१.गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङ्गहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउँछ भने
९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्।
२२.विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अङ्ग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मिन सक्छन्।
२३.गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिस्राव – सेतो पानी) अलि बढी बग्ने, पिँडौला एवं
जननेन्द्रिय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिँडौला बाउँडिने हुन्।
२४. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु
राम्रो लक्षण मानिँदैन।
२५.करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ।
२६.शिशुको टाउको बाङ्गिनु, शिशु उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भैरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिले बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर
रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्।
२७.जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी (३५ वर्ष भन्दा माथि) हुँदा, पटक–पटक गर्भ खेर जाँदा,
गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्याउनुपर्छ।
२८.सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता (२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता (२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ।
२९.उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्।
३०.पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने (सानो सूतक हुने), महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन्।
Post a Comment