0
गोल्डेन न्यूज संवाददाता
नेपालले आफ्नै पानीजहाज किनेर चलाउने प्रधानमन्त्री केपी ओलीको भाषण देशमा हाँसो ठट्टाको विषय बनेको छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म प्रधानमन्त्री मजाकका पात्र बनिरहेका छन् । भुपरिवेष्ठित राष्ट्र नेपाल कुनै समुद्रसँग जोडिएको छैन । त्यसैले पनि पानीजहाजको कुरालाई हावादारी गफ मानिरहेका छन् नेपालीहरु । यद्यपि, भुपरिवेष्ठित राष्ट्रले समुद्रमा आफ्नो झण्डा राखेर पानीजहाज चलाउन पाउने बताउँछन् पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा । ‘भुपरिवेष्ठित राष्ट्रका पानीजहाज बन्दरगाहमा आउने, रोकिने र फर्किएर जाने गर्न पाउँछन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सामुद्रिक काननूले त्यसको प्रत्याभूत गरेको छ ।’ विगतमा पनि नेपालले आफ्नै पानीजहाज संचालन गर्न नखोजेको होइन । साढे चार दशकअघि २०२८र०२९ सालतिर पानीजहाज किन्नका लागि प्रक्रिया अगाडि बढाइएको थियो । पानीजहाज संचालन गर्न रोयल नेपाल सिपिङ कर्पोरेसन खडा गरियो । तर, पञ्चायतकालमा उत्पत्ति भएको सो कम्पनी पञ्चायतकालमै बिलायो । त्यसयता नेपालले पानीजहाज किनेर चलाउने प्रयास गरेको छैन । तर, एक्कासी प्रधानमन्त्री ओलीले पानी जहाज किनेर नेपाली झण्डा फहराई हिन्द र प्रशान्त महासागरमा चलाउने बताएपछि पानीजहाजको बहस पुनः सतहमा आएको छ । तर, पानीजहाज चलाउन सामुद्रीक र बन्दरगाहका धेरै कानूनी प्रकृया पुरा गर्नुपर्ने हुन्छ ।
फ्रेट फरवार्ड एशोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्मा प्रधानमन्त्रीले भने जस्तै नेपालले पानीजहाज किनेर चलाउन अहिलेकै अवस्थामा सम्भव नरहेको बताउछन् । भारतसँग भएको व्यापार तथा पारवहन सम्झौता यसका लागि वाधक हुने उनको दावी छ । ‘सम्झौता अनुसार कलकत्ता आउने नेपाली समानको सम्पूर्ण ठेक्का भारतीय क्लियरिङ एजेन्टलाई दिनुपर्छ’ शर्माले भने–‘हामीले आफ्नो जहाजबाट समान ल्याएर कलकत्तामा कसरी क्लियरिङ गर्ने ?’ आफ्नै पानीजहाज सञ्चालन गर्नका लागि पनि भारतसँगको सम्झौता संसोधन गर्नुपर्ने उनको भनाई छ । पानीजहाज किनेर सञ्चालन गर्न निकै खर्चिलो र झन्झटिलो रहेको पूर्ववाणिज्य सचिव ओझाको पनि भनाई छ । ‘सरकारले आफै पानीजहाज किन्ने होइन होला, निजी क्षेत्र पानीजहाज चलाउँछु भनेर अगाडि आएजस्तो लाग्दैन’ पूर्वसचिव ओझा भन्छन्, ‘नेपाली झण्डा राखेर पानीजहाज चलाउने घोषणा व्यवहारमा लागू हुनेमा शंका लाग्छ ।’
यदि सरकारले आफ्नो व्यवस्थापकीय क्षमता सुधार नगरी पानीजहाज संचालन गरेमा त्यसको अवस्था पनि नेपाल एयरलाइन्स र यातायात कम्पनीकै सरह हुने पूर्वसचिव ओझाले बताए । नेपालमा सिंगापुर र श्रीलंकाबाट कलकत्ता बन्दरगाह हुँदै समान भित्रिने गर्छ । कार्गो व्यवसायी शर्माका अनुसार सिंगापुर र श्रीलंकासम्म ठूलो जहाजले सामान बोकेर ल्याउँछ । त्यहाँबाट नेपालमा सानो जहाज (फिडर भेर्सल) ले सामान बोकेर आउँछ । शर्माका अनुसार पानीजहाज सिंगापुरबाट कलकत्ता आइपुग्न ७ दिन लाग्छ भने सिंगापुर फर्किन पनि ७ दिन लाग्छ। लोड–अनलोडमा ४ दिन लाग्छ । सिंगापुरबाट समान बोकेर कलकत्ता आई सनमान अनलोड गरी सिंगापुर फर्किन झण्डै २० दिन लाग्छ । शर्मा भन्छन्, ‘एउटा मात्र पानीजहाज सञ्चालन गर्दा व्यवसायीले सामान ल्याउन धेरै दिन कुर्नुपर्छ । नेपाली व्यवसायीलाई मात्र सुविधा दिन पनि २÷३ वटा जहाज किन्नुपर्छ ।’
सरकारले पानीजहाज चलाउने घोषणा गर्नुभन्दा कलकत्तामा हाम्रो समानको दायित्व आफै लिने व्यवस्था मिलाउनेतर्फ लाग्नुपर्ने शर्माको सुझाव छ । ‘यसो भएमा क्लियरिङ, डिमोरेज, डिटेन्सनको कुरा पनि हाम्रो हातमा आउँथ्यो र हामी आफै सल्टाउँथ्यौं,’ उनले भने ।
नेपाल सरकारले भारतीय सरकारसँग डेडिकेटेड रेल्वे लाइन नेपालका लागि हप्तामा २ दिन चल्नेगरी चल्ने मिलाएमा कलकत्ता बाट हिँडेपछि एक रातमा सामान वीरगञ्ज आइपुग्ने उनी बताउँछन् ।






Post a Comment

 
Top