0
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारी सहितको छ जना टोली सोमबार छड्के अनुगमनमा निस्क्यो । आफ्नो कार्यक्षेत्रमा सञ्चालित डिस्को तथा डान्सबारको निरीक्षण गर्ने क्रममा राति १० बजे महेन्द्रपुल स्थित सोनिक नाईट क्लब एण्ड बार पुग्यो । अर्धनग्न पोशाकमा युवती डान्स गर्दै थिईन् । तीन पुरुषहरु टेबलमा बसेर मदिरा र सुन्दरीका साथ झुम्दै थिए । बीचमा रहेका ५२ वर्षीय पाको पुरुष डान्सबारकै १८ वर्षीया युवतीलाई काखमा बसालेर अश्लिल हर्कत गर्दै थिए । बार संचालक तनहुँ ढोरफिर्दीका आशिष क्षेत्री काउण्टरमै थिए । प्रहरीले अश्लिल हर्कत देख्नासाथ ती ५२ वर्षीय पुरुषलाई पक्रिए । अन्य दुई जना भने सामान्य अवस्थामा नै पिईरहेका थिए । प्रहरीले सञ्चालक क्षेत्रीसँग सोधपुछ गर्दा थाहा भयो सोनिक नाईट क्लब एण्ड बार त प्रशासनको अनुमति विना नै सञ्चालनमा आएको रहेछ ।  त्यसपछि प्रहरीले सञ्चालक क्षेत्री, तीन जना ग्राहक र १० डान्सरलाई नियन्त्रणमा लियो । सञ्चालक र अश्लिल क्रियाकपलाप मा संलग्नलाई केहि सार्वजनिक अपराध अन्तर्गत मुद्धा प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । अन्य दुई ग्राहक र नौ जना डान्सरहरुलाई भने डान्सबार व्यवसायी संघको रोहवरमा परामर्श प्रदान गरि छाडिएको छ ।
यस विषयमा प्रमुख अधिकारी सँग सोध्दा नियम विपरित संचालन भएको र अश्लिल क्रियाकलापमा संलग्न भएकाले मात्रै नियन्त्रणमा लिईएको बताए । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नै नलिई सञ्चालन भएको पाईएकाले संचालकलाई सोहि अनुसार कारबाही प्रक्रिया अघि बढाईएको उनले जनाए । ‘हामी आचारसंहिता र नियमानुसार संचालन भए नभएको तथा डिस्को तथा डान्सबारबाट बाहिर असर परे नपरेको बारे नियमित तथा छड्के अनुगमनमा हिँड्छौं ।’ उनले भने–‘अन्य डान्सरहरुलाई छाडिसकिएको छ । तीन जना मात्र अहिले नियन्त्रणमा छन् ।’ उनले सबै डिस्को तथा डान्स बार संचाकलाई मर्यादामा रहेर विधिसम्मत् व्यवसाय गर्न पनि आग्रह गरे । नृत्य कला भएकाले यसको सम्मान गर्ने तर अश्लिलतालाई अंगालेमा यौन अपराध हुने भएकाले यसतर्फ आफु सजग रहेको भन्दै उनले आफ्नो कार्यकालमा आफ्नो जिम्मेवारी क्षेत्रमा कुनै पनि नियमविपरित कार्य हुन नदिने उल्लेख गरे । उनले लेकसाईडका ठुला होटलदेखि साना सबै ठाउँमा आफ्नो नजर रहेकाले नियमविपरित कसैलाई व्यवसाय गर्ने छुट नभएको बताए । पोखरामै सबैभन्दा बढि घरेलु मदिरा मालेपाटन क्षेत्रबाट तीन साता अघि उनकै नेतृत्वमा बरामद भएको थियो । यसैबीच, पोखरा डान्सबार एशोसियसनका अध्यक्ष लक्ष्मण गुरुङले नियम विपरित सञ्चालित डान्सबारहरुको बचाउमा आफूहरु नलाग्ने स्पष्ट पारेका छन् । उनले सोनिक नाईट क्लब एण्ड डान्सबार दुई महिना अघि मात्र संघमा आबद्ध भएको जनाउँदै प्रहरीले छापा मार्ने क्रममा त्यहाँ देखिएको गतिविधि स्विकारयोग्य नभएको बताए । ‘जिल्ला प्रशासन कार्यालयबाट मात्र अनुमति लिन बाँकी रहन आएको देखिएको छ । केहि दिन बार बन्द गरेर सम्पूर्ण प्रक्रिया पुरा नगरी हामी नै सञ्चालन हुन दिँदैनौं ।’ उनले भने–‘अन्य डान्सबार समेत यसो हुन सक्छन् । हामी दुई तीन दिनभित्रै बैठक बसेर निर्णय लिन्छौं ।’ उनले ११ बजेसम्म मात्रै खोल्नुपर्ने, ग्राहकसँग वेट्रेस, डान्सर तथा स्टाफ युवतीलाई अश्लिल क्रियाकलपामा संग्लग्न गराउन नहुने, भित्रको ध्वनी बाहिर आउन नहुने लगायतमा आफूहरु गम्भीर रहेको बताए । पोखरा क्षेत्रका १३ डान्सबार एशोसियसनमा आबद्ध छ । बाँकी दुई तीन डान्सबार सञ्चालनमा आएको जनाउँदै अध्यक्ष गुरुङले उनीहरुलाई पनि आबद्धताका लागि पत्र काटिसकिएको बताए। प्रक्रिया पुरा नभएको भए यथाशीघ्र प्रक्रिया पुरा गर्न पनि उनले आग्रह गरेका छन् । एजेन्सी





Post a Comment

 
Top