0
अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा वैशाख २३ गते दुई दलका नेताहरु छलफल गरिरहेका थिए, जहाँ एमाओवादी नेताले एमाले नेतालाई तीनबुँदे समझदारीको ड्राफ्ट देखाए । नौ बुँदे समझदारीपत्र सार्वजनिक गर्ने तर यो बेग्लै रुपमा रहने ३ बुँदे चाँहि गोप्य राख्ने एमाओवादीको प्रस्ताव थियो । प्रधानमन्त्री केपी ओलीले तीनबुँदे समझदारी पढे र उनी एकाएक जंगिए–‘म कागज गरेर बजेट ल्याउँदिन । यसरी कागज गरेर बजेट ल्याउनुपर्छ भने बरु म अहिल्यै राजीनामा दिन्छु ।’
प्रधानमन्त्री यसरी तात्तिएपछि वातावरणमा केहीबेर सन्नाटा छायो । एकैपछि एमाओवादी नेताले प्रधानमन्त्रीलाई प्रश्न गरे–तपाईहरु सँग हिजो भएको छलफलमा चारवटा बुँदामा हामी सहमत छौं भनेको हैन ? अहिले आएर मान्दिँन भन्ने ?’ एमाओवादी नेताको प्रश्नपछि प्रधानमन्त्री ओलीले गोजीबाट पकेट डायरी निकाले, जहाँ उनले ती चारबुँदा टिपेर राखेका रहेछन् । ओलीले डायरी पल्टाएर यो चारबुँदा होइन भन्दै सुरुमा नारायणकाजी श्रेष्ठले एमाले नेताहरुलाई पठाएको मस्यौदा देखाए । एमाओवादी नेताहरुले त्यही हो भनेपछि ओलीले त्यसमा आफू प्रतिवद्ध रहेको बताए । स्रोतका अनुसार ओलीको प्रतिवद्धता आए पनि लिखित सहमति गर्न मानेनन् । र, अन्तत तीनबुँदे सहमतिमा हस्ताक्षर हुन सकेन । एमाओवादीका एक उच्च नेताले भने,–बजेट पास भएपछि एमालेको प्रस्ताव र समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । प्रधानमन्त्रीले लिखित गर्न नमानेकाले भद्र सहमति मात्र कायम राखिएको छ ।’ स्रोतका अनुसार एमाले नेताहरुले यसलाई अहिले सार्वजनिक रुपमा बाहिर नल्याउन एमाओवादीलाई आग्रह गरेका छन् । र, त्यस अनुसार नै एमाओवादी नेताहरुले यसबारे अहिले धेरै बोल्ने गरेका छैनन् । एमाले उपाध्यक्ष वामदेव गौतमले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएका स्वीकार गरेका छन् । यद्यपि समय भने नतोकिएको भन्दै उनले उचित समयमा प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् । स्रोतहरुका अनुसार २३ गते अर्थ मन्त्रालयमा भएको वार्तामा एमाले र एमाओवादीबीच ११ बुँदे सहमतिको खाका तयार भएको थियो । जसलाई अन्तिममा नौ बुँदे रुप दिइएको छ । जसमा माओवादीले उठाउँदै आएको सशस्त्र द्वन्द्वकालीन मुद्दा मामिलाका विषयहरुलाई एमालेले सम्बोधन गर्ने प्रयास गरेको छ । अर्थ मन्त्रालयमा भएको बैठकमा तीनबुँदे गोप्य सहमतिको प्रस्ताव समेत पेश भएको थियो । जसमा बजेट पास भएपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने र त्यसलाई सहमतीय स्वरुप दिन प्रयास गर्ने उल्लेख थियो । प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रधानमन्त्री छाड्ने भद्र सहमति भएको भनिए पनि लिखित सहमति गर्न प्रधानमन्त्रीले नमानेपछि यो भद्र सहमति कार्यान्वयन हुनेमा एमाओवादी नेताहरु सशंकित बनेका छन् । एमाले र एकीकृत नेकपा माओवादीबीच नौबुँदे सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारचाहिँ जोगिएको छ । तर, योबाहेक तीनबुँदे भद्र सहमति बेबारिसे बनेको छ । यो सहमति मान्ने हो भने बजेट पास भएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेछन् र एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद छाड्नेछन् । सुरुमा ओलीसहितका एमाले नेताहरु सहमत भएपछि नै एमाओवादी नेताहरुले सहमतिको उक्त प्रस्ताव पेश गरेका थिए ।
के थियो तीनबुँदे सहमतिमा ?
स्रोतका अनुसार प्रधानमन्त्रीले कागज गरेर बजेट घोषणा गर्दिन भनेपछि हस्ताक्षर हुन नसकेको तीन बुँदामा बजेट घोषणा गरेको एक महिनापछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने र प्रचण्डलाई प्रधानमन्त्रीमा औपचारिक प्रस्ताव गर्ने भनिएको थियो । त्यस्तै स्थानीय निर्वाचनमा दुई दल मिलेर जाने दोस्रो बुँदा थियो भने तेस्रो बुँदामा सामाजिक–आर्थिक एजेण्डामा दुई दल मिलेर अघि बढ्ने प्रतिवद्धता जनाइएको थियो । सरकार फेरबदलको ७२ घन्टे प्रयासमा नेपाली कांग्रेसको समर्थनमा एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न तयार भइसकेका थिए । तर, एमाओवादी भित्रकै समूहले प्रचण्डलाई रोकेको छ र अब एमालेकै समर्थनमा उनी प्रधानमन्त्री बन्ने तयारीमा छन् । यसका लागि बजेट घोषणा लगत्तै तीनबुँदे गोप्य सहमति कार्यान्वयन हुन जरुरी छ ।
स्रोत ः अनलाइनखबर






Post a Comment

 
Top