0
प्यासिफिक एशिया ट्राभल एशोसिएशनको वार्षिक सम्मेलनमा भाग लिन पोखरेली पर्यटन व्यवसायीको चार सदस्यीय टोली सोमबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीको नेतृत्वमा अमेरिका प्रस्थान गरेको टोलीका अन्य सदस्यमा पर्यटन व्यवसायीहरु नरेशबहादुर भट्टराई, गोपीबहादुर भट्टराई र नारायण पहारी रहेका छन् । यही जेठ पाँच देखि आठ गतेसम्म अमेरिकाको ग्वाम सिटीको ग्वाम रिसोर्टमा यो सम्मेलन हुन लागेको हो । सम्मेलनमा पर्यटन क्षेत्रका पछिल्ला चुनौति र पर्यटन उद्योगको विकासका लागि अपनाउन सकिने उपायका बारेमा झण्डै ४० देशका चार सय भन्दा बढी पर्यटन सम्बद्ध उच्च अधिकारी र व्यवसायीले छलफल गर्ने संघका अध्यक्ष पराजुलीले जानकारी दिए । सम्मेलनका अवसरमा पाटाको वार्षिक साधारणसभा समेत आयोजना हुने कार्यक्रम रहेको छ । सो अवसरमा दीगो पर्यटन विकास, पर्यटन क्षेत्रका पछिल्ला चुनौतिका बारेमा पनि चर्चा गरिने छ । खासगरी एशिया प्यासिफिक क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो । ग्वाम भिजिटर्स व्यूरोले स्थानीय रुपमा कार्यक्रमको आयोजना गरेको हो ।





Post a Comment

 
Top