0
गोल्डेन न्यूज संवाददाता
झन्झटिलो  कम्पनी दर्ता र खारेजी प्रक्रियालाई सरल बनाउन सरोकारवालाहरुले कम्पनी रजिष्टारको कार्यालयसँग अनुरोध गरेका छन् । कम्पनी दर्ता र संचालन एवं बन्द गराउँदा झेल्नुपर्ने झन्झट र जरिवानाबारे सर्वसाधरणले समेत बुझ्ने गरी सचेतता कार्यक्रम संचालनमा ल्याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालय तथा पोखरा उद्योग वाणिज्य संघले संयुक्तरुपमा मंगलबार पोखरामा आयोजना गरेको कम्पनी दर्ता,कम्पनी प्रशासन तथा कम्पनी खारेजी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो माग गरेका हुन् । सो अवसरमा बोल्ने वक्ताहरुले कम्पनी दर्ता गर्न सजिलो हुने तर पूँजी वृद्धि, पूँजी घटाउने तथा कम्पनी बन्द गराउँदा हुने कानूनी जटिलताका कारण संचालनमा नआएका धेरै कम्पनीहरु समेत बन्द नभएको गुनासो गरे  । झन्झटिलो कानूनी प्रक्रियाका कारण व्यवसायीहरुले विचौलिया वा कानून व्यवसायीहरुलाई मोटो रकम तिर्नु परेको उनीहरुको धारणा थियो । कार्यक्रममा बोल्दै कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार चन्द्रप्रसाद देवकोटाले राजधानीमा मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयलाई प्रादेशिक सरचना अनुसार विकास गर्न लागिएको जानकारी दिए । कम्पनी दर्ता र खारेजीमा देखिएको समस्याकै कारण नेपालमा दर्ता भएका १ लाख४० हजार कम्पनीमध्ये ४० हजारवटाले मात्र आफ्नो गतिविधी अध्यावधिक गरेको उनले बताए । कम्पनी रजिष्टार कार्यालयले अनलाइनमार्फत नै कम्पनी दर्ताको प्रक्रिया सुरु गरेको जानकारी दिँदै उपरजिष्टार देवकोटाले कम्पनी दर्ता गर्नेहरुलाई सोही प्रक्रियाबाट कम्पनी दर्ता गर्न सुझाए । आफ्नो कार्यालयमा वकिल  र विचौलियाहरुको जगजगी रहेको स्वीकार्दै उनले त्यस्ता व्यक्तिहरुकै कारण कम्पनी दर्ता र खारेजी एवं अद्यावधिक प्रक्रिया महंगो हुन पुगेको दावी गरे । ‘अफिसमा विचौलियाहरु छन्, त्यहाँ वकिल र विचौलियाको जगजगी छ,हाम्रा साना तहका कर्मचारीहरुबाट पनि गल्ती भएको हुनसक्छ’, कम्पनी दर्ता र खारेजीको क्रममा महंगो शुल्क तिर्नु परेको गुनासोको उत्तर दिँदै उनले भने,‘सह रजिष्टार, उपरजिष्टार र रजिष्टारकहाँ आउनुहोस्,काम सजिलै हुन्छ । सो कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाले कम्पनी स्थापना, संचालन र अद्यावधि एवं खारेजी प्रक्रियालाई झन्झटमुक्त बनाउनुपर्नेमा जोड दिए । कम्पनी रजिष्टारको कार्यालयलाई राजधानी बाहिर बिस्तार गर्ने निर्णयको स्वागत गर्दै उनले कम्पनीसम्बन्धी जानकारीहरु सर्वसाधारणसम्म पुग्ने व्यवस्था मिलाउन माग गरे । पोखरा पर्यटन परीषदका अध्यक्ष सोमबहादुर थापा मगरले अन्य देशमा कम्पनी दर्ताको सुविधा घरमै उपलब्ध हुने गरे पनि नेपालमा भने प्रक्रिया नै लामो भएको गुनासो गरे । पोखराको पर्यटन क्षेत्रबाट मात्रै ६ सय वटा प्राइभेट लिमिटेड कम्पनीहरु दर्ता भएको जनाउँदै उनले पोखरामा तत्काल कार्यालय खोल्न माग गरे । नेपाल टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले कम्पनीबारे जानकारी नहुँदा ठूलो परिणाममा जरिवाना तिर्नु परेको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले कम्पनी संचालनमा नभएको खण्डमा स्वतः खारेजीको व्यवस्था हुनुपर्ने माग गरे । संघकी कार्यसमिति सदस्य सीता गुरुङले कम्पनीको नविकरण प्रक्रिया सरल बनाउनु पर्नेमा जोड दिइन । संघकै कार्यसमिति सदस्य दामु अधिकारीले अद्यावधिक र संचालनमा नआएका कम्पनीहरुले नाम होल्ड गरेर बस्दा समस्या आएकोले त्यस्ता कम्पनीहरु खारेज गरिनुपर्ने माग गरे । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले धेरै कम्पनीहरुमा कम्पनी सचिव नभएको बताउँदै त्यस्तो अवस्थालाई कसरी समाधान गर्ने भन्नेबारे स्पष्ट नीति हुनुपर्ने माग गरे । कम्पनी दर्तादेखि अद्यावधिक सम्मको काम गर्ने वकिलहरुले कहिलेकाहिँ रजिष्टार कार्यालयले प्रदान गर्ने पासवर्ड नै लुकाइदिने र मोलमोलाइ गर्ने गरेको उनको गुनासो थियो । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले संचालन गरेको कार्यक्रममा व्यवसायीहरु महाप्रसाद सुवेदी,गोकर्ण कार्की, माधव पौडेल तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराका प्रमुख कृष्णप्रसाद आचार्य, कम्पनी रजिष्टारको कार्यालयका सहायक रजिष्टार गोरखनाथ मिश्र लगायतले सूचना प्रविधीको बढ्दो प्रयोगलाई कम्पनी दर्ता गर्न चाहने तथा कम्पनी रजिष्टारको कार्यालय दुबैले उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।










Post a Comment

 
Top