0
गोल्डेन न्यूज संवाददाता
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जानका लागि पोखराबाट साढे ९ हजार भन्दा बढीले आवेदन दिएका छन् । बैशाख १५ देखि १८ सम्म तोकिएको चार दिनमा ९ हजार ६ सय ४२ जनाले आवेदन फाराम भरेको श्रम कार्यालय पोखराका प्रमुख एबं पोखरा केन्द्रका प्रमुख भरतराज काफ्लेले पिसपोखरालाई जानकारी दिए । गण्डकी र धौलागिरी सहित पोखरामा वसोवास गरेका आवेदकहरुलाई लक्षित गरी पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी उच्च माविमा स्थापना गरिएको केन्द्रमा पहिलो दिन तीन हजार ७०, दोस्रो दिन ३२ सय २७, तेस्रो दिन २५ सय ४९ र चौथो दिन ७ सय ९६ जनाले आवेदन बुझाएका छन् । पोखराबाट यो बर्ष अघिल्लो बर्षभन्दा बढी आवेदन परेको हो । अघिल्लो बर्ष ८ हजार तीन सय ३७ जनाले आवेदन फाराम भरेका थिए । सातांै चरणको आवेदन फाराम संकलन अन्तर्गत दक्षिण कोरियामा रोजगारीको लागि देशभरबाट ६० हजार भन्दा बढी आवेदन परेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाको पाँच केन्द्रबाट ३१ हजार ४ सय ८८ र उपत्यका वाहिरका पाँच केन्द्रबाट २९ हजार एक सय ९० आवेदन परेको छ । कुल १० वटा केन्द्रबाट ६० हजार ६ सय ७८ आवेदन परेको छ । उपत्यका वाहिर सबैभन्दा बढी धरान र सबैभन्दा कम जनकपुरमा आवेदन परेको छ । धरानमा १२ हजार दुई सय ७६ आवेदन परेकोमा जनकपुरबाट २१९ मात्रै आवेदन संकलन भएको छ । त्यस्तै वुटवलमा ६ हजार ३ सय ११ र डडेलधुरामा ७ सय ४१ आवेदन संकलन गरिएको इपिएस कोरिया शाखाले जनाएको छ । यो वर्ष अघिल्लो बर्ष भन्दा झण्डै १८ प्रतिशत बढी आवेदन परेको हो । अघिल्लो बर्ष ५१ ह्जार ४ सय ९९ जनाले आवेदन फाराम भरेका थिए । महिला आवेदकको संख्यामा पनि यो वर्ष बृद्धि भएको बाँस्तोलाले बताए । अघिल्लो वर्ष कुल आवेदकमा १० प्रतिशत मात्रै महिला रहेकोमा यो बर्ष झण्डै १५ प्रतिशत महिलाले आवेदन फाराम बुझाएका छन् । आवेदन फारम बुझाउनेमा डिग्री होल्डर पनि छन् । शैक्षिक प्रमाणपत्र प्राप्त गरेपनि नेपालमा रोजगारीको सुनिश्चितता नभएकाले राजगारीको लागि विदेशी भूमि रोज्नुपर्ने बाध्यता आवेदकले सुनाए । यसैबीच शाखाले आगामी वर्षदेखि आवेदन दिन लाइनमा बस्नु नपर्ने जनाएको छ । शाखाका निर्देशक बाँस्तोलाले आवेदन प्रणालीको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेकाले अर्को वर्ष घरमै बसेर अनलाइनमै फाराम भर्न पाइने बताए । अनलाईन फारा मभर्ने सुविधा दिएपछि आवेदकको संख्या बढ्ने उनले बताए । वेरोजगार युवाले आवेदनका लागि दुर्गम क्षेत्रबाट हजारौं रुपैयाँ खर्च गरेर तोकिएको स्थानसम्म आउनुपर्ने बाध्यता अन्त्यको लागि पनि अनलाईन प्रणाली ल्याउन लागिएको उनले बताए । साथै अनलाईन आवेदन सेवा सुरु भएपछि प्रशासनिक खर्च समेत बचत हुने वास्तोलाले स्पष्ट पारे । उनले भने–‘आवेदकले फाराम भर्न हजारांै रुपैयाँ खर्च गर्न पनि पर्दैन, झण्डै एक करोड प्रशासनिक खर्च पनि जोगिन्छ । ’ यो वर्ष आवेदन बुझ्न उपत्यका भित्र ३ सय र उपत्यका बाहिर २ सय भन्दा बढी कर्मचारी खटिएका थिए । पोखरामा मात्रै ५५ कर्मचारी खटिएका थिए । इपीएस कोरिया शाखाले आवेदन फाराम बुझाएकाको लागि असार ४ र ५ गते सातौं भाषा परीक्षा लिँदैछ । कोरियाले कामदारको न्यूनतम मासिक तलब १ लाख १० हजार रुपैयाँ तोकेको र रोजगारीमा जान एक लाख रुपैयाँ पनि खर्च गर्न नपर्ने भएपछि रोजगारीको लागि नेपाली युवाहरुको आकर्षण झन् बढेको छ । दक्षिण कोरियाले इपीएस अन्र्तगत साना तथा मझौला उद्योगमा काम लगाउन नेपाल लगायतका विभिन्न १५ वटा मुलुकबाट वर्षेनी कामदार लिने गरेको छ । भाषा परीक्षा पास गर्ने युवायुवतीलाई सरकारले इपीएस कोटामा ९ वर्षदेखि दक्षिण कोरिया पठाउँदै आएको छ । भाषा परीक्षा पास गरेर हालसम्म ३६ हजार युवायुवती कोरिया गएका छन् । यसपटक उत्पादनमूलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालनमा २ हजार १ सय गरी ३ हजार १ सय जनालाई भाषा परीक्षामा पास गराउने तयारी छ । भाषा परीक्षा पास गरेकै आधारमा भने कोरिया जान पाइन्न । यसअघि भाषा परीक्षा पास गरेका १० हजारभन्दा बढी युवायुवती अझै कोरिया जान पाएका छैनन् ।


Post a Comment

 
Top