गोल्डेन न्यूज संवाददाता
देशव्यापी रुपमा ‘विश्व भेटेरिनरी दिवस २०१६’ मनाउने क्रममा पोखरामा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भेटेरिनरी दिवसकै अवसरमा जिल्ला पशु सेवा कार्यालय कास्कीले शनिबार सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो । यस वर्ष ‘एक स्वास्थ्य अवधारणमा निरन्तर शिक्षा कार्यक्रम’ नारासहित भेटेरिनरी दिवस मनाइँदै छ । अन्तरक्रिया कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ, नेपाल एनिमल साइन्स एसोसिएसन, नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन, जिल्ला पशु सेवा कार्यालयका प्राविधिक, प्राइभेट पाराभेट, ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता, मासु व्यवसायी, पशुपालक किसानहरु लगायत सम्बन्धित सरोकारवालाहरु सहभागी हुँदैछन् । कार्यक्रममा क्षेत्रीय पशु सेवा निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक डा. देवनन्दन शाह र जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापतीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । पशुपालन व्यवसायलाई कसरी प्रभावरी र सहज बनाउन सकिन्छ भनेर कार्यक्रममा छलफल गरिनेछ । भेटेरिनरी सेवालाई चुस्त–दुरुस्त बनाउँदै चुनौतीहरुलाई सामना गर्नका लागि आवश्यक पर्ने विभिन्न विषयमाथि छलफल गरी सुझाव संकलन गरिने कार्यक्रम छ । यसै क्रममा यस वर्ष भेटेरिनरी दिवसका अवसरमा आर्थिक आवाज साप्ताहिक पत्रिकामा विशेषांक प्रकाशन गर्न लागिएको छ । जनचेनताका लागि सञ्चार माध्यममा सन्देशमूलक सामग्री प्रकाशन तथा प्रशारण गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेश कुमार श्रेष्ठले जानकारी दिए । विश्व भेटेरिनरी दिवसकै अवसरमा कास्कीको पुम्दि–भुम्दीस्थित लुकुमश्वारामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालय कास्की र शुक्रराज उच्च माध्यमिक विद्यालय पुम्दि–भुम्दीको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरबाट २ सय ५६ जना सेवा ग्राही लाभान्वित भएका छन् । सोही अवसरमा ४० हजार रुपैयाँ बराबरको औषधी निःशुल्क वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । शिविरमा जुका माटेको औषधि ोवर परीक्षण १ सय ५५ वटा, गर्भ परीक्षण ६ वटा, पशुहरुको चेक जाँच ५५ वटाको गरिएको थियो । २ सय ७६ वटा पशुहरुलाई लक्षणको आधारमा औषधी वितरण गरिएको छ भने ४ सय ९२ वटा पशुहरुलाई उपचार औषधी वितरण गरिएको छ । शिविरमा कार्यालय प्रमुख डा. राकेश प्रजापती, पशु विकास अधिकृत महेश्वर ढकाल, पशु स्वास्थ्य प्राविधिक फणिन्द्र राज ढकाल, सुरेश कुमार श्रेष्ठ, ढाकाराम पौडेल र उच्च माविका व्यवस्थापन समितिका अध्यक्ष रामजी बराल लगायतले बोलेका थिए । ‘शिविरले त्यस क्षेत्रका पशु पालक किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन्,’ कार्यालय प्रमुख प्रजापतीले भने,–‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं । विश्वमा यो दिवस सन् २००० देखि मनाउन शुरू भएको हो । नेपालमा भने विधिवत रूपमा सन् २००९ देखि मनाउन थालिएको हो । हरेक वर्षको अप्रिल महिनाको अन्तिम शनिबार यो दिवस मनाइन्छ । यो दिवसको अवसर पारेर पशुपक्षीमा लाग्ने रोग, रोकथाम र उपचारका विषयमा जनचेतनामूलक कार्यक्रमहरू वर्षेनी सञ्चालन हुँदै आइरहेका छन् ।
Post a Comment