0
विष्णुहरि पौडेल
बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि लेखनाथ नगरपालिकाको बेगनास तालस्थित मन्दरेपार्क दोस्रो बेगनास फिस फेस्टिबल सुरु भएको छ । होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा भएको सो फेस्टिबलमा त्यस ठाउमा रहेका दिपाङ, बेगनास र रुपातालमा पाइने २३ थरीका माछाका परिकार बनाएर दर्शकलार्ई खुवाउनुका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनसमेत गरिनेछ । यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीय स्थलको प्रचारप्रसार तथा स्थानीय जातका माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ । महिला तथा पुरुष खुला डुङ्गा दौड, माछा तथा खानाका कक्ष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम फेस्टिबलमा प्रस्तुत गरिनेछ । फेस्टिबल करिब ७० हजार दर्शकले अवलोकन गर्ने र रु ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । फेस्टिबल अवधिभर तीन वटा तालबाट तीनदेखि चार टनसम्म माछा खपत हुने र महोत्सवमा आउने दर्शकलाई स्थानीयस्तरकै माछाको स्वाद चखाउने आयोजकले जनाएका छन् । सांसद यज्ञबहादुर थापाले फेस्टिबलको उद्घाटन गर्दै राजनीतिक पूर्वाग्रह नराखी विकास निर्माणका कार्यमा सबै राजनीतिक दल एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले समग्र पोखरा उपत्यकाको विकासका लागि एक जुट हुन आग्रह गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले लेखनाथलाई पर्यटनमैत्री सहर बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा, ली–वर्डका प्रतिनिधि रोशन पुडासैनी, कास्की कांग्रेसका सचिव सुदिपमोहन भट्टराई, नेकपा एमाले लेखनाथ नगर संयोजक शंकर पौडेल, अखण्ड नेपालका मोती गिरी, नेकपा माओवादीका गोकुल पराजुली, अन्तर्राष्ट्रिय चिडिया घर निर्माण समितिका अध्यक्ष हिमालय वख्रेल, पारालिगलकी अध्यक्ष कोपिला रानाभाट, लगायतले आ–आफ्नो भनाइ राखेका थिए । फेस्टिबल यही वैशाख १९ गतेसम्म चल्नेछ । सो फिस फेस्टिबलमा २५ वटा विभिन्न कक्ष राखिएको छ ।








Post a Comment

 
Top