0
गोल्डेन न्यूज संवाददाता
पोखराको हर्पन खोलाले फेवातालको सतह घटाएको छ । गत वर्ष बस्ती नै उजाड बनाउने गरी बाढी आयो । नपत्याउने खोलाले बगाँउछ भन्ने झै हर्पन खोला उर्लिदाँ चापाकोट र भदौरे तामागीबासीका केहीलाई घरबार विहीन बनायो । बस्ती संरक्षण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले यो वर्ष एक करोड ६० लाख रुपैयाँ बजेटमा काम थाल्दै छ । उक्त बजेट हर्पनखोलासँगै अन्य खोला नियन्त्रणको लागि खर्च गरिने छ । 
‘आर्थिक वर्ष सकिन केवल दुई महिना मात्रै बाँकी छ । यो वर्ष बस्ती संरक्षणको लागि मात्रै काम गर्ने छौं’, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय कास्कीका प्रमुख श्रीराम जोशीले भने–‘हर्पन खोलामा यो वर्ष ३० लाख रुपैयाँ बराबरको काम गर्ने गरिने छ ।’ उनका अनुसार हर्पन खोलासँगै खहरे खोला, हाँडी खोला, अँधेरी खोला, ठाडे खोलाको कटान रोक्नुपर्ने खाँचो छ ।
कटान रोक्दै बस्ती संरक्षणको लागि दुई करोड बजेट माग गरिएपछि एक करोड ६० लाख रुपैयाँ निकासा भएको उनले बताए । विजयपुर खोला र दोविल्ला क्षेत्रमा पनि खोलाले कटान गरेको छ । ‘हर्पन खोलाको लागि दीर्घकालिन योजना नै बनाएर काम गर्नुपर्ने आवश्यक छ’ कार्यालय प्रमुख जोशीले भने–‘दीर्घकालिन योजना अनुसार फेवाताल संरक्षण गर्न बगाएर ल्याउने सिल्ड रोक्नुपर्ने खाँचो छ ।’ 
कार्यालय प्रमुख जोशीका अनुसार दोविल्लाको बस्ती संरक्षण गर्न ३० लाख, विजयपुरका लागि १० लाख रुपैयाँ खर्च गरिने छ । कास्कीको भदौरे तामागी देखि शुरु हुन्छ हर्पन खोला । वर्षायाममा आउने बाढीले फेवातालको सतहलाई वर्षेनी घटाउँदै लगेको छ । माटो थिग्रिने क्रम बढ्दै गएकोले तालको सतह पुरिदै गएको छ । वर्षेनी पुरिदैं गएपछि अस्तित्व नै संकटमा पर्दै गएपछि ताल संरक्षणको लागि पनि ‘सिल्ड’ रोक्नुपर्ने देखिएको छ ।
सिचाई मन्त्री उमेश यादवले हर्पन खोला नियन्त्रणको लागि सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे। ‘हर्पन खोलाको विषयमा टेलिफोनमा मेरो कान खाएको छ । यो वर्ष केही बजेट निकासा भएको छ । आगामी वर्षको लागि उपयुक्त बजेट उपलब्ध गराउने प्रतिबद्धता गर्दछु ।’ उनले हर्पन खोलाको समस्याका बारेमा धेरै ठाउँबाट फोन आएर आफ्नो टाउको दुखाइ भएको बताए ।










Post a Comment

 
Top