0
नेकपा माओवादीबाट विगत चार वर्षको अवधिमा फुटेर विभिन्न समूहमा विभाजित स–साना दलहरु बिहीबार पुनः मूलधारमै फर्किएका छन् । अलग भएर सानो समूहमा बस्दा केही पनि गर्न नसकेको आत्मग्लानि र पश्चात्ताप बोध गर्दै उनीहरु अहिले पार्टी एकीकरणको लामो प्रयासपछि प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा आबद्ध भएका हुन् । अहिले एकीकरणपश्चात् नेकपा माओवादी केन्द्र नामकरण गरिएको सो पार्टीमा केन्द्रीय सदस्यको संख्या जम्बो आकारमा ६९९ रहेको छ र आगामी चैतभित्र नवगठित पार्टीको महाधिवेशन हुनेछ । तर, वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईजस्ता व्यक्तित्वहरुलाई समेट्न सकेको भए एकीकरणले पूर्णता पाउन सक्नेथियो । यद्यपि, यो एकीकरण प्रक्रिया सफल भएकोमा माओवादी अध्यक्ष प्रचण्ड अत्यधिक हर्षित भएको पाइएको छ । चिनियाँ जनताका महान् नेता माओत्सेतुङको साम्यवादी राजनीतिक सिद्धान्तबाट अभिप्रेरित भएर नेपालमा पनि यसको प्रभाव बाक्लै देखिएको छ । तर, परिवर्तित समयसँगै यसको मूल स्वरुपमा परिवर्तन हुने गरेको पाइन्छ । तैपनि, श्रमजीवि जनताको हकहितका सवाल र किसान, मजदुरका ज्वलन्त समस्याहरुका बारेमा आवाज उठाउँदै श्रमको मूल्य स्थापित गराउन भने यो पार्टीले छोडेको छैन । नेपालमा एकपटक प्रचण्डको नेतृत्वमा सरकार चलाउने अवसर पाएको एमाओवादी पार्टीले जनताका ज्वलन्त समस्याहरु र सर्वहारा वर्गको जनजीविकाको सवालमा खासै काम गर्न भने सकेन । माओवादी नेतृत्व तहले विलासी जीवनशैली अपनाउन थालेको र सुविधाभोगी हुँदै आएको आरोप लागेको छ । यसैको फलस्वरुप गत संसदीय निर्वाचनमा सो पार्टीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । अध्यक्ष प्रचण्डले पार्टी एकीकरण समारोहमा विगतका कमीकमजोरीहरु सच्याउँदै नयाँ ढंगले सबैको सहयोग लिएर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका कारण अब यो पार्टी सुध्रिने र  सरकार चलाउन पनि सम्भव हुने आँकलन गर्न थालिएको छ । नेपालका वामपन्थीहरुमा विभाजनको नराम्रो रोग लागेको लामो इतिहास छ । सानो कुरामा पनि नेतृत्व तहसँग असहमति जनाउँदै पार्टी विभाजन गर्ने र आफू नेता भएर बस्ने आत्मरतिको रोगबाट अहिले पनि वामपन्थी नेताहरु मुक्त भैसकेका छैनन् । अहिले भएको यो माओवादी एकीकरण कत्तिको टिकाउ हुन्छ भन्ने कुरा थाहा पाउन केही समय प्रतिक्षा गर्नैपर्ने हुन्छ । नेपाली जनताले यो एक भएको माओवादी केन्द्र अब विभाजित नहोस् र गरिब जनताको पक्षमा राम्रा कामहरु गरोस् भन्ने चाहेका छन् । इतिहासले गल्तीलाई माफ गर्दैन । मानिसबाट जानी–नजानी गल्ती हुन सक्ने सम्भावना जीवितै रहेको कारण नवगठित यो पार्टीले भविष्यमा आफूलाई सजग र सचेत बनाएर काम गर्नु पनि उत्तिकै जरूरी देखिएको छ । एकतामा बल हुन्छ भन्ने स्थापित मान्यतालाई आत्मसात् गर्दै अध्यक्ष प्रचण्डले ठूलो आकारको केन्द्रीय नेतृत्वलाई सक्षमतापूर्वक सञ्चालन गर्ने अपेक्षा अहिले जनताले गरिरहेका छन् ।







Post a Comment

 
Top