0
नेपालमा योजनाबद्ध विकासको शुरुवात २०१३ सालमा प्रथम पञ्चवर्षीय योजनामार्फत् भएको थियो । योजनाबद्ध विकास प्रारम्भ भएको झण्डै छ दशक पूरा हुन थाले पनि हामीले विकासको उन्नत मोडेल अझैसम्म निर्माण गर्न सकेका रहेनछौं । एउटा उदाहरण, चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि विकास बजेट २८ प्रतिशत मात्र खर्च भएको तथ्यांक हालै सार्वजनिक भएको छ । विकास बजेट खर्च हुन नसक्दा सरकारी ढुकुटीमा ठूलो धनराशी थुप्रिएर बसेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहँदा गत आर्थिक वर्षको दुई तिहाई भन्दा बढी बजेट खर्च हुन नसकेको अवस्थामा बजेटको प्रभावकारिता कति होला सहजै अनुमान गर्न सकिन्छ । अन्तिम समयमा आएर बजेट सिध्याउने ‘असारे विकास’ को महारोगका कारण मुलुकको आर्थिक विकास र समृद्धिको चाहना दशकौं पछाडि धकेलिएको यहााका नीति निर्माता, राजनीतिक दलहरु, कर्मचारीतन्त्र र विकासका ठेकेदारहरुले नबुझेका होइनन् । तर बुझेर पनि नबुझेको बहाना गर्दै आएकाले मुलुक सधैंभरि विकासमा पछाडि परेको प¥यै छ । अन्तिम समयमा आएर जेठ–असारमा गरिने विकास निर्माणको काममा व्यापकरुपमा भ्रष्टाचार हुँदै आएको छ । वर्षातको सिजन र अन्तिम समयमा गरिने विकास निर्माण भ्रष्टाचारीहरुका लागि कमाउने उपयुक्त अवसर बन्दै आएको छ । धेरै काम हतार–हतारमा गरेर बजेट कुम्ल्याउनेहरुलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । यहाा त अन्तिम समयमा बजेट सक्ने काम भइरहेको हुन्छ । विगत छ दशकयता विश्वका विभिन्न मुलुकहरुले अकल्पनीयरुपमा आर्थिक विकास एवं समृद्धि हासिल गरेका छन् । त्यहाँको राजनीतिक नेतृत्व र ब्यूरोक्रेसीले इमानदारिता देखाएकै कारण यो सम्भव भएको हो । नेपालमा राजनीतिक नेतृत्व, ब्यूरोक्रेसी र अन्य क्षेत्रमा समेत इमानदारिता नहुँदा विकासमा व्यापक भ्रष्टाचार हुादै आएको छ । जसका कारण मुलुकलाई जर्जर बनाएर आफू नवधनाढ्य बन्ने सूदखोरहरुको संख्या बढेको बढ्यै छ । असारे विकासको मोडेल सिर्जना गर्नेहरु पनि यिनीहरु नै हुन् । छिमेकी चीन र भारत नेपालसंग संगसंगै स्वतन्त्रता हासिल गरेका मुलुक हुन् । चीन विश्वको पहिलो आर्थिक शक्ति बन्ने दौडमा छ भने भारत विकास र समृद्धिको दिशातर्फ अगाडि बढिरहेको छ । प्राकृतिक साधन स्रोतका दृष्टिले नेपाल गरिब राष्ट्र होइन । हाम्रो यहाा त नेतृत्व गर्नेहरुको दिल–दिमाग नै गरिब भयो । त्यसैको परिणाम मुलुकले यो हविगत बेहोरिरहेको छ । ६० वर्ष बितिसक्दा पनि हामीले विकासको नयाँ मोडेल निर्माण गर्न सकेनौं । भ्रष्टाचार, कमिशनतन्त्र, ढिलासुस्तीले हाम्रा विकास निर्माणका प्रयासहरु अर्थहीन बन्न पुगेका छन् । यस्तो संरचना अन्त्य नगरेर कोही पनि अगाडि बढ्न सक्दैन । अहिले मुलुकले भाषण हैन, काम गरेर देखाउन सक्ने नेतृत्व खोजिरहेको छ । भाषणले मात्र मुलुक बन्ने भए राजा–पञ्चहरुले नै बनाइसकेका हुने थिए । गणतान्त्रिक नयाँ नेपालको नेतृत्ववर्ग किन कमजोर बन्दै गइरहेको छ ? मुलुक बनाउने इच्छाशक्ति र जाँगर किन हराउँदै गइरहेको छ ? नयाँ नेपाल निर्माण गर्न पुरानो चिन्तन, शैली र काम गर्ने तरीका किन फेर्न सकिएको छैन ? अब यसको खोजी गर्ने बेला आएको छ । मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा डो¥याउन सकिएन भने राजनीतिक परिवर्तनले मात्रै जनताको चित्त बुझ्ने छैन । विगतको अनुभवले त्यही भन्छ, भविष्यमा पनि त्यही हुनेछ । त्यसैले मुलुकलाई नयाँढंगले अगाडि बढाउन सबैले नयाँ अठोट र संकल्प गर्न सक्नुपर्छ ।





Post a Comment

 
Top