0
गोल्डेन न्यूज संवाददाता
दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा मानव अधिकार उल्लंघन सम्वन्धी गम्भीर प्रकृतिका घटनाको सत्यतथ्य बाहिर ल्याई द्वन्द्वपीडितहरु वीच शान्ति, मेलमिलाप र एकताका लागि कास्कीको कालिका गाविसमा शनिबार एक दिने सन्देश मूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । शान्ति समिति कालिका गाविसले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, शान्ति समितिका पदाधिकारी, द्वन्द्वपीडित, संचारकर्मी, गाविसका सचिव तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । घटनाको छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वका क्रममा घटेका घटनाको उजु्री लिन सुरु गरेसँगै पीडितहरुले उजुरी दिन नछुटाउन भन्नका लागि यो कार्यक्रमको आयोजना गरिएको हो । वेपत्ता, हत्या, अपहरण, शारीरिक तथा मानसिक यातना, अङ्गभङ्ग, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, घर जग्गाबाट निकाला, जस्ता मानवीय कानून विपरीतका अपराधसँग सम्बन्धित उजुरीहरु पीडकले सिधै वा आफन्तमार्फत आयोगको कार्यालय वा जिल्ला स्थित शान्ति समितिको कार्यालयमा दिन सक्ने छन् ।
कार्यक्रमको उद्घाटन गर्दै गाविस प्रमुखको जिम्मेवारी समेत सम्हालेका गाविस सचिव शोभाखर ढकालले तत्कालिन नेकपा माओवादी र सरकार पक्षवाट भएका दुवैथरी पीडितहरुलाई एकैठाउमा राखेर गरिने अन्तरक्रिया तथा छलफलले समाजमा शान्ति, मेलमिलाप र एकताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति समिति कालिका गाविसका संयोजक एवं नेकपा एमाले कालिका गाउँ कमिटीका अध्यक्ष निर्मल दियाली सुनारले गाउमा भएका द्वन्द्व पीडितहरुको वास्तविक पहिचान गरी समस्याको समाधान खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । एमाओवादी कालिका गाउँ कमिटीका पूर्व अध्यक्ष एवं शान्ति समिति कालिकाका सदस्य भिमनाथ कुँईकेलले जिल्ला स्थित शान्ति समिति वा आयोगको कार्यालयमा उजुरी दर्ता गराएसँगै द्वन्द्व पीडितहरुले ढिलै भएपनि न्याय पाउने आशा व्यक्त गरे ।
शान्ति र मेलमिलापले मात्र द्वन्द्वका घाउहरु मेटाउन सक्ने भन्दै नेपाली कांग्रेस कालिका गाउँ कमिटीका पूर्व अध्यक्ष एवं शान्ति समिति सदस्य राजेन्द्र प्रसाद त्रिपाठीले यसका लागि सवैको सहयोगको खाचो औंल्याए । कार्यक्रममा कालिका गाउँ विकास समितिका सह–सचिव माधव ढकाल, महिला अधिकार मञ्च कालिकाका अध्यक्ष विष्णुमाया पौडेलले शान्तिपूर्ण जीवनयापन गर्नका लागि द्वन्द्वका घटनाहरुलाई निराकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।

Post a Comment

 
Top