आजबाट नयाँ वर्ष २०७३ शुरु भएको छ । पछिल्लो समयमा नयाँ वर्षलाई पर्वकै रुपमा मनाउने संस्कार विकास भएको छ । विशेषतः पुरानो वर्षको समीक्षा र नयाँ वर्षको योजना तय गर्ने अवसरको रुपमा यसलाई लिने गरिन्छ । त्यही अवसरको सदुपयोग गर्दै नयाँ वर्षमा विविध कार्यक्रमसमेत गर्ने गरिन्छ । अन्तर्राष्ट्रियरुपमा ‘न्यू इयर’ मनाउने जुन संस्कार चल्दै आएको छ, त्यसको नक्कलकै रुपमा भए पनि नेपालमा पनि नयाँ वर्ष मनाउने गरिन्छ । जे जसरी मनाए पनि नयाँ उत्साह र उमंगका साथ नयाँ वर्षलाई स्वागत गर्ने गरिन्छ । नयाँ वर्ष मनाउँदै गर्दा हरेक व्यक्तिमा पुराना वर्षमा पूरा हुन नसकेका योजनाहरु पूरा गर्ने र थप योजना बनाउने आकांक्षा प्रष्फूटन भइरहेको हुन्छ । व्यक्ति मात्र होइन राष्ट्रकै हकमा पनि यही कुरा लागु हुन्छ । देशकै सन्दर्भमा कुरा गर्दा नेपालको राष्ट्रिय राजनीतिले अझै स्पष्ट दिशाबोध गरिसकेको छैन । अघिल्लो वर्ष मात्र होइन, अघिल्लो दशकदेखि शुरु भएको राजनीतिक कोर्सले पूर्णता पाउन सकेको छैन । भलै एक थान संविधान भने पाएको छ । नयाँ वर्ष २०७३ ले पनि देशले पूरा गर्न नसकेको शान्ति र नयाँ संविधान कार्यान्वयनलाई पूरा गर्ने प्रतिबद्धताको माग गरेको छ । यही प्रतिबद्धता पूरा गर्नु नै नयाँ वर्ष २०७३ को मूल ध्येय हुनेछ । गएको वर्ष २०७२ लाई सरसर्ती हेर्दा यो वर्षले नेपाली जनतामा कुनै उत्साह जगाउन सकेन । नेपालीको सपना नयाँ संविधान निर्माणप्रति केही खुशी हुने ठाउँ रहेपनि गत वैशाखको महाभूकम्प, भारतले लगाएको अघोषित नाकावन्दीले नेपाललाई आर्थिक एवं भौतिक रुपमा तहस–नहस बनायो । भूकम्पबाट प्रताडित भएर एकै ठाउँमा उभिन पुगेका नेपालका राजनीतिक दलहरुले संविधान निर्माणको कार्यभार पूरा गरे । नेपाली जनताले संविधानको स्वागत गर्दै भव्य दीपावली समेत गरे । तर संविधानमा असन्तुष्टि राख्दै भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाए र त्यसको मार नेपाली जनताले खेप्नुप¥यो । नाकावन्दी अझैपनि पूर्ण रुपमा खुल्न सकेको छैन । यसका साथै संविधानमा असन्तुष्टि राख्ने केही समूहको लामो आन्दोलनको मार तराइका जनताले रामै्रसंग खेप्नुप¥यो । संविधानप्रति असन्तुष्टि राख्ने समूहको माग अझैपनि पुरा नहुँदा अझैपनि आन्दोलनकै धम्की दिइरहेका छन् । २०७२ संविधान निर्माणको वर्ष हुने आम जनताको अपेक्षा थियो, जुन पूरा भयो तर कार्यान्वयन भने अझै हुन सकिरहेको छैन । गत वर्ष पूरा हुन नसकेको यही काम पूरा गर्नतिर जोड दिनु नै २०७३ सालको मुख्य काम हुनेछ । तर २०७३ मा पनि यो कामले पूर्णता प्राप्त गर्ने सुनिश्चित वातावरण बनिसकेको छैन । २०७२ को मध्यदेखि दलहरुमा परेको राष्ट्रियताको सवालले राजनीतिक दलहरुबीच नै ध्रुवीकरण गराएको छ । यसले जनतालाई थप निराश तुल्याएको छ । संविधानसभामा असन्तुष्टि राख्दै मुख्य गरि युरोपियन मुलुकहरुले दिएको दवावदका कारण दलहरुबीचको ध्रुवीकरणलाई तीब्र बनाउने काम गरेको छ । लोकतान्त्रिक व्यवस्थामा दलहरु नै लोकतन्त्रका मेरुदण्ड मानिन्छन् । २०७२ सालको अभ्यासलाई हेर्ने हो भने राजनीतिक दलहरुले आगामी दिनमा अनुशरण गर्नुपर्ने केही काम भने गरेका छन् । बाह्यरुपमा संविधान निर्माण गरेर रामै्र सन्देश दिन सफल भए दलहरु तर आन्तरिक लोकतन्त्र सुदृढ गर्ने दिशामा पनि उनीहरुले उल्लेख्य केही गर्न सकेनन् । त्यसतर्फ दलहरुले ध्यान पु¥याउन जरुरी छ । २०७३ सालभित्रै संविधान कार्यान्वयन गरेर देशलाई राजनीतिक स्थायित्व हुँदै आर्थिक समृद्धिको बाटोमा लैजान राजनीतिक दलहरुमा प्रेरणा प्राप्त होस् । नयाँ वर्ष संगै पोखरेलीले भने सुखद् एवं खुशीको सन्देश पाउनेछन् । यो मुलुककै लागि खुशीको खबर होस् । नयाँवर्षकै दिन पोखरेलीको सपना अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास हुँदैछ । शिलान्यास भएर पनि काममा विभिन्न अवरोध आउने नेपाली परम्परा छ । अबका दिनमा त्यस्तो अप्रिय काम नहोस्, पोखरेलीले देखेको सपना छिट्टै पुरा होस्, नयाँवर्ष २०७२ ले सबैमा सद्बुद्धि प्रदान गरुन् । विमानस्थल निर्माणमा विशेष गरि नेपाल सरकारको ध्यान जान जरुरी छ । त्यसमा पोखरेलीको ध्यान पुग्न र लगाव जरुरी छ । अब १ वर्षपछिको अर्को नयाँवर्षमा पोखरेलीले आफ्नै आँगनबाट अन्तर्राष्ट्रिय विमान उडेको देख्न पाउन् । नयाँवर्ष २०७३ को पावन अवसरमा हाम्रा पाठकवृन्द, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment