0
गोल्डेन न्यूज संवाददाता
पोखरा नयाँबजार–९ निवासी नरेन्द्र र सुनिता श्रेष्ठले ज्येष्ठ नागरिकसँग छोरीको जन्मोत्सव मनाएका छन्। पोखरा–१८ मा रहेको वात्स्यायन वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई विभिन्न सहयोग तथा केक काटेर शुक्रबार छोरी सलिनाको २१औं जन्मोत्सव मनाएका हुन्। अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत सलिनाको जन्मोत्सवमा हजुरबुबा वेदकुमार र हजुरआमा बुद्ध श्रेष्ठले केक काटेर ज्येष्ठ नागरिकलाई खुवाए। छोरीको जन्मोत्सवमा हुने खर्च वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई सहयोग तथा उनीहरूसँगै रमाइलो गरेर मनाउँदा खुसी लागेको बाबु नरेन्द्र श्रेष्ठले बताए। ‘बाहिर तडक–भडक गरेर मनाउनुको साटो वृद्धाश्रममा बाबुआमासँग खुसी साटेर मनायौं–श्रेष्ठले भने–‘छोरीको इच्छा पनि यही थियो, आश्रमका बाबुआमा पनि खुसी हुनुभयो, हामीलाई पनि खुसी मिल्यो।’
श्रेष्ठ परिवारले वृद्धाश्रममा २५ हजार रूपैयाँ बराबरको सहयोग पनि गरेका छन्। उनीहरुले आश्रमका १४ ज्येष्ठ नागरिकलाई लत्ताकपडा, चप्पल, फलफूल र तरकारी हस्तान्तरण गरे। वृद्धाश्रम पुगेका मुक्तिनाथ गण पोखराका एसएसपी केबी ब्रमाचार्य र डा. कमल चपाईँले श्रेष्ठ परिवारले छोरीको जन्मोत्सव वृद्धाश्रममा मनाएर ज्येष्ठ नागरिकसँग खुसी बाँड्ने काम गरेको बताए। वात्स्यायन वृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीले श्रेष्ठ परिवारले छोरीको जन्मोत्सव आश्रममा मनाएर उदाहरणीय काम गरेको बताउँदै धन्यबाद दिए।







Post a Comment

 
Top