गोल्डेन न्यूज संवाददाता
कास्कीको थुमाकोडाँडा गाउँ विकास समितिका नागरिकाले गाविसबाट प्रदान गरिने सेवा प्रभावकारी नभएको गुनासो गरेका छन् । बुधबार भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले गाविसका सचिव गाविसमा नभएका बेला कार्यालय नखुल्ने र एउटै कामका लागि पनि पटक पटक धानुपर्ने बाध्यता रहेको गुनासो गरे । एउटा सिफारिस लिनका लागि पनि धेरै पटकसम्म धाउनुपर्छ, एमाओबादी गाउँ अध्यक्ष रुद्रबहादुर रानाभाटले भने–धेरै दिन गाविस कार्यालयले नै खुल्दैन, हामीले कहाँबाट सेवा लिने ? जवाफमा गाविस सचिव रवीमोहन सापकोटाले भने आँफू नभएको बेला पनि गाविस कार्यालय बन्द नभएको बताए । काम बिशेषले कहिलेकाहीँ सदरमुकाम झर्नुपर्ने हुन्छ, म त्यसैका लागि पोखरा जाने गर्छु, उनले भने–म नभएको बेला पनि गाविसमा भएका कर्मचारीले सेवा प्रवाह गर्नुहुन्छ, गाविस बन्द गरिएको छैन । बुधबार गाविसले चालू बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाविसले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रमका सहभागीहरुले लक्षित बर्ग कार्यक्रमका बिषयमा जानकारी नभएको, केन्द्रिय बजेटहरु अधिकांश फ्रिज हुने गरेको, गाविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले बैठक भत्ता लिने गरेको, सरकारी कर्मचारीहरु राजनीतिक प्रतिनिधि बनेर गाविसमा सहभागी हुने गरेको, गाउँ शिक्षा समिति गठन नगरी शिक्षा क्षेत्रमा लगानी गरिएको, सामाजिक सुरक्षा भत्ता पारदर्शी हुन नसकेको जस्ता गुनासो गरे । गुनासोको सुनुवाई गर्दै गाविस सचिव सापकोटाले लक्षित बर्गको बजेट सरकारी निर्देशन अनुसार विनियोजन गरि कार्यक्रम सञ्चालन गरिएको, केन्द्रिय बजेटहरुमा स्पष्टता नभएका कारण काम गर्न नसकेको बताए । यस्तै राजनीतिक दलले पनि बैठक भत्ताका रुपमा ३ सय ५० रुपैयाँ दिएको स्विकार गरे । विधान विपरित भएपछि उनले आगामी दिनदेखि बैठक भत्ता उपलब्ध नगराउने प्रतिबद्धता समेत जनाए । गाउँ शिक्षा समिति गठन गर्ने बिषयमा भने एक महिनाभित्रै भेला बोलाएर गठन गरिसक्ने उनको भनाई छ । सामाजिक सुरक्षा भत्तामा उठेको गुनासोमा उनले अहिलेसम्म कुनै कमजोरी नभएको भन्दै आगामी दिनमा नाम नामेसी र फोटो सहितको फ्लेक्स एक साताभित्रै गाविसमा टाँस गरिसक्ने बताए । पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले पनि गाउँ विकास समितिमा हाल देखिएका कमी कमजोरी तत्काल सच्याउने र आगामी दिनमा कमजोरी नगर्ने प्रतिबद्धता जनाए । गाउँ शिक्षा समिति गठन गर्ने, सामाजिक सुरक्षा भत्ताको अध्यावधिक गर्ने र गाविसको विकास निर्माणको काममा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उनीहरुले बताए । नेपाली काँग्रेसका गाउँ सभापति देवीजंग गुरुङले शिक्षा समितिको बिषयमा पहिलो पटक सुनेकाले यस बिषयमा थप छलफल गरेर टुंग्याउने बताए । नेकपा एमाले प्रतिनिधि भोजराज सापकोटा, एमाओबादी अध्यक्ष रुद्रबहादुर रानाभाट, नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष टेकनाथ, राप्रपा नेपालका अध्यक्ष बेल बहादुर गुरुङ लगायतले पनि गाविसको विकास र विद्यमान समस्या सुल्झाउनका लागि सकारात्मक सुझाव दिने र गाविसलाई घचघच्याउने बताए । अनुगमन समिति गठन गरी सञ्चालित योजनको प्रभावकारी अनुगमनका लागि पनि आँफूहरुले भूमिका निर्वाह गर्ने उनीहरुको प्रतिबद्धता छ ।
Post a Comment