गोल्डेन न्यूज संवाददाता
खोटाङको महादेवस्थान–४ बर्खेटारस्थित काभ्रेपानी भिरमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । घटनास्थलमा खोजतलासको क्रममा थप २ वटा शव फेला परेको र कुल मृतक संख्या २४ पुगेको प्रहरीले जनाएको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । खोटाङमा दुर्घटनाग्रस्त बस । दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ६३७६ नम्बरको बस सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा १५ पुरुष र ७ महिलाको मृत्यु भएको हो । दुर्घटनामा ३१ जना घाइते भएका छन् । सनाखत भएकाहरुमा गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुर ताम्ली–७ का शान्त राई, उनका छोरा ओमश्री राई, उदयपुरकै बर्जुनारायण श्रेष्ठ र हेम सुनुवार छन् । यसैगरी खोटाङ निर्मली डाँडाकी बिमला राई, खोटाङ क्यात्मीटारका प्रेम राई, मेजर राई र याम्खाका भैरव राईको पनि दुर्घटनामा मृत्यु भएको छ । नेत्र कुमार राई, गोविन्द तिमिल्सिना, सोलुखुम्बुकी सुष्मा राई र सोम सुन्दासको मृत्यु भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका इन्सपेक्टर फुर्गेली शेर्पाले जानकारी दिए । घाइतेमध्ये २३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश केएमले जानकारी दिए । शिक्षण अस्पताल महाराजगञ्जमा २० जना, ग्रीनसिटी अस्पतालमा १ जना, नेपाली सेनाको छाउनी अस्पतालमा १ जना र बी.एण्ड बी अस्पतालमा १ जनाको उपचार भइरहेको छ । सामान्य घाइतेहरुको ताप्ले अस्पताल हलेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी अर्खौले, नुनथला, लामीडाँडा र बुईपाबाट उद्धार टोली खटिएका थिए ।
Post a Comment