गोल्डेन न्यूज संवाददाता
वीर अस्पतालको आईसियुमा रहेका साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई डाक्टरहरुले डिस्चार्ज गर्न अस्वीकार गरेका छन् । अकुत सम्पत्ति प्रकरणमा शुक्रवार अख्तियारद्वारा पक्राउ परेका दीक्षितलाई शनिवार विर अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप बढेपछि विर अस्पतालको आईसियुमा उपचार गराईरहेका दीक्षितलाई आईतबार विशेष अदालतमा बयानका लागि लैजाने भनिएपनि डाक्टरहरुले उनलाई डिस्चार्ज गर्न अस्वीकार गरेका थिए । दीक्षित विशेष अदालतमा हाजीर हुन नसक्ने भएपछि बहसका लागि अख्तियार र दीक्षित पक्षका करिब दुई दर्जन कानुन ब्यवसायीहरु विशेष अदालत पुगेका थिए ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। शुक्रबार ३० दिन ‘म्याद थप’ का लागि विशेष अदालत, काठमाडौंमा दर्ता गराएको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश मोहन रमण भट्टराई, प्रभा बस्नेत, महेश प्रसाद पुडाशैनीको इजलासले १० दिन म्याद थप गरेको हो। अख्तियारका तर्फबाट सरकारी वकिल र अख्तियारका वकिलहरुले बहस गरेका थिए। दीक्षितका तर्फबाट अधिवक्ताहरु सतिसकृष्ण खरेल, शम्भू थापा, गोविन्द वन्दी लगायतले बहस गरेका थिए। दीक्षितको स्वास्थ्य अवस्थामा सुधार नभएको र उनलाई निरन्तरको चिकित्सकको निगरानीमा राखिरहनुपर्ने भएपछि अदालतमा उपस्थित गराइएको थिएन। दीक्षितको वीर अस्पतालमा उपचार भइरहेको छ। अदालतले १० दिन म्याद थपको अनुमति दिँदै उनका कानून वयवसायीलाई पनि भेट्नू भनेको छ।
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियारमा पुनः निवेदन परेको छ। यसअघि दर्ता गरेको निवजेदन माथि अख्तियारले कारबाही नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियान, नेपालका सुमन श्रेष्ठले आइतबार पुनः निवेदन दर्ता गराएका हुन् । श्रेष्ठले तीन साताअघि कार्कीको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै अख्तियारमा निवेदन दिएका थिए।
पत्रकार कनकमणि दीक्षितलाई पक्राउ गरेपछि विवादित बनेकै बेला कार्कीमाथि सम्पत्ति विवरण सार्वजनिक नगरेको आरोप श्रेष्ठले लगाएका हुन्। पुनः निवेदन दिएपछि प्रेस विज्ञप्ति सार्वजनिक गर्दै श्रेष्ठले भनेका छन्’ प्रमुख आयुक्त सम्मानित श्री लोकमान कार्कीज्यूको सम्पति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियारमै दिएको निवेदन उपर झन्डै ३ हप्ताको समयसम्म पनि अख्तियारले देखाएको मौनताले भ्रष्टाचार निवारणप्रति अख्तियार प्रमुखको चरित्रमा गम्भीर शंका उत्पन्न गरेको छ।’ उनले लेखेका छन,’ नेपालमा दिनप्रतिदिन भ्रष्टाचार र बेथितिले जरा गाडिरहेको छ तर भ्रस्टाचार निवारणको लागि स्थापित संस्था आफैंमा दिनप्रतिदिन अपारदर्शी र गैह्र जिम्मेवारी तवरले चल्नु तथा आफ्नो कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्दै विवादमा परिरहनु हामी सर्वसाधारण नागरिकको लागि चिन्ताको बिषय हो।’
Post a Comment