गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहबाट विभिन्न तह र विषयका चार हजार ४९३ जना विद्यार्थी बुधबार दीक्षित भएका छन् । विश्वविद्यालयले आयोजना गरेको एक समारोहकाबीच राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा विद्यार्थीलाई विभिन्न तहको उपाधि प्रदान गरेको हो । दीक्षान्त समारोहबाट १२ औँ दीक्षान्त समारोहपश्चात २०७२ चैत मसान्तसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीलाई विश्वविद्यलाय ले दीक्षित गरेको हो । समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको भन्दै राष्ट्रिय समृद्धि र विकासका लागि शिक्षाको विकास अपरिहार्य भएको बताए । शिक्षा भ्रष्टाचाररहित, अनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिँदै उनले दीक्षित विद्यार्थीले समाज र राष्ट्रका लागि योगदान गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले उच्च शिक्षा हासिल गरिसकेपछि ज्ञान र सीपलाई रचनात्मक ढंगले आफ्नो कार्य क्षेत्र र समाजमा लगाउन अग्रह गर्दै समय सापेक्ष शिक्षामा जोड दिए । कुनैपनि देशको विकासका लागि त्यस देशको मानवस्रोत राम्रो हुनुपर्ने उनले स्पष्ट पारे । ‘दक्ष मानवस्रोतले नै देश विकास सम्भव छ,’ उनले भने,–‘समय सापेक्ष शिक्षा आजको आवश्यकता हो । यसतर्फ सरकार कटिबद्ध छ ।’ युवा समूहले आर्जेको ज्ञान, उन्नत सोच, सबल इच्छाशक्ति र सहयोग मुलुकको विकासका लागि आवश्यक रहेको उनले बताए । समाजका प्रत्येक वर्ग र समूदायका व्यक्तिले सहज रुपमा शिक्षा प्राप्त गर्न पाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा नै देश विकासको प्रमुख आधार भएको उल्लेख गरे । पोखरा विश्वविद्यालय ले अघि सारेका रणनीतिक योजना र लक्ष्यलाई नयाँ परिस्थितिमा अझ बढी परिष्कृत र व्यवहारिक तुल्याउनेतर्फ सरकारले सहयोग गर्ने उनले बताए । देश विभिन्न संघर्षका चरण पार गरी अनुकूलतामा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले बाँकी असन्तुष्टि पनि संवादका माध्यमबाट समाधान गरिने छ भने ।पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले भूकम्पपछिको पुनर्निर्माण अभियानमा साथ दिन समेत आग्रह गरे । अर्को प्रसङ्गमा उनले देशमा राजनीतिक लडाईं सकिएर अब विकास निर्माणको काममा लाग्नुपर्ने भन्दै उनले अब कुनै पनि संघर्ष आवश्यक नरहेको बताए । कुनै समस्या भए वार्ताबाट समाधान गर्न सकिने उनले बताए । कुनै समस्या भए खुलामनका साथ संवादमा बसेर समाधान ग¥यौं,’ आन्दोलित मधेसी मोर्चातर्फ संकेत गर्दै उनले भने,–‘अहिलेको सरकार सबैको सबै कुरा सुन्छ । अब आन्दोलनका कुरा छाडेर संवादमा आएर समस्या समाधान हुनेमा विश्वस्त छु ।’ प्रम ओलीको लिखित मन्तव्य कार्यक्रममा वितरण गरिए पनि उनले त्यो नपढी मौखिक भाषण गरेका थिए । उक्त अवसरमा राष्ट्रकवि घिमिरेले विश्वविद्यालय विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भइरहे पनि देशमा रहेको अपार प्राकृतिक स्रोतको उपयोग हुन नसकेको बताए। आध्यात्मिकता र भौतिकता दुवैको सन्तुलित विकासका माध्यमबाट समग्र मानव जातिको विकास हुने भन्दै उनले नेपालको समृद्धिका लागि विद्यमान जल, वन सम्पदा आदिको संरक्षणका साथै पर्यटन र जलविद्युत् जस्ता सम्भावनाको विकास गरिनुपर्ने बताए । उनले ज्ञानको विकासले नै मानिसको यात्रा निर्धारण गर्ने बताए । नेपालमा विश्वविद्यालयको विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भइरहे पनि देशभित्र प्रयाप्त मात्रामा उपयोग हुन नसकेको उनले भनाइ थियो । शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयले समयसापेक्ष अनुसन्धानात्मक शिक्षामा जोड दिँदै नियमित शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । व्यवहारिक र जीवनोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले विश्वविद्यालयले प्रविधियुक्त र सीपमूलक शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र विकासका लागि योगदान गर्नुपर्ने बताए । विश्वविद्यालयका उप–कुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले विश्वविद्यालयलाई शैक्षिक एवम् स्वस्थ र विकसित पर्यटनको विकास र प्रवद्र्धन गर्ने कार्यमा एक नेतृत्वदायी भूमिका खेल्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच राखिएको बताए । उनले विश्वविद्यालयले व्यवसायमूलक कार्यक्रमको विस्तार, पाठ्यक्रमको स्तरीय रुपमा परिमार्जन, आङ्गिक तथा सम्बन्धन प्राप्त महाविद्यालय लाई सबल तुल्याउने, परीक्षा प्रणालीमा सुधार जस्ता कार्य उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताए । समारोहमा कम्प्युटर एप्लीकेसन स्नातक तहमा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने महेश श्रेष्ठलाई ‘ओकेम स्वर्ण पदक’ व्यवस्थापन प्रशासन स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भावना पराजुलीलाई लक्ष्मी ‘विद्या पदक’, स्नातक तहमा सर्वोत्कृष्ट अनमोल पाण्डेलाई ‘उपकुलपति’ पदक र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अरुणिमा श्रेष्ठलाई ‘कुलपति’ पदकबाट सम्मान गरिएको थियो । साथै विभिन्न सङ्कायमा उत्कृष्ट अङक ल्याएर डीन लिष्टमा पर्न सफल विद्यार्थीलाई पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमको २ घण्टा ढिलाइले सास्ती
पोखरा विश्वविद्यालयको १३औं दिक्षान्त समारोहको अध्यक्षता गर्न बिहान १० बजे विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री केपी ओली पोखरा आइपुग्ने भनिए पनि उनी साढे २ घन्टा ढिला गरि मात्र त्यहाँ पुगे । बिहान १० बजे दिक्षान्त समारोह हुने भनेर विद्यार्थी तथा अभिभावकलाई बोलाइए कार्यक्रम १२ः४० मा मात्रै सुरु भयो । प्रधानमन्त्री लेखनाथस्थित पोखरा विश्वविद्यालय पुगेपछि कार्यक्रम सुरु भएको थियो । दीक्षान्त समारोहको प्रमुख आतिथ्यता राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेका थिए । प्रधानमन्त्री ढिला गरि पुगेपछि त्यहाँ उपस्थित ४ हजार ५ सय विद्यार्थी तथा हजारौं अभिभावकको गर्मीले बेहाल भएको काठमाडौंबाट छोरीको दिक्षान्त समारोहमा भाग लिन पोखराको लेखनाथ पुगेका सागर आचार्यले गुनासो गरे । ‘हामीलाई ९ः३० बजेका लागि बोलाइयो र पालमुनी राखेर गर्मी खुवाइयो,’–उनले भने । विश्वविद्यालयले प्रधानमन्त्री के कति कारणले प्रधामन्त्रीको ढिलाई भएको जानकारी समेत नदिएको उनले बताए ।
Post a Comment