0
पार्टी एकताका लागि गृहकार्यमा जुटेका माओवादी नेताका लागि नयाँ संविधान ‘घाँडो’ बन्ने भएको छ । संविधानलाई हेर्नेबारे वैद्य र बादल एक मत देखिएका छन् भने प्रचण्डको लाइन फरक छ । प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकता गर्न खुट्टो उचालेका क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलले आफ्नो प्रतिवेदनमा वर्तमान संविधानको भण्डाफोर गर्नुपर्ने प्रस्ताव गरेका छन् । बादलले जस्तै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य पनि यो संविधानको भण्डाफोर गर्नुपर्ने पक्षमा छन् । तर, एमाओवादी अध्यक्ष प्रचण्ड चाँहि संविधानको भण्डाफोर गर्ने पक्षमा सहमत छैनन् ।
संविधानबारे वैद्य के भन्छन् ?
प्रचण्डसँग पार्टी एकताका लागि छलफल गर्न बोलाइएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले संविधानको भण्डाफोर गर्नुपर्ने प्रस्ताव गरेका छन् । आफ्नो प्रस्तावमा वैद्यले ‘वर्तमान संविधानको प्रश्न’ शीर्षकमा भनेका छन्( ‘यस संविधानलाई स्पष्ट भाषामा प्रतिक्रियावादी बताई त्यसको विरोध तथा भण्डाफोर गर्नुपर्छ ।’ वैद्यले यो संविधान जनताको पक्षिमा नरहेको बताउँदै आफ्नो दस्तावेजमा भनेका छन्–‘उल्टै यस संविधानले दलाल, नोकरशाही पुँजीपति तथा सामन्त वर्गकै हक हितको प्रतिनिधित्व तथा संरक्षण गरेको छ । ‘वैद्यले भनेका छन्–‘संविधानमा उल्लेखित गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक प्रतिनिधित्व जस्ता कतिपय विषयहरु अंशतः रक्षात्मक रुपमा सकारात्मक रहे पनि समग्र र गुणात्मक रुपमा वर्तमान संविधान प्रतिक्रियावादी नै रहेको छ ।’ संविधानको कार्यान्वयनका चरणमा पार्टी एकता गरी सिंगो एमाओवादीको अध्यक्ष बन्ने चर्चा भइरहेका बेला वैद्यले यो संविधानलाई संस्थागत गर्नु गल्ती हुने बताएका छन् । उनले प्रचण्डलाई समेत व्यंग्य गर्दै भनेका छन्–‘संविधानको प्रतिक्रिया वादी स्वरुप र सारतत्वलाई ढाकछोप गरेर त्यसलाई महान ऐतिहासिक उपलब्धि तथा युगान्तकारी परिवर्तनका रुपमा महिमामण्डित गर्नु नितान्त गलत भएको छ । यसप्रकारको संविधानलाई संस्थागत तथा सुदृढ गर्ने नीति पनि गलत नै हुन्छ ।’
बादल पनि संविधान विरोधी
बैठकमा अध्यक्ष वैद्यसँग असहमति राख्दै पूराक प्रतिवेदन प्रस्तुत गरेका बादलले पनि संविधानको हकमा भने वैद्यकै जस्तो विचार प्रस्तुत गरेका छन् । बादलले पनि आफूलाई संविधान विरोधीका रुपमा उभ्याएका छन् । बादलले आफ्नो पूरक दस्तावेजको तेस्रो नम्बर बुँदामा ‘विद्यमान राज्यसत्ता, संसदीय व्यवस्था तथा संविधानबारे’ शीर्षकमा भनेका छन्( ‘वर्तमान संविधानमा समाविष्ट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी आदि विषयहरु जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि र मात्रात्मक परिवर्तन हुन् । ‘त्यसैले उपरोक्त संयन्त्रहरुको उपयोग तथा भण्डाफोर गर्दै क्रान्तिको तयारी गर्ने नीति अवलम्बन गर्नुपर्दछ ।’
प्रचण्ड संविधानका पक्षपोषक
एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका सम्बन्धमा वैद्यलाई बुझाएको प्रस्तावमा नयाँ संविधानका उपलब्धिहरुको स्वामित्व माओवादीले लिनुपर्ने बताएका छन् । प्रचण्डको प्रस्तावमा ‘वर्तमान संविधानको विषयमा’ शीर्षक अन्तरगत यसरी व्याख्या गरिएको छः ‘संविधान सभाबाट हालै जारी गरिएको नेपालको संविधान महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनद्वारा अगाडि ल्याइएका केही महत्वपूर्ण राजनीतिक मुद्दाहरु अवश्य सम्बोधित भएका छन् । तीमध्ये मूलत गणतन्त्र (अधुरै भए पनि) संघीयता, धर्म निरपेक्षता एवं उत्पीडित वर्ग र समुदायका लागि राज्यसत्ताका सबै अंगमा (अधुरै भए पनि) समानुपातिक, समावेशी सहभागिताजस्ता प्रश्नहरु संविधानमा समावेश हुनु महत्वपूर्ण उपलब्धि हुन् । यी उपलब्धि मुख्यतः जनयुद्ध र विभिन्न जनआन्दोलनका उपलब्धि हुन् , यिनको स्वामित्व मुख्यतः माओवादी आन्दोलनले लिनुपर्दछ ।’ प्रचण्डले आफ्नो प्रस्तावमा भनेका छन्–‘निश्कर्षमा संविधानका उपलब्धिहरुको पक्षपोषण र गलत पक्षका विरुद्ध संघर्ष गर्ने नीति लिएर अगाडि बढ्नु नै आजको आवश्यकता हो ।’
लाइन नमिले पनि बादल एकताका लागि आतुर ः नयाँ संविधान जारी गराउनमा एमाओवादी अध्यक्ष प्रचण्डको अथक मेहनत र श्रम परेको छ । तर, वैद्य माओवादीका नेताहरुले भने दोस्रो संविधान सभाको चुनाव बहिस्कार गरेर एमाओवादीलाई झनै कमजोर पार्ने नकारात्मक भूमिका बाहेक संविधान निर्माणमा अपनत्व रहने गरी योगदान गरेका छैनन् । यो अवस्थामा संविधानको पक्षपोषण गर्नुपर्छ भन्ने प्रचण्ड र भण्डाफोर गर्नुपर्छ भन्ने बादलवीच एकताको तयारी भइरहेको छ । अध्यक्ष मोहन वैद्यले भने आगामी असोजमा राष्ट्रिय सम्मेलन गर्ने टुंगो भइसकेकाले सम्मेलनसम्म जानुपर्ने प्रस्ताव गरेका छन् ।
बादलले चाँहि ‘साम्राज्यवादी र तिनका दलालहरुले क्रान्तिकारी कम्युनिष्टलाई एकतावद्ध हुन दिने छैनन्’ भन्दै एकताका लागि साहस गर्नैपर्ने बताएका छन् । तर, संविधानलाई भण्डाफोर गर्नुपर्छ भन्ने र पक्षपोषण गर्नुपर्छ भन्नेहरु वीच के आधारमा पार्टी एकता होला ? त्यो चाहिँ हेर्न लायकको विषय बनेको छ । बादल र वैद्यले आफ्नो दस्तावेजमा पार्टी फुटको बारेमा एएक शब्द पनि समीक्षा गरेका छैनन् । पार्टी विभाजनमा आत्मालोचनाको एक शब्द पनि खर्च गरिएको छैन । बरु विचार र कार्यदिशा नमिले पनि दलालहरुलाई देखाउन भन्दै एकताको सहास गर्नुपर्ने भावनात्मक कुरा बादलले दस्तावेजमा गरेका छन् । वैद्य चाँहि नौलो जनवादी कार्यदिशालाई जोड दिनुपर्ने भन्दै असोजको राष्ट्रिय सम्मेलनसम्म एकतालाई टार्ने पक्षमा उभिएका छन् ।
धुँवाको प्वालबाट छिरेर एकताको अनुनय ?
वैद्य माओवादीको केन्द्रीय कमिटी बैठकमा युवा नेता लेखनाथ न्यौपानेले बेग्लै लिखित प्रस्ताव पेश गरेर भनेका छन्( ‘पार्टी एकता भन्दै कोही ढोकाबाट त कोही झ्यालबाट र कोही धुँवा प्वालबाट समेत छिरेर अनुनय विनय गर्ने तरिका अराजकता हो ।’ न्यौपानेले आफ्नो प्रस्तावमा भनेका छ–‘पार्टीको निर्णय अनुसार सबैलाई ढोकाबाट छिराएर विषयलाई केन्द्रित निश्कर्षमा पुर्रुयाउन नसक्नु नेताहरुको असक्षमता हो ।’ वैठकमा महामन्त्री बादलले बैद्यको प्रतिवेदनमाथि फरक मत राखेकोमा न्यौपानेले आपत्ति जनाएका छन् । उनले ‘माओवादी स्कुलको पुनर्गठन सम्बन्धमा’ शीर्षकको आफ्नो बेग्लै दस्तावेजमा भनेका छन्– ‘एकताको विषयमा पटक–पटकको निर्णय र फेरि छलफल गर्दैगर्दा हामीभित्रको एकता पहिलो शर्त हो । तर, दुर्भाग्य, पार्टी एकताबाट प्रवेश गरेको विषय फरक–फरक प्रस्ताव सहितको कार्यदिशाको बहस र विवादमा तानिएको छ ।’ वैद्य र बादलको फरक प्रस्तावले पार्टीभित्र अनिवार्यरुपमा फुटलाई जन्माएको न्यौपानेले ठोकुवा गरेका छन् । उनले वादल र वैद्य दुबैप्रति व्यंग्य गर्दै भनेका छन्–‘एकै रातमा फरक मत पार्टीमा प्रवेश गर्ने र र फरक मतको ठीक ढंगले सम्बोधन गर्न नसक्ने वा नचाहने दुबै प्रवृत्ति पार्टी एकता प्रतिकूल देखिँदै आएका छन् ।’

Post a Comment

 
Top