0
गोल्डेन न्यूज संवाददाता
विश्व पृथ्वी दिवस अवसरमा वातावरण, मानवअधिकार एवं सम्पदा संरक्षण अभियानमा क्रियाशील राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र नागरिक समाज पोखराले संयुक्तरुपमा फेवाताल किनारमा वृक्ष गोडमेल गरेका छन् । कास्कीमा हालै सरुवा भइ आएका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले नागरिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै कार्यक्रम शुभारम्भ गरेका थिए । प्रतिबद्धता पत्रमा “राष्ट्रिय हितलाई सर्वोपरी मान्दै पिछडिएका महिला, असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांग एवं उत्पीडित वर्ग लगायत स्थानीय कला, साहित्य र संस्कृतिको उत्थान गर्दै प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण सँगै कास्की जिल्लाको समग्र विकास निर्माणमा सामाजिक न्यायको सिद्धान्तलाई मार्गदर्शन मान्दै कस्केली जनताको सर्वाङ्गिण हितमा समर्पण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु” उल्लेख छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड परिसर र फेवाताल किनारमा रोपिएका विभिन्न प्रजातिका १ सय ५० बोटबिरुवा गोडमेल गरी संरक्षण गरिएको थियो । राष्ट्रिय सम्पदा संरक्षण समितिका अध्यक्ष शशी तुलाचनले स्वागत मन्तव्य र नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, महिला समन्वय समिति, टोल विकास संस्था र नागरिक अभियन्ताको बाक्लो उपस्थिति थियो ।

Post a Comment

 
Top