गोल्डेन न्यूज संवाददाता
गोर्खा कम्युनिटी पोखराले आफ्नो सातांै वार्षिकोत्सव तथा नयाँ बर्ष २०७३ को शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार पोखरा–१० बुद्धचोकमा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले विश्वमा बहादुर गोर्खालीबाट चिनिएका यो समुदायको पहिचान स्थापित गर्नका लागि गोर्खा कम्युनिटी पोखराले गरेका हरेक गतिविधिकोे उच्च प्रशंसा गर्दै गोर्खाली समुदायले जीवनका महत्वपूर्ण समय अरुका लागि खर्च गरेपनि लामो भोगाई र अनुभवलाई अब समाज निर्माणमा खर्च गर्न आग्रह गरे । गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पोखरा उप–महानगरपालिका, सडक विभाग, नागरिक उड्डयन कार्यालयको स्वीकृतिमा अन्तर्राष्ट्रिय विमानस्थल गेटमै गोर्खा चोकको नामाकरण गरिएको जानकारी दिँदै भूपू गोर्खाहरुकै सहयोगमा उक्त चोक बन्ने जानकारी दिए । कम्युनिटीका सल्लाहकार एवं पोखरा उपमनपाका पूर्व उपमेयर क्याप्टेन मानबहादुर गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गोर्खा कम्युनिटी पोखराले नयाँ वर्ष २०७३ सालको क्यालेन्डर समेत विमोचन गरेको छ । कम्युनिटीले हालसम्म द गोर्खाज बचत तथा ऋण सहकारी संस्था, गोर्खा सहकारी उपभोक्ता पसल (गोर्खा ग्रोसरी सप), गोर्खाली रेडियो १०६ मेघाहर्ज, गोर्खा एण्ड बराह ज्वेलरी र काभे्रमा रहेको गोर्खा अर्गानिक फार्म तथा रिसर्च सेन्टर सफलताका सञ्चालन गरेको छ । मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा सम्मन्न भएको कार्यक्रममा कम्युनिटीका द्वितीय उपाध्यक्ष मीना गुरुङले स्वागत गरेको सो कार्यक्रमको संचालन सचिव डव्लु ओटु भुपालजंग कुँवरले गरेका थिए ।
Post a Comment