0
सिबी अधिकारी
मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला प¥यो । आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले समग्र व्यवसायी मात्र नभई देशलाई नै असर पुग्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै प्राकृतिक विपत्तिलगायतले पर्यटन उद्योगलाई नराम्रो धक्का लाग्यो ।
प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको अनुपम विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि विश्वमा आकर्षण मानिन्छ । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । भूकम्पले सर्वोच्च शिखर सगरमाथासहित सम्पूर्ण हिमालको आरोहण रोकियो भने, मनास्लु, अन्नपुर्णलगायतका पदमार्गहरु पनि अवरुद्ध हुन पुगे । पर्यटन क्षेत्रबाट सबैभन्दा बढी राजस्व उठ्ने पर्वतारोहण नै रोकिएपछि अन्य पर्यटकीय गतिविधि पनि कमजोर बन्दै गयो । पर्वतारोहण अवरुद्धले राज्यले करोडौँ राजस्व गुमायो । भूकम्पको त्रास ताजै रहेका बेला संविधान निर्माणप्रति असहमति जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले झनै पर्यटन क्षेत्र चौपट हुन पुग्यो । नाकाबन्दीले पर्यटन व्यवसायलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै जाममा पा¥यो । त्यसो त, अघिल्लो वर्ष (२०७१) पनि सगरमाथाको आधार शिविरमा आएको हिम पहिरो र ‘हुदहुद’ सामुद्रीक आँधीका कारण विश्व चर्चित पदमार्ग राउण्ड अन्नपूर्णमा भौतिक तथा मानवीय क्षति पुग्यो । जसका कारण मुलुकको पर्यटनले ठूलो क्षति बेहोर्नु प¥यो । ती दुवै घटनामा धेरै पर्यटक तथा पदयात्रीको मृत्यु भएको थियो । यद्यपि भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटनमा वर्षको उत्तरार्धमा सकारात्मक सङ्केत देखा परेको छ । पछिल्लो पटक बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेबिड (ह्यारी) को नेपाल भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । भूकम्पपछि नेपालबारे विश्वभर फैलिएको भ्रम चिर्न ह्यारीको भ्रमणबाट सकारात्मक सन्देश प्रवाह भएको छ । पर्यटकको चहलपहल बाक्लिएको छ ।  उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक यतिखेर नेपालका पर्यटकीय गन्तव्यमा छन् । ती गन्तव्यका होटलको अकुपेन्सी बढेको छ । सरकारले अघिल्लो वर्ष सगरमाथा लगायतका हिमाल आरोहणका लागि अनुमति लिइ आरोहण गर्न नपाएका आरोहीका लागि आगामी दुई वर्ष सम्म पुनं आरोहण गर्न दिने निर्णयले पनि पर्यटनमा सकारात्मक प्रभाव परेको छ । अहिले ठूलो सङ्ख्यामा विभिन्न मुलुकका आरोहीहरु नेपाल आउने क्रममा छन् ।
अर्कोतर्फ विश्वमै सबैभन्दा बढी पर्यटक पठाउने मुलुक चीनबाट पर्यटक आकर्षण गर्न सरकारले जनवरी १ देखि सुरु गरेको निःशुल्क प्रवेशाज्ञाको प्रावधानले पनि चिनियाँ पर्यटक बढाउन भूमिका खेलिरहेको छ । संयुक्त राष्टूसङ्घीय पर्यटन सङ्घका अनुसार एक करोड २० लाख चिनियाँ पर्यटक विश्वमा पुग्ने गरेका छन् । त्यसको केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालको पर्यटनले उचाइ लिने निश्चित छ । 
त्यसैले मित्रराष्टू चीन, भारतलगायत अन्य मुलुबाट बढी पर्यटक आकर्षण गर्न सरकारले विशेष पर्यटकीय प्याकेज तथा पूर्वाधार विकासमा जोड दिन जरुरी छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१३ मा सात लाख ९७ हजार ६१६ र सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा अघिल्लो सन् २०१३ र २०१४ को तुलनामा २९.७ प्रतिशतले गिरावट आई जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमया गरेका छन् । रासस

Post a Comment

 
Top