0
गोल्डेन न्यूज संवाददाता
कास्कीका शैक्षिक परामर्शदाताहरुलाई शिक्षा मन्त्रालयले विशेष तालिम दिएको छ । सिटिईभिटि अन्तरगतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआईटिआई) सँगको समन्वयमा मन्त्रालयले कास्कीका परामर्शदाताहरुलाई तालिम प्रदान गरेको हो । तालिममा कास्कीका २३ वटा शैक्षिक परामर्श केन्द्रका ४० जना परामर्शदाताहरु सहभागी भएका थिए । ‘तालिम परामर्शदाता हरुका लागि निकै उपलब्धिमुलक रह्यो ।’ नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीका तालिम विभाग प्रमुख रुद्र अर्यालले भने–‘यसले परामर्शदाताहरुमा नयाँ हौसला प्रदान गरेको छ ।’ चैतको २९ गते शुरु भएको तालिम १० दिनसम्म चलेको थियो । तालिममा शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख गौरीशंकर पाण्डे, टिआईटिआईका प्रमोद आचार्य, मिना खरेल, सरिता रेग्मी र विजेश बस्नेतले सहजीकरण गरेका थिए । तालिम अवधिभर उनीहरुले परामर्शदाताहरुलाई ‘परामर्श दिँदा ध्यान दिनुपर्ने कुराहरु’ को बारेमा सिकाएका थिए । ईक्यान कास्कीका सचिव सन्दीप अर्यालले तालिम निकै फलदायी भएको अनुभव सुनाए । त्यस्तै ईक्यान कास्कीकै कार्यसमिति सदस्य भुवन क्षेत्रीले विशेषगरि नयाँ परामर्शदाताहरुका लागि तालिम निकै उपयुक्त भएको बताए । उनले पुराना परामर्शदाताहरुका लागि पनि तालिमले विभिन्न कुराहरु पुनरावृत्ति गराईदिँदा राम्रो भएको बताए । शिक्षा मन्त्रालयबाट स्वीकृति पाएका शैक्षिक परामर्शदाता कम्पनीका परामर्शदाताहरुले मात्रै तालिममा सहभागिता लिएका थिए । कास्कीमा २३ वटा शैक्षिक परामर्शदाता कम्पनीहरुले मात्रै शिक्षा मन्त्रालयबाट स्विकृति पाएका छन् । स्वीकृतिप्राप्त संस्थाहरुलाई तालिम उपलब्ध गराउने शिक्षा मन्त्रालयको अभियान अन्तर्गत कास्कीमा यो तालिम भएको थियो । यसअगाडि काठमाडौंमा दुई पटकसम्म परामर्शदाताहरुको लागि यो तालिम भैसकेको छ । फेरि काठमाडौंमा केहि दिनमा यो तालिम शुरु हुने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयबाट हालसम्म ३ सय ५० वटा परामर्शदाता कम्पनीहरुले स्वीकृति पाईसकेका छन् । असोज महिनाभित्र यी सबै कम्पनीका परामर्शदाताहरुलाई मन्त्रालयले तालिम दिईसक्ने बताएको छ ।

Post a Comment

 
Top