0
गोल्डेन न्यूज संवाददाता
नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीपमा दोस्रो जित हात पारेको छ । नेपालको जितमा कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै शतक पुरा गरे । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नामिबियाबिरुद्ध दोस्रो जित आत्मसाथ गरेको हो । यसअघि शनिबार सम्पन्न खेलमा पनि नेपालले ५ विकेटको जीत हात पारेको थियो । कप्तान पारस खड्काको कप्तानी पारीको सहयोगमा नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले अन्तिम बलमा बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्रुयो । पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेले । त्यस्तै तेस्रो नम्बरमा आएका ब्याट्सम्यान शरद भेषावकरले पनि ७४ रनको अविजित योगदान गरे । उनले १०७ बलमा ६ चौका प्रहार गरे । उनले लगातार दोस्रो पटक म्याच विनिङ पारी खेले । यसअघि शनिबार भएको खेलमा पनि उनले बिजयी रन प्रहार गरेका थिए । सुरुवाती ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल २२ र नरेश बुढायर ६ पेविलियन फर्किएपछि आएका शरद र पारसले तेस्रो विकेटका लागि १६७ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपालको जीतको ठोस आधार तय भएको थियो । नेपालका लागि राजेश पुलामीले १ रनमात्र जोड्न सके भने विनोद भण्डारीले १२ र रनको बनाए । बसन्त २ रनमा अविजित रहे। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गरेको थियो । नामिबियाका लागि ओपनर कप्तान स्टेफल बार्डले ५१ र जेन ग्रिनले ४७ रन बनाएका थिए । त्यस्तै सरेल बर्गरले पनि ४३ रनको अविजित पारी खेलेका थिए । बलिङतर्फ नेपालका स्पिनरहरु शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछानेले २÷२ विकेट लिए । नामिबियाका तीन ब्याट्सम्यान रनआउट भएका थिए । विश्व क्रिकेट लिगमा नेपालले दुई खेल जीतेर ४ अंक जोडेको छ । यसअघिका दुई चरणमा नेपालले क्रमसः स्कटल्याण्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो । नेपालले यसअघिका चारै खेलमा पराजय ब्यहोरेको थियो । यसैबीच नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसीपको अंकतालिका मा पाचौं स्थानमा उक्लिएको छ । प्रतियोगिताको तेस्रो चरणमा नामिबियालाई दुवै खेलमा हराएपछि अंकतालिकाको अन्तिममा रहेको नेपाल चार अंकसहित पाचौं स्थानमा उक्लिएको हो । नेपालले यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्याण्ड र पपुवान्यूगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो । घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई शनिबार ५ विकेट र सोमबार ३ विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष ४ भित्र रहने संभावना जीवितै राखेको छ । नेपालले चौथो चरण अन्तर्गत आगामी अगस्तमा नेदरल्याण्ड्स भ्रमण गर्नेछ । सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाल लगायत ८ एशोसियट मुलुकका टोलीबीच होम एण्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरणमा स्थान बनाउनेछन् । प्रतियोगितामा ६ खेलबाट १० अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । त्यस्तै समान खेलबाट दोस्रो स्थानमा रहेको हङकङको ९, तेस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ र चौथो स्थानमा रहेको केन्याको ६ अंक छ । नेपालसँगै ४ अंक जोडेको पपुवान्युगिनी नेट रनरेटको आधारमा पछि पर्दै छैटौं स्थानमा छ । यद्यपी पपुवान्यूगिनीले दुई खेल कम खेलेको छ । नामिबिया सातौं र युएई प्रतियोगिताको आठौं स्थानमा छन् ।

Post a Comment

 
Top