गोल्डेन न्यूज संवाददाता
देश संघीय ढाचामा गएपछि आउन लागेको पहिलो वजेट आफ्नो प्रदेशको हितमा कसरी पार्ने भन्नेवारे प्रदेश नम्बर ४ का उद्योगी व्यवसायीले छलफल तीव्र पारेका छन् । प्रदेश नम्बर ४ का प्रथामिकतावारे जिल्लागत रुपमा सुझाव संकलन गरी अर्थमन्त्री समक्ष पेश गर्नेगरी उनीहरुले अन्तरक्रिया र छलफललाई तीव्रता दिएका हुन् । पोखरा उद्योग वाणिज्य संघको पहल तथा नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको अगुवाईमा जिल्लागत रुपमा सुझाव संकलनको काम भैरहेको छ । पोखरा र वाग्लुङमा भएको छलफलपछि बुधवार तनहुँको दमौलीमा नयाँ संविधानपछिको संघिय वजेट र ४ नम्बर प्रदेशको आवश्यकता तथा अपेक्षा विषयक छलफल सम्पन्न भयो । छलफलमा तनहुँका उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेता एबं सरोकारवाला संघ–संस्थाका प्रमुख एबं पोखरा, लेखनाथ र स्याङ्जा उद्योग वाणिज्य संघका पदाधिकारीहरु सहभागी थिए ।
तनहुँमा आयोजित छलफलमा नेपाल उद्योग वणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मीले आगामी वर्ष २०७३÷०७४ को प्रादेशिक वजेट खर्च गर्न सक्नेगरी प्रदेशमा संरचना तयार गर्नुपर्ने खाँचो औल्याए । प्रादेशिक संरचनाको लागि सरकारले विकास खर्च बढाउनुपर्ने उनले बताए । अन्य प्रदेशको तुलनामा ४ नम्बर प्रदेश पूर्वाधार विकासमा कमजोर रहेको बताए । उनका अनुसार यो प्रदेशले कुल पूर्वाधार विकासको ११ प्रतिशत मात्रै हिस्सा ओगटेको छ । जुन अत्यन्त न्यून हो । मुल्मीले प्रादेशिक सरकारको आम्दानी बृद्धिको लागि स्रोतको पहिचान गर्नुपर्ने उल्लेख गरे । आम्दानीको लागि राजश्य वृद्धि, आर्थिक कृयाकलापमा बृद्धि, प्राचिन स्रोत साधनलाई आर्थिक क्रियाकलापमा जोड्न सक्नुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागीले ४ नम्बर प्रदेश पर्यटकीय विकासको दृष्टिले पनि निकै अघि रहेकाले सोहि अनुसार वजेट व्यवस्थापन हुनुपर्ने बताएका थिए । पर्यटन, कृषि, जलविद्युत लगायत प्राकृतिक स्रोत साधानमा धनी प्रदेश भएकाले पूर्वाधार विकासको लागि जोड दिनुपर्ने उनीहरुको सुझाव छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यस क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने भएकाले सोहि अनुसार अन्य क्षेत्रलाई पनि जोड्ने गरी सडक मार्गहरु निर्माण र स्तरोन्नति हुनुपर्ने सहभागीले बताए । चीन सँगको कोरला नाकालाई व्यवसायिक प्रयोजनको लागि खुल्ला गर्ने र नवलपरासीबाट भारतसँग पनि व्यापारिक नाका खोल्न सके प्रदेश नम्बर ४ को आर्थिक विकासमा टेवा पुग्ने उनीहरुको विश्वास छ । कार्यक्रममा लेखनाथ उदोग वणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यो प्रदेशको स्रोत पहिचान र परिचालनलाई ध्यान दिदै विकास गर्नुपर्ने बताए । मौजुदा राजमार्गको स्तरोन्नति, नयाँ राजमार्गको निर्माण लगायतका विषयमा जोड दिनुपर्ने उनको सुझाव छ ।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण राज पण्डितले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि त्यसको प्रत्यक्ष लाभ तनहुँले पनि लिन सक्ने भएकाले पृथ्बी राजमार्गको स्तररोन्नतीको काम समयमै हुनुपर्ने बताए । तनहुँमा रहेका पर्यटकीय क्षेत्र तथा अन्य संभावनालाई पहिचान गरी समग्र प्रदेशको हितमा उपयोग गर्न सकिने उनले बताए । सुझाव संकलनको क्रममा विहिवार नवलपरासीको कावासोतीमा पनि अन्तरक्रिया कार्यक्रम गरिने र सवै स्थानबाट आएका सुझावलाई एकमुष्ठ प्रि–वजेट छलफलमा प्रस्तुत गरिने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले बताए । आगामी वैशाख १ गते अर्थमन्त्रीको उपस्थितिमा पोखरामा हुने छलफलमा ४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा वारे जानकारी गराउने उनले बताए ।
Post a Comment