पोखरा बजारको उत्तरपूर्वी भेग लेखनाथ नगरपालिकामा अवस्थित वेगनास ताल स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । प्रकृतिप्रदत्त सुन्दर तालका रूपमा रहेको ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएको वेगनास तालको अवलोकन गर्न र यहाँ पाइने स्थानीय जातका माछाको स्वाद लिन पर्यटक आउने क्रम पछिल्ला दिनमा बढ्दै गएको छ । समुद्री सतहबाट ६७७ मिटरको उँचाइमा रहेको सो तालमा पाइने स्थानीय जातका माछाको अवलोकन गर्न पर्यटक लोभिने गरेका छन् । वेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेल वेगनास आउने पर्यटक स्थानीय जातका माछाको स्वाद लिन र डुङ्गामा सयर गर्न लोभिने गरेको बताउछन्। वेगनास तालमा दैनिक करिब ५०० पर्यटक आउने गरेकामा आधा जतिले डुङ्गा चढ्ने गरेका छन् । डुङ्गा व्यवसायी समितिमा २५७ वटा डुङ्गा दर्ता भएकामा हाल लगभग २०० को सङ्ख्यामा डुङ्गाले सेवा प्रवाह गरिरहेको कँडेल बताउछन्। वेगनास तालबाट धनुबाँस, सिम्ले, फपेटा, ताग्रेस्वारी, भगेरी पोखरीलगायतका स्थानमा स्थानीयवासी डुङ्गा तरेर आवत–जावतसमेत गर्छन् । तालमा करिब ३५ किलो तौलसम्मका माछा पाइन्छन् । स्थानीयवासी पछिल्ला वर्षमा लोकल सर, वाम, ढुङ्गे वाम, नैनी, फगेटा, भोटीजस्ता रैथाने जातका माछाको कमी हुँदै गएको बताउँछन् । दुई दसक अघिसम्म तालमा ८५ किलो तौलसम्मका माछा पाइने गरेको स्थानीयवासीको भनाइ छ । मत्स्य अनुसन्धान केन्द्रका प्रमुख सुरेन्द्र शाहका अनुसार वेगनास तालमा मात्र वार्षिक ३६ मेट्रिक टन माछा उत्पादन हुन्छ । यस क्षेत्रमा हाल व्यवसायीले पोखरी निर्माण गरी माछापालन गर्दै आएका छन् । पछिल्ला वर्षमा तिलिपिया जातको माछाका कारण रैथाने जातका माछा कम हुँदै गएको डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष कँडेल बताउछन् । पर्यटकको आकर्षणलाई दृष्टिगत गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाइ छ । प्राकृतिक दृश्यावलोकन, डुङ्गा शयर, स्थानीय माछाको विभिन्न परिकारको स्वादमा रमाउन स्थानीयवासीले माछा महोत्सव समेत आयोजना गर्दै आएका छन् । यस वर्ष वैशाख १७ देखि १९ गतेसम्म दोस्रो वेगनास माछा महोत्सव आयोजना गर्न लागिएको प्रचार–प्रसार उप–समितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment