गोल्डेन न्यूज संवाददाता
वेदान्त कविरत्न एवं अग्रज पत्रकार रूद्रबहादुर हितानमगर मगर साहित्यका लागि दिइने सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार ‘जीबसिम साहित्य पुरस्कार–२०७१’ बाट सम्मानित भएका छन् । मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान द्वारा शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा वेदान्त कविरत्नलाई सभामुख ओनसरी घर्तीमगरले ५० हजार नगद र सम्मानपत्रसहित सम्मान गर्नुभएको हो । त्यस्तै, सोही अवसरमा १० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित ‘जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७१’बाट रोल्पाका नवोदित साहित्यकार समीप वैरागी ‘टेकबहादुर झाँक्रीमगर’ सम्मानित भए । सोही अवसरमा नेपालको इतिहासमा पहिलो महिला सभामुख ओनसरी घर्तीमगर ‘उषा’लाई समेत प्रतिष्ठानले विशेष सम्मान गरेको छ ।
त्यस्तै, सडक दुर्घटनामा परी उपचाररत रहेका आदिवासी जनजाति अगुवा एवं पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीमगरलाई सम्मानसहित २० हजार नगद राशिको ‘जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७१’बाट सम्मान गरियो । ‘जीबसिम साहित्य पुरस्कार–२०७१’ को पुरस्कार राशी ५० हजार रहेको छ । पुरस्कार राशी हरेक वर्ष पाँच हजारले वृद्धि गर्दै लगिएको प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए । पुरस्कारबाट सम्मानित वेदान्त कविरत्न हितानका मगर भाषामा ‘लाङ्घाके आरमेट्नाङ्’ (गाउँलाइ सम्झन्दा, कविता संग्रह–२०५०) र ‘लखन ठापा ल्हीङ–रील्हीङ्’ (लखन थापा, गीतिकाव्य–२०७१) लगायत मगर भाषाबाहेक नेपाली भाषामा पनि वेदान्त काव्य समेत प्रकाशित छन् । ‘जीबसिम नवप्रतिभा साहित्य पुरस्कार–२०७१’बाट सम्मानित साहित्यकार वैरागीको पश्चिम मगरात क्षेत्रमा बोलिने मगर भाषामा पहिलो मुक्तक संग्रह ‘जिन्दगीला यम’ (मुक्तक संग्रह–२०७२) प्रकाशित छ । पुरस्कार वितरण कार्यक्रममा नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगर, प्राज्ञ सुलोचना मानन्धर, सन्त गाहामगर, लेखक माकिम मगरलगायतले मगर भाषा, साहित्यको विकासमा पुरस्कारले निकै ठूलो योगदान गरेको बताएका थिए ।
Post a Comment