गोल्डेन न्यूज संवाददाता
पोखरामा लामो इतिहास बोकेको युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले सोमबार ४२ औं वार्षिकोत्सव मनाएको छ । सन् १९७५ अप्रिल ११ मा केशवलाल श्रेष्ठको अध्यक्षतामा यहाँ स्थापित पोखरा जेसीजमा अहिले एक सय बढि विभिन्न पेशा व्यवसायमा सक्रिय युवाहरु आबद्ध छन् । नेपाल जेसिजको मुलुककै उत्कृष्ट शाखा मध्येको एक पोखरा जेसीजले सामाजिक कार्यका साथ जेसीज विकईण्ड तथा मिस पोखरा प्रतियोगिता गर्दै आएको छ । संस्थाका सदस्यहरुले केक काटेर शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष बसन्त उदास (सन् १९९१) ले चार दशक यात्रा गरिसकेको संस्थामा नवयुवाहरुको प्रवेश गर्ने क्रमले तीब्रता पाएकोमा सन्तोष प्रकट गर्दै जेसिज आन्दोलनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिए । ‘जेसी एउटा आन्दोलन हो । आन्दोलन परिवर्तनका लागि गरिन्छ । त्यसैले जेसीजमा लागेर परिवर्तन भईंदैन भने नलाग्नुस्’,उदासले भने–‘जीवनशैली, व्यवहार, प्रस्तुति शैलीको विकासका लागि जेसीजमा लाग्नु अपरिहार्य छ ।’ पूर्व अध्यक्ष सुवास सिग्देल (सन् २००५) ले पोखरा जेसीज समाजमा अगुवा र परिचित संस्था बनिसकेकाले अझै यसको गतिविधिलाई फराकिलो पार्दै लैजानुपर्ने आवश्यकता औंल्याए । जेसीहरु नै प्रतिष्ठित र विभिन्न क्षेत्रमा अगुवा रहेकाले जेसीजमा आबद्ध सदस्यहरुले सक्रियताका साथ लाग्नुपर्ने पर्नेमा जोड दिँदै सिग्देलले जेसीजमा आबद्ध युवाहरु समाजका हरेक क्षेत्रमा नेतृत्व लिएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसीजका अध्यक्ष गोविन्द देवकोटाले पोखरा जेसीज सचिवालय भवनको स्तरोन्नतिका साथै तला थप्ने कार्यमा सबै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । पोखरा लेडी जेसीजकी अध्यक्ष प्रमिला सुवेदीले सहकार्यका साथ अघि बढे दुई संस्थाहरु पोखरामा अझै अग्रणी संस्थाका रुपमा परिचित हुने बताईन् ।लेखनाथ जेसीजका निवर्तमान अध्यक्ष विनोद लामिछानेले माृतसंस्था पोखरा जेसीजको सहयोगमा अघि बढ्ने उल्लेख गरे । महासचिव सन्तोष शाहीले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष शिव सुवेदीले स्वागत, कार्यक्रम संयोजक शिवराम अधिकारीले धन्यवाद ज्ञापन, व्यक्तिगत विकास क्षेत्रका निर्देशक यज्ञपुरुष रिजालले आस्थापाठ अगुवाई गरेका थिए । सो अवसरमा पुर्व अध्यक्षहरु टेकमान प्रधानाङ्ग (सन् १९९०), नारायण शर्मा (सन् १९९४), प्रदीप रञ्जित (सन् १९९५), ईश्वरप्रसाद कर्माचार्य (सन् २००१), सन्तोष पोखरेल (सन् २०१२), विष्णुबहादुर थापा (सन् २०१३), तिलकराम पौडेल (सन् २०१४), छवि सुवेदी (सन् २०१५) लगायतको उपस्थिति थियो । यसैबीच, पूर्व अध्यक्ष सन्तोष पोखरेल नेपाल जेसीजको बोर्ड सल्लाहकारमा नियुक्त भएकोमा बधाईका साथै २०७३ सालको शुभकामना आदानप्रदान पनि गरियो ।
Post a Comment