गोल्डेन न्यूज संवाददाता
नेपाल विद्यार्थी संघले स्थापनाको ४६औँ वर्षगाँठ देशभर मनाइएको छ । वार्षिकोत्सवमा दिन कास्की नेविसंघ पनि विभाजित भएर छुट्टा–छुट्टै कार्यक्रम गरि स्थापना दिवस मनाएका छन् । नेविसंघ कास्कीमा लामो समयदेखिको विवाद अझै मिल्न सकेको छैन । सुवास कोइराला संयोजक रहेको नेविसंघ कास्कीले काँग्रेस पार्टी कार्यालय परिसरमा संगठनले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै क्यालेन्डर विमोचन समेत ग¥यो । सोहि अवसरमा नेविसंघ कास्कीमा देखिएको विवाद चाँडो भन्दा चाँडो सल्टाउनुपर्ने आवाज समेत उठेको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व महासमिति सदस्य कृष्ण कार्कीले नेविसंघलाई बलियो बनाउन सकेमात्रै कास्कीमा काँग्रेस बलियो हुने तर्क पेश गरे । ‘केहि नेताहरुले आफ्नो स्वार्थको लागि नेविसंघलाई प्रयोग गरेका छन् तर अब यस्तो हुनु हुँदैन ।’ कार्कीले भने । त्यस्तै अर्का महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले नयाँ वर्षको शुभकामना दिँदै यो नयाँ वर्षमा कास्की नेविसंघबीचको असमझदारी हटाउनुपर्ने बताए । उनले विद्यार्थीहरुलाई फुटेर नभई जुटेर अगाडि बड्न आग्रह गरे ।
नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य भोजबहादुर गुरुङले पनि कास्कीमा टुक्रिएको नेविसंघलाई एक ठाऊँमा ल्याउन जस्तोसुकै चुनौती मोल्न आफु तयार भएको बताए । कास्की काँग्रेस सदस्य उमेश पराजुलीले पनि आपसमा मिलेर काम गर्न नेविसंघलाई सुझाए । कार्यक्रममा नेविसंघ कास्कीका सल्लाहकार तथा निवर्तमान सभापति कल्याणबाबु भण्डारी, नेविसंघ पृथ्वीनारायण क्याम्पस ईकाई सभापति गोपाल गुरुङ, नेविसंघ वनविज्ञान अध्ययन संस्थानका ईकाई सभापति अशोक साह, नेविसंघ क्षेत्र नम्बर २ सभापति गोविन्द नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । सोहि अवसरमा नयाँ वर्षको क्यालेन्डर समेत विमोचन गरिएको थियो । कार्यक्रमलाई नेविसंघ कास्कीका सचिव विक्रमआदित्य सिंह गिरीले संचालन गरेका थिए ।
यसैबीच मदन पौडेल अध्यक्ष रहेको कास्की नेविसंघले पनि संघको ४६औं स्थापना दिवस मनाएको छ । पौडेल अध्यक्ष रहेको नेविसंघ कास्कीले पोखरा वृद्धाश्रममा रहेका वृद्ध–वृद्धाहरुलाई फलफूल वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विरेन्द्रनारायण विजुक्छेले ज्येष्ठ नागरिकहरुको सवालमा पोखरा वृद्धाश्रमले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गरे। त्यस्तै पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले आफ्ना घरमा रहेका बाबा आमा एवं ज्येष्ठ नागरिकको उचित लालन पालन र संरक्षण गर्न आग्रह गरे । एक दिन वृद्धाश्रममा फलफूल या अन्य सामन बाँडेर मात्र ज्येष्ठ नागरिकप्रतिको सम्मान पुरा हुँदैन, घरमा रहेका आफन्तहरुलाई राम्रो हेरविचार गर्नुहोस, अध्यक्ष पराजुलीको भनाई थियो ।
नेविसंघ कास्कीका अध्यक्ष मदनराज पौडेलको अध्यक्षता र सचिव विश्वराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका नेता तथा नेविसंघका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमा नेपाली काँग्रेस कास्कीका नेता दुर्गाप्रसाद तिमिल्सिना, नेतृ नम्रता बराल, नेपाली कांग्रेस पोखरा १७, ईकाई सभापति देवराज आचार्य लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
Post a Comment