नविन अर्याल
महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पाँच सयमै रुम ! त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित ! सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यथार्थ हो । लेकसाइडको भित्रि सडकमा पाँच सय रुपैयाँमा रुम पाइन्छन् । जहाँ अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टिभि लगायतका सुविधा उपलब्ध हुन्छन् । यस्ता होटलमा पाँच सयदेखि हजार रुपैयाँसम्मका रुमहरु हुने न्यू सिटी अन्नपूर्ण होटलका सञ्चालक शंकर गुरुङले बताए । पोखरा भन्नेवित्तिकै धेरै मानिसहरु महंगो शहरका रुपमा बुझ्छन् । त्यसमाथि लेकसाइड भनेपछि धेरैले आफ्नो पहुँच बाहिर सम्झन्छन् ।
लेकसाइडमा महंगामात्र होटलहरु मात्रै रहेको भ्रममा धेरै नेपाली लेकसाइड बस्ने आफ्नो चाहनाविपरित पृथ्वीचोक, न्यूरोड, सृजनाचोक, महेन्द्र पुलतिर बसेको भेटिन्छ । तर, लेकसाइडमै पाँच सयमा सुविधायुक्त रुमहरु पाइने धेरैलाई थाहा छैन् । जसले गर्दा कम पैसा हुनेहरु पोखरा आउँदा लेकसाइडमा बसेर यहाँको रात्रीलाइफको मज्जा लिन पाइरहेका छैनन् । लेकसाइड नेपालको यस्तो ठाउँ हो, जहाँ पुग्दा पश्चिमी रंगीन दुनियाँको झझल्को मिल्छ । ‘लेकसाइड बस्ने रहर भएका तर धेरै पैसा खर्च गर्न नसक्ने ग्राहकरुलाई सेवा दिइरहेका छौं’ गुरुङले भने–‘सस्तो मूल्यमा रुमहरु बिक्री गरे पनि हामीले सेवा सुविधाको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।’ होटलको सफा सुग्घरमा पनि कुनै गडबडी हुन नदिने उनको भनाई छ । पोखरा घुम्न आउने स्वदेशी पर्यटक पनि सस्ता रुम खोज्छन् । नेपालीहरु रुममा भन्दा बढी खानपिनमा खर्च गर्न चाहाने गरेको गुरुङले बताए । नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका तारे होटलहरु भरिएका छैनन् । तर, सस्ता रुमहरु बिक्री गर्ने होटलहरु भरिभराउ छन् ।
लेकसाइडको मुख्यरोडभित्र खुलेका दर्जनौं होटलले पाँच सयदेखि हजार रुपैयाँसम्म रुमहरु बिक्री गर्छन् । कतिपयले होम स्टे सरहका होटलहरु समेत सञ्चालन गरिरहेका छन् । जसले कम खर्चमै लेकसाइड मा बसेर रमाइलो गर्ने नेपालीको चाहना पूरा गर्दै आएका छन् । खासगरी लेकसाइडका भित्री सडकहरु, पामेतिर जाने सडक र हलनचोकबाट जिरो किलोटिर तर्फको मुख्य सडकमा पाँच सयदेखि हजार रुपैयाँसम्ममा सुविधायुक्त रुमहरु पाइन्छन् । सफा र चिटिक्क पारिएका होटलमा पाँच सयमै रुम पाइने भएपछि ग्राहक यस्ता होटलमा आकषिर्त भइरहेका छन् ।
लेकसाइड जस्तो महंगो ठाउँमा कसरी पाँच सयमा रुमहरु पाइन्छन् ? धेरैलाई कौतुहल हुन सक्छ । यस्ता होटलहरु प्राय आफ्नै घरमा परिवारका सदस्यहरुले सञ्चालन गरेको भेटिन्छ । घरको बाहल तिर्न नपर्ने र परिवारकै सदस्यले काम गर्ने हुँदा सञ्चालन खर्च कम भएपछि सस्तोमा रुम बिक्री सम्भव भएको हो ।
त्यसो त घर भाडामा ल्याएर होटल चलाउनेहरुले पनि पाँच सयमै रुमहरु बिक्री गरेको भेटियो । लेकसाइडमा महंगो भाडा तिरेर पाँच यसमा रुमहरु बिक्री गरी कसरी नाफा कमाइन्छ ? उनीहरुको पनि आफ्नै तर्क छ । लेकसाइडको सेन्टर प्वाइन्ट सडकमा घर भाडामा लिएर होटल चलाइरहेका गुरुङले खानाबाट खर्च कभर गर्ने बताउँछन् । ‘नेपालीहरु सस्तो रुममा बसे पनि खानपिनमा भने निकै खर्च गर्छन्, खानाबाट हामीले नाफा कमाउने हो’ उनको भनाई छ ।
यसको मतलव गुरुङले खानको मूल्य चर्को असुल्ने होइन । उनले २ सयमा भेज र ३ सयमा ननभेज खुवाउँछन् । नेपालीहरु रक्सी र स्न्याक्समा धेरै खर्च गर्ने हुँदा खानाबाट आम्दानी बढी हुने उनको तर्क छ । सस्ता रुमका ग्राहकहरु अधिकांश नेपाली हुने गर्छन् । त्यसमाथि पनि पोखरा क्षेत्रका ५० प्रतिशत र पोखरा बाहिरका ५० प्रतिशत हुने गरेको गुरुङको अनुभव छ । कम मूल्यमा रुम बिक्री गर्ने होटलमा अफसिजनमा समेत ५० प्रतिशत भन्दा बढी रुम भरिन्छन् । त्यसो हुँदा पनि सस्तोमा रुम बिक्री गरेर नाफा कमाउन सम्भव भएको हो । तीनतारे स्तरको ल्यान्डमार्क होटलका प्रबन्ध सञ्चालक ओमप्रकाश पाण्डेका अनुसार मुख्य सडकभित्र रहेका अधिकांश घरधनीले सस्तोमा रुमहरु बिक्री गर्ने गरेको बताउँछन् । ‘घर महिनावारी भाडामा लगाएर भन्दा होटल बनाएर प्रतिरुम पाँच यसमा बिक्री गर्दा नाफा हुन्छ’ उनले भने– ‘त्यसो हुँदा परिवारकै सदस्यले घरलाई होटलका रुपमा चलाइरहेका छन् ।’ लेकसाइडका भित्री सडकमा सबै घरहरु होटलमा परिणत भएको पाण्डेले बताए । सस्तो रुम बिक्री गर्ने होटलहरु तारे होटलका लागि चुनौती समेत बन्दै गइरहेका छन् । तर, धेरै पैसामा लेकसाइडमा बस्न चाहने पर्यटकका लागि भने बरदान बनिरहेको अनलाइनखबरले जनाएको छ ।
पोखरालाई पर्यटकीय नगरी भने पनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्द्रित भएको देखिन्छ । लेकसाइड बाहिर बसेर पर्यटकले पोखरा भ्रमण गरेको अनुभव प्राप्त गर्न सक्दैनन् । त्यसकारण सकेसम्म लेकसाइडमा बसेर रमाइलो गर्न चाहाने बढी हुने गरेको पर्यटन व्यावसायी बताउँछन्
Post a Comment