गोल्डेन न्यूज संवाददाता
पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको शिलान्यास कार्यक्रमको लागि विभिन्न उप–समिति गठन गरिएको छ । विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा मंगलवार सम्पन्न छलफलबाट उपसमिति गठन गरिएको हो । विमानस्थल शिलान्यासको लागि यसअघि गठित मूल समितिको मातहतमा रहने गरी १४ वटा उप–समिति गठन गरिएको हो । जस अनुसार स्वागत तथा अतिथि सत्कारमा पोखरा उद्योग वाणिज्य संघ, नागरिक परिचालनमा पोखरा उप–महानगरपालिका, प्रचार–प्रसारमा पत्रकार महासंघ कास्की, सांस्कृतिक भेषभूषा र वाजागाजा मा पोखरा पर्यटन परिषद्, ¥यालीमा नगर महिला समन्वय समितिलाई संयोजक तोकिएको छ । त्यस्तै मञ्च व्यवस्थापनमा आयोजना कार्यालय, लेखनाथको नागरिक परिचालनमा लेखनाथ उद्योग वाणिज्य संघ, निर्माणस्थल वरपरका वडाको स्थानीय परिचालन, सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, आपतकालिन लगायत अन्य सेवाका लागि जिल्ला प्रशासन कार्यालय, पत्राचारको लागि पोखरा उद्योग वाणिज्य संघका समन्वयमा होटल संघ लगायतका संस्था, अन्य जिल्ला समन्वयमा आनन्दराज मुल्मी, गाउँ समन्ययमा जिल्ला विकास समिति र यातायात व्यवस्थापनका लागि यातायात सम्बन्धित संघ–संस्थालाई संयोजक तोकिएको छ । विमानस्थल शिलान्यसको मिति तय गर्न यसअघि चैत्र १८ गते वसेको बैंठकबाट उच्चस्तरीय सहयोग समितिका संयोजक सांसद रविन्द्र अधिकारी मूल समितिको संयोजक रहेको समिति गठन गरिएको थियो । समितिका संयोजक अधिकारीले सबै उपसमितिले आ आफ्नो जिम्मेवारी कुशलताको साथ पूरा गर्ने विश्वास ब्यक्त गरे । समितिका संयोजक संस्था एबं ब्यक्तिहरुले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्दै शिलान्यास समारोहलाई भव्य वनाउने प्रतिबद्धता जनाएका छन् ।त्यस्तै सम्पूर्ण राजनीतिक दलका प्रमुख एबं प्रतिनिधिहरुले शिलान्यास कार्यक्रम सफल पार्न आ–आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । छलफलमा सहभागीहरुले सबै पार्टी, संघ–संस्था र क्षेत्रको सहभागी हुने गरी शिलान्यास कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए । विमानस्थलको सबै पार्टीका प्रमुखहरुको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्ने सहमति भएको छ । शिलान्यासमा चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलको पनि सहभागिता रहने अधिकारीले जानकारी दिए । आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चैत्र ८ गते अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षीबीच विमानस्थल सम्बन्धी ऋण सम्झौतापत्रमा हस्ताक्षर भएपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको संघारमा पुगेको हो । ४० वर्ष देखिको सपना साकार हुन लागेको भन्दै पोखरेलीहरु हर्षित भएका छन् । उनीहरुले शिलान्याससँगै निर्माण कार्य पनि सुरु गर्न आग्रह गरेका छन् । पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो । पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ । ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन् । पोखरामा विमानस्थल निर्माणका लागि ४० वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावनमार्ग हुनेछ । यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ । यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Post a Comment