गोल्डेन न्यूज संवाददाता
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले...,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखँे मैले...’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वले पञ्चासे लेकको आकर्षण बढाएको छ । कास्की, स्याङ्जा र पर्वतको त्रिवेणी पञ्चासे जैविक विविधताको थलो, विश्वकै लोपोन्मुख पशुपक्षीको बासस्थान आदि भएका कारण यसको आकर्षण दिनप्रतिदिन बढेको छ । पोखराकै पहिचान जोडिएको फेवातालको मुहान पनि हो पञ्चासे । विनोद गौचनले पञ्चासेको फूललाई सम्बोधन गरी जसरी गीतको माधुर्यलाई बनाएका छन्, साँच्चिकै पञ्चासेमा रहेका विश्वचर्चित सुनाखरी, लालीगुराँस, लेकसल्लो आदि ढकमक्क फूलको सौन्दर्यले प्रकृतिसँग तादात्म्यताको अनुभूति गराउँछ । सुनाखरी, लेकसल्लो र लालीगुराँसले ढकमक्क ढाकिएको छ, पञ्चासे । त्यही सौन्दर्यले मुग्ध भएर विनोद गौचनले पूmलको महिमा वर्णित गीत लेखे । लोपोन्मुख वनस्पति र जडीबुटीको भण्डारका रूपमा चिनिन्छ, पन्चासे । यहाँ संसारमा डाइनोसरका पालादेखि नै रहेको विश्वकै लोपोन्मुख वनस्पति सतुवा, छत्रे उन्यू, लोठ सल्ला लगायतका प्रजातिको संरक्षण गरिएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । समुद्री सतहबाट ८०० देखि दुई हजार ५१७ मिटरसम्म उचाइको यो लेक अनुपम पदयात्राको गन्तव्य पनि हो । फेवातालको मुहान हर्पन, रति, जरे, आँधी र सेती खोलाको उद्गमस्थल पञ्चासेबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाललगायतका हिमशृङ्खला देख्न सकिन्छ । पञ्चासे संरक्षित वन मूल परिषद्का अध्यक्ष गोपाल गुरुङका अनुसार पञ्चासेमा धार्मिक तथा पदयात्रा पर्यटनको आकर्षण बढेको छ । पछिल्लो समय युवापुस्ता यहाँ बढी घुम्न आउँछन् । पोखराबाट २८ किलोमिटरमा पर्ने पञ्चासे पदयात्रालाई उत्तम मानिन्छ । बाटोमा सञ्चालित समुदायमा आधारित होमस्टे, झञ्ज्याङ्देखि माथि डाँडासम्मको घनाजङ्गलले प्रकृतिप्रेमीलाई बढी आनन्दित तुल्याउँछ । यहाँ देशकै सर्वाधिक प्रकारका सुनाखरी (११३ थरी) पाइन्छ । संसारमा अन्यत्र नपाइने दुई प्रजातिका सुनाखरी पाइने यहाँ लालीगुराँस, खस्रु, चाँप, चन्दन जस्ता ६०० भन्दा बढी प्रजातिका वनस्पति र जडीबुटी पाइन्छन् । बाघ, भालु, मृगलगायत विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको बासस्थान र जीवजन्तुको क्रिडास्थल पनि हो यो । सिद्ध ऋषिमुनि तथा च्यवन ऋषिको तपोभूमि मानिने पञ्चासे मातापिता भक्त श्रवणकुमारको समाधिस्थल पनि हो । सूर्योदय र सूर्योस्तको मनमोहक दृश्य देखिने, सदियाँैदेखि बालाचतुर्दशी, माघेसङ्क्रान्ति, शिवरात्रि, फागू पूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने यो पर्यटकीयस्थल पोखरादेखि नजिकको आकर्षक पदयात्राको गन्तव्य मानिन्छ । यसको बृहत्तर र योजनाबद्ध विकासका लागि पञ्चासे ग्रामीण गुरुयोजना बनेको छ । राससका अनुसार वन विभागबाट यहाँ संरक्षित वन कार्यक्रम पनि लागू गरिएको छ । पञ्चासेको विकास र संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक तथा प्राविधिक सहयोगमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबिए) कार्यक्रमले लोपोन्मुख वनस्पति, पानीका मुहान, तालको संरक्षण गर्दै आएको छ । जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा पर्ने असर र जोखिम नियन्त्रण तथा व्यवस्थापन र पुनस्र्थापनाबारे काम हुँदै आएको छ । युनेपका परामर्शदाता एवम् वातावरणविद् पूर्णचन्द्रलाल राजभण्डारीले समुदायमा आधारित पर्यावरण व्यवस्थापन गर्न सचेतनामूलक प्रवद्र्धनका काम गरिएको बताए । कार्यक्रमअन्तर्गत पानीको मुहान, जैविक विविधता संरक्षण तथा उत्पादनमुखी जीविकोपार्जन (जस्तै, होमस्टे, चिया, कफी र तरकारी) उत्पादनमा प्रोत्साहनमूलक काम गरिएको छ । तीनवर्षे नमुना परियोजनाको पहिलो चरण सकिएको छ । यसले यहाँका मानिसमा सचेतना बढेको र संरक्षणप्रति उत्साह थपेको परिषद्का अध्यक्ष गोपाल गुरुङ बताउछन् । स्थानीयवासी लाल बहादुर गुरुङले परियोजनाबाट किसानमा उत्पादनमूलक काम गर्न र वातावरण संरक्षणमा उत्साह थपेको बताउँछन्। पञ्चासेको दमदमेमा होमस्टे (घरबास) सञ्चालन गर्नुभएकी लक्ष्मी गुरुङले नमुना घरबास कार्यक्रममा पर्यटकको भीड लाग्ने गरेको बताउछन्। यो क्षेत्रमा नौवटा दर्ता भएका होमस्टे व्यावसायिक रूपमा चलेका छन् भने दर्ता नभएका होमस्टे पनि सन्चालनम छन् ।
Post a Comment