गोल्डेन न्यूज संवाददाता
अख्तियारले आफ्नो नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितसँग उनका वकिलहरुलाई भेट्न रोक लगाएको छ। विशेष अदालतको आदेश लत्याउँदै अख्तियारले दीक्षितसँग उनका वकिललाई समेत भेट गर्न रोक लगाएको हो। अख्तियारको नियन्त्रणमा रहेका दीक्षित विरामी भएपछि अस्पतालमा छन्। बुधबार वीर अस्पतालमा दीक्षितलाई भेट्न गएका वकिलहरु शम्भु थापा, टिकाराम भट्टराई र रमेश बडाललाई अख्तियारले भेट्न नदिएको हो। विहान कनकसँग थापालाई भेट्न रोक लगाएको भन्दै उनका भाइ कुन्द दीक्षितले ट्वीट गरेका थिए। विहान साढे ११ बजे वीर अस्पतालमा दीक्षितलाई भेट्न पुगेका अधिवक्ताहरु भट्टराई र बडाललाई पनि सुरक्षाकर्मीले भेट्न दिएनन्। ‘संविधानले आफ्ना कानुन व्यवसायीलाई भेट्न दिनु भन्ने उल्लेख गरेको छ, संख्या तोक्न भनेको छैन,’ अधिवक्ता भट्टराईले सेतोपाटीसँग भने, ‘रमेशजी र म विहान भेट्न जाँदा भेट्न दिइएन। दीक्षितका अर्का कानुन व्यवसायी शम्भु थापाको पनि दीक्षितलाई भेट्न सक्नेको लिष्टमा नाम छैन।’
अख्तियारले दीक्षितलाई भेट्न सक्ने मान्छेहरुको लिष्ट बनाएको छ। त्यो लिष्टमा अर्का वकिल शतीस खरेलको नाम भने उल्लेख छ। तर सुरक्षाकर्मीहरुले लिष्टमा नाम नभएको भन्दै भेटमा रोक लगाएका थिए। लिष्टमा दीक्षित पत्नी,उनका दाजुभाउजु र वकिल खरेलको नाम मात्रै उल्लेख छ। शुक्रबार पक्राउ गरेपछि अख्तियारले दीक्षितसँग उनका वकिललाई सोमबारसम्म भेट्न दिएको थिएन। आइतबार विषेश अदालतले अनुसन्धानका लागि दीक्षितलाई १० दिन हिरासतमा राख्न अनुमति दिँदै वकिललाई भेट्न रोक नलगाउन अख्तियारलाई आदेश दिएको थियो। आदेश दिएको भोलिपल्टसम्म अख्तियारले त्यसको अटेर गर्यो। सोमबार दिउँसोतिर भने अख्तियारले केही वकिलहरुलाई दीक्षितसँग भेट्न दिएको थियो। अख्तियारले भेट्न नदिने लिष्टमा राखेका दीक्षितका वकिल थापा र भट्टराई अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर त्यसबेला विरोधमा उत्रिएका थिए। कार्की अख्तियार प्रमुख भएको केही महिनापछि राजस्व विभागले शम्भु थापाको ल फर्ममा छापा मारेको थियो। थापा त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। त्यसपछि बल्ल अख्तियारको निर्देशनमा राजस्वले थापाको फर्ममा छापामारेको खुलेको थियो। सर्वोच्चले फैसला गर्दा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न अख्तियारलाई नसिहत दिएको थियो । सर्वोच्चको उक्त फैसलामा भनिएको छ, ‘अख्तियारको काम–कारबाही विधिसम्मत नभएकाले थापालाई काटेको पत्र लगायत अन्य काम–कारबाही उत्प्रेषण आदेशले बदर गरिदिएको छ।’ तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको इजलासले गरेको फैसलामा उल्लेख थियो–आइन्दा कानुनले प्रदान गरेको अधिकार क्षेत्रको सीमाभित्र रही विधिसम्मत अनुसन्धान तहकिकातबाट युक्तियुक्त देखिएको अवस्थामा बाहेक निर्देशित रूपमा खानतलासी दिनेजस्तो अरू कसैको अधिकार क्षेत्र तथा मौलिक एवम् कानुनी हकमा हस्तक्षेप हुने कार्य नगर्नू–नगराउनू। दीक्षितले पनि कार्कीले रिसिवी साँध्न आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिइसकेका छन्।
यसैबीच आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उहाँकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन्। साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपु¥याई स्वेच्छाचारी ढङ्गले विना कुनै निर्णय गैरकानुनी रुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लिखित छ । कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी हुन् ।
Post a Comment