0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा वार्षिक झण्डै दुई हजार विद्यार्थी घट्दै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीका अनुसार पछिल्लो चार शैक्षिकसत्रको तथ्याङ्कलाई आधार मान्दा विद्यार्थी संख्या बर्षेनी घट्दै गएको छ । शैक्षिक सत्र २०६९ मा कक्षा १ देखि १० सम्म एक लाख १८ हजार ९ सय दुई विद्यार्थी रहेको कास्कीमा २०७० मा एक लाख १७ हजार ५ सय ६७, २०७१ मा एक लाख १७ हजार ५ सय ९९ विद्यार्थी थिए भने २०७२ मा घटेर एक लाख १५ हजार ७ सय २० विद्यार्थी भर्ना भएका थिए । भर्खर सुरु भएको शैक्षिक सत्र २०७३ को तथ्याङ्क संकलनको काम भने जारी छ । सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले भने–‘कास्कीमा बार्षीक दुई हजारको दरले विद्यार्थी घटेदै गएका छन् ।’ उनका अनुसार अझैपनि झण्डै ७ सय आधारभूत शिक्षाको पहुँचबाट टाढै छन् । विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सकिए सबैलाई शिक्षाको पहुँचमा ल्याउन सकिने उनको ठम्याई छ । सुवेदीले कक्षा बढेसँगै सिकाई उपलब्धि पनि घट्दै गएको बताए । उनका अनुसार प्रथामिक तहमा भन्दा निमावि र माविमा सिकाई उपलब्धि घट्दो क्रममा छ । ४१० सामुदायिक विद्यालय, २०५ संस्थागत, ६ वटा गुरुकुल आश्रम र ४ वटा गुम्बा गरी कुल ६२५ विद्यालय रहेको कास्कीमा ६ हजार २ सय तीन शिक्षक छन् । बैशाख २ गतेबाट सुरु भएको भर्ना अभियान २०७३ मा घरेलु कामदार, सडक बालवालिका, अपांगता भएका बालवालिका, श्रमिक वालबालिका, यातायात मजदूर, होटल मजदुर तथा भूकम्पको कारण विस्थापित बालबालिकालाई लक्षित गरिएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । भर्ना अभियानको क्रममा अतिकठिन अबस्थाका बालवालिकालाई बिद्यालय सम्म ल्याउन कठिन भएको, ग्रामिण क्षेत्रका बिद्यालयमा विद्यार्थी संख्या न्यून भएर बिद्यालय समायोजन गर्नुपर्ने, प्रथामिक तहमा बढी र निमावि तथा माविमा शिक्षक दरबन्दी कम हुनु लगायतका चुनौति रहेको उनले बताए । सामुदायिक बिद्यालय प्रति अविभावक र विद्यार्थीको बिश्वास घट्नुपनि चुनौतिको रुपमा रहेको उनले बताए ।

Post a Comment

 
Top