0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्लाष्टिकको प्रयोगबाट हुने हानीको बारेमा जनचेतना जगाउनका लागि पोखरा उप–महानगरपालिकालाई सुझाव दिएका छन् । पोखरामा प्लाष्टिकको झोला र गिलासको प्रयोग निषेध गर्नको लागि पोखरा उप–महानगरपालिकाले शुरु गरेको अभियान अत्यानै सकारात्मक रहेकोले त्यसको प्रसंसा गर्दे नागरिक समाजका प्रतिनिधिहरुले गुनासो छन्–प्लाष्टिकको प्रयोग नगरौं भनेर मात्रै हुँदैन । प्लाष्टिकको प्रयोगबाट के कस्ता हानी हुन्छन् त्यसको बारेमा ब्यापक जनचेतना फैलाउन जरुरी छ । पोखरा उप–महानगरपालिकाले प्लाष्टिकको झोलाको प्रयोग गरेमा कार्वाही गर्छु भनेर मात्रै अभियान सफल नहुने भएकोले आमसञ्चार माध्यम मार्फत प्लाष्टिकको प्रयोग गरी हुने हानी नोक्सानीको बारेमा आमनागरिकमा चेतना फैलाउन सकेमा प्रभावकारी हुने सुझाव पनि उनीहरुको छ ।
रेडियो तरङ्ग, सचेतना समाज र नागरिक समाजले शुक्रबार गरेका प्लाष्टिकजन्य झोला निषेध अभियान र प्रदुर्षण मुक्त पोखरा विषयक परिचर्चा कार्यक्रम आयोजना गरे  । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्लाष्टिक मुक्त अभियान सञ्चालन गर्दा विरोध भयो भनेर पोखरा उपमहानगरपालिका पछाडि हट्न नहुने सुझाव दिए ।
‘खराबलाई खराब भन्न हिच्किचाउनु हुँदैन’,मुल्मीले भने–व्यवसायिक स्वार्थ र प्लाष्टिकलाई नै जीविकोपार्जनको माध्यम बनाएका बाहेक कसैले पनि यस अभियानको विरोध गरेका छैनन् । पोखरालाई स्वच्छ शहर बनाउनको लागि प्लाष्टिकका झोला हटाएर मात्रै हुँदैन । यो त एउटा कारण मात्रै हो । अन्य कारण तर्फ पनि पोखरा उप–महानगरपालिकाले अभियान चलाउनुपर्छ ।’ पोखरा उपमहानगरपालिकाले स्वच्छ र सफा शहर बनाउनको लागि चालेका अन्य कदमप्रति नागरिकहरुको विश्वास जाग्न नसकेको कारण प्लाष्टिकको झोला र गिलास मुक्त अभियानमा विरोध भएको टिप्पणी पनि मुल्मीको रहेको छ। 
कार्यक्रममा बोल्दै सचेतना समाजका अध्यक्ष सुरेन्द्र थापामगरले पोखरा उपमहानगरपालिकाले शुरु गरको प्लाष्टिक मुक्त शहर बनाउने अभियानमा घरघरबाट सहयोग रहेको बताए । उनले पनि दण्ड सजायको डर भन्दा प्लाष्टिकबाट स्वास्थ्य, वातावरणमा हुने हानी नोक्साको बारेमा चेतना जगाउन सुझाव दिए। कार्यक्रममा विषयबस्तुको उठान गर्दै वातावरण विज्ञ कल्याण पन्तले विकल्प होस् या नहोस् वातावरणीय, स्वाथ्यको हिसाबले प्लाष्टिकको प्रयोग बन्द गर्नुपर्ने बताए । प्लाष्टिकले मानिसलाई मात्रै होइन पशु पंक्षी, जीव जन्तु, हावा, पानी, ध्वनी सबैलाई नरारात्मक असर पारेको उनको भनाई थियो ।
कार्यक्रममा कन्या क्याम्पसका सह प्राध्यापक इन्द्रकमल मानन्धर तथा सामाजिक अभियान्ता विश्वमोहन गौचन, दुर्गा भण्डारी, दुर्गा भण्डारी, लक्की क्षेत्री, बिष्णुहरि अधिकारी, प्रभा पन्त, पवित्रा गुरुङ्ग, पार्वत पौडेल, तिलक पराजुली लगायतले प्लाष्टिक हेर्दा राम्रो भए पनि विषालु भएकाले यसको प्रयोगलाई जति सक्दो कम गर्नुपर्ने र त्यसको अभियान पोखरा उप–महानगरपालिका तथा संघ–संस्थाबाट मात्रै होइन घरघरबाट शुरु गर्नुपर्नेमा जोड दिएका थिए । अधिवक्ता तिलक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन रेडियो सफलताकी प्रबन्ध निर्देशक दुर्गा अधिकारीले सञ्चालन गरेकी थिइन् ।





Post a Comment

 
Top