गोल्डेन न्यूज संवाददाता
आरुघाटबाट गोरखा सदरमुकामका लागि छुटेको यात्रुवाहक बसमा यातायात व्यवसायी समिति गोरखा आबद्ध युवाले ढुङ्गा प्रहार गर्दा चालक, यात्रु र प्रहरी घाइते भएका छन् । कच्ची रुटमा ‘सिन्डिकेट’ लाद्दै समितिका व्यवसायी र मजदुरले बुधबार मध्याह्न फिनामको धनबासेमा यात्रुवाहक बसमा ढुङ्गामुढा गरेका हुन् । आरुघाट–गोरखा रुटमा आरुघाट यातायात प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी समिति गोरखाले गाडी तोडफोड गरेका हुन् । समितिका पदाधिकारी, मजदुरले आरुघाट प्रालिका अध्यक्ष खड्कबहादुर आलेको ना५ख ७२११ नंको बसमा ढुङ्गा हानेका हुन् । बसको अगाडिको सिसा फुटेको छ ।
त्यस्तै, बसमा यात्रारत यात्रु बगुवाकी बुद्धलक्ष्मी श्रेष्ठ, आरुचनौटेकी लीला गुरुङ, गुम्दा– ५ लप्सिबोटका कान्छा गुरुङ, आरुघाटका अर्जुन गुरुङलगायत यात्रुहरु घाइते छन् । उनीहरुको हातगोडा लगायतका अङ्गमा चोटपटक लागेको छ । गोरखा यातायात सम्बद्ध युवाले आरुघाट यातायात सम्बद्ध युवा चढेको ग६प ७६५६, बा६०प ५१५६, बा५०प ६९०२ र बा५५प ८१०५ नंको मोटरसाइकल तोडफोड गरी फुटाएका छन् । घाइते यात्रु बुद्धलक्ष्मीले भने– ‘असजिलो बाटोमा गुडिरहेको बसमाथि एक्कासी ढुङ्गा हाने । उच्छिटिएको ढुङ्गा र सिसाको टुक्राले हातमा चोट लाग्यो ।’ उनी नातिको विवाहका लागि चितवन जान सो बस चढेका थिए । अर्की घाइते यात्रु लीला गुरुङले व्यवसायीको झगडामा यात्रुलाई मुछिएकामा दुःख लागेको बताउनुभयो । उक्त बसका चालक रामबहादुर रोका पनि घाइते भएका छन् । यात्रुवाहक बसमा ढुङ्गामुढा एको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीलाई यातायात व्यवसायी समिति गोरखा सम्बद्ध युवाले हातपात गरेका थिए । प्रहरी जवान सिम्रन रायको टाउकामा चोट लागेको छ । उनको गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । प्रहरीले यातायात व्यवसायी समिति गोरखाका दिनेश तमु र नरेश बरामलाई घरेलु हतियारसहित पक्राउ गरेको छ । यस्तै, दुवै समितिका युवाबीच सडकमै झडप भएपछि प्रहरीले लाठी चलाउँदा यातायात व्यवसायी समितिका पूर्वसचिव नारायण दानी घाइते भएका छन् । झडपपछि गोरखा–आरुघाट सडकमा बस चलेको छैन । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले आफूहरुले आरुघाट प्रालिको बस तोडफोड गरेको स्वीकार गरे । केसी सामुदायिक सेवा केन्द्र प्रहरीको गोरखाका सचिव छन् । प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बस तोडफोडमा संलग्न हुनेलाई कारबाही गरिने बताएका छन् ।
Post a Comment