0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस पोखरा नगर समितिको आइतबार बसेको पदाधिकारी चयनको बैठकमा विवाद भएको छ । विवादकै बीच पदाधिकारी भने चयन भएको छ । जसअनुसार नगर समितिको उप–सभापतिमा सुरेन्द्र विजुक्छे चयन भएका छन् भने सचिवमा रामजी प्रसाद कोइराला, सह–सचिवमा ईन्दिरा थापा रहेका छन् । 
समितिको मनोनित सदस्यहरुमा रविन गुरुङ, केशव बराल, देवी थापा, सोमबहादुर गुरुङ, रामप्रसाद श्रेष्ठ र रत्नश्री विक रहेका छन् । पदाधिकारी एवं सदस्यहरु कांग्रेसको विधान बमोजिम नै मनोनित गरिएको समितिका निर्वाचित सचिव सरोज नारायण बरालले गोल्डेन न्यूज दैनिकलाई बताए । 
नेपाली काँग्रेस पोखरा नगर सभापति बजिरमान श्रेष्ठले मनोमानी रुपमा विधान विपरित पदाधिकारी मनोनित गरेको भन्दै निर्वाचित नगर सदस्य भवसागर बराल र सुवर्ण के.सी.ले बैठकमा विरोध गरेका हुन् । 
नगर सभापति बजिरमान श्रेष्ठले नगर अधिवेशनको बेला आफूलाई सभापतिमा सहयोग गर्न र सभापति जितेपछि आफूलाई नगर उपाध्यक्ष बनाउने वचन दिएकाले आफ्नो सहयोगमा श्रेष्ठले चुनाव जितेपछि आफूलाई उपाध्यक्ष मनोनित नगरी बेइमानी गरेको र विधान विपरित क्षेत्रीय प्रतिनिधि भएका सुरेन्द्र विजुक्छेलाई उपाध्यक्ष र भर्खरै जागिरबाट रिटाएर भएका रामजी कोइरालालाई हाइफाईको आधारमा सचिव मनोनित गरेको, पार्टीप्रति वफादार र त्यसको आधारमा नभई गुटको आधारमा सह–सचिव मनोनित गरिएको विरुद्धमा आफूहरुले बैठकमा आवाज उठाएको निर्वाचित पोखरा नगर सदस्य भवसागरले बताए । 
त्यस्तै अर्का नगर सदस्य सुवर्ण के.सी.ले आफूहरु जस्तोसुकै परिस्थिति आएपनि सधैं सत्यको पक्षमा बोल्ने बताए । उनले नगर सभापति श्रेष्ठलाई जातीय रुपमा नलाग्न समेत आग्रह गरे ।
यता, नगर समितिका निर्वाचिन सचिव सरोज नारायण बरालले आफूहरुले पद नपाउनेहरु ले विवाद निकालेको दावी गरे । उनले भने–‘विवाद भएको होइन, पद नपाउनेहरु केही असन्तुष्ट भएका हुन्, पार्टीमा यस्तो हुनु अस्वभाविक होइन ।’





























Post a Comment

 
Top