गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका सँगको साझेदारीमा निजी कम्पनीले पोखरामा सुविधायुक्त ८ वटा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । पोखराको पृथ्बीचोक आसपास प्रतिक्षालय निर्माण गरिएको हो । काठमाडौंको शाकम्भरी प्रोडक्सन एण्ड एडभरटाइजिङ सर्भिस प्रालि नामक संस्थाले सवै खर्च व्यहोर्नेगरी प्रतिक्षालय निर्माण गरेको हो । पोखरा उपमहानगरपालिकाले तोकेको स्थान, डिजाईन र रंगमा प्रतिक्षालय निर्माण भएका हुन् । पोखरा बसपार्क आसपास ६ वटा र नयाँवजार जाने वाटोमा एक तथा पृथ्वीचोक र सभागृहचोकको बीचमा एउटा प्रतिक्षालय निर्माण गरिएको छ । प्रतिक्षालयको संरचना निर्माण भएपनि केहि काम वाँकी नै रहेको निर्माण कम्पनीका प्रवन्ध निर्देशक हरि वस्नेतले बताए । उनका अनुसार अहिले निर्माण भएका प्रतिक्षालयमा सोलार जडानको काम भैरहेको छ । सवै प्रतिक्षालय एक महिना भित्र निर्माण सम्पन्न भई संचालनमा आउने उनले बताए । सार्वजनिक निजी साझेदारी अन्तर्गत प्रतिक्षालय निर्माण गरिएको पिस पोखराले उल्लेख गरेको छ। सम्झौता अनुसार निर्माण कम्पनीले पाँच वर्षपछि नगरपालिका लाई हस्तान्तरण गर्नुपर्नेछ । सञ्चालनमा आएपछि एउटा प्रतिक्षालयको प्रतिमहिना २५ हजारका दरले मासिक दुई लाख नगरपालिकालाई बुझाउने इन्जिनियर सुरेन्द्र पौडेलले जानकारी दिए । प्रतिक्षालयमा ४० प्रतिशत सार्वजनिक हितका सूचना र ६० प्रतिशत भाग विज्ञापनको लागि प्रयोग गर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले प्रतिक्षालयमा विज्ञापनका वोर्ड राखेर सोहि मार्फत आम्दानी गर्ने लक्ष्य राखेको छ । तर पोखराको पृथ्वीचोक र सभागृह चोकको बीचमा निर्माण गर्न लागिएको प्रतिक्षालयको भने विरोध भएको छ । स्थानीय व्यापारीले प्रतिक्षालय राखिएको स्थान व्यवहारिक नभएको आरोप लगाएका छन् । स्थानीय तिव्बतीय शरणार्थी क्याम्प ब्यापारिक एशोसिएशनका अध्यक्ष खडानन्द पौडेलले नगरपालिकाले उपयुक्त स्थान छनौट गर्न नसकेको बताए । अहिले निर्माणको गरिएको यात्रु प्रतिक्षालयको संरचना पनि उपयुक्त नभएको भन्दै उनले पसल र वटुवालाई समेत असर पर्नेगरी प्रतिक्षालय निर्माण गर्न लागिएको आरोप लगाए । स्थान परिवर्तनको लागि नगरपालिकामा आग्रह गरिएको भएपनि रातारात निर्माण कार्य सुरु गरिएको व्यापारीहरुले बताएका छन् ।
Post a Comment