गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाले २९ वटै वडालाई प्लाष्टिक झोला र गिलास निषेध क्षेत्र घोषणा गरेको छ । गत फागुनबाट सुरु भएको अभियान अन्र्तगत आज पोखरा १६ लाई प्लाष्टिक झोला र गिलास मुक्त क्षेत्र घोषणा गरेसँगै सबै वडाहरुमा अभियान सम्पन्न भएको छ । यो सँगै अब पोखरालाई नै प्लाष्टिक झोला र गिलास निषेध शहर घोषणा गर्ने बाटो खुलेको छ । आज बाटुलेचौरमा आयोजित कार्यक्रममा अभियानका संयोजक एंव वरिष्ठ अधिकृत बसन्त चालिसेले पोखरा १६ लाई प्लाष्टिक झोला र गिलास निषेध वडा घोषणा गरेका थिए । कार्यक्रममा उनले जनस्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने प्लाष्टिकलाई निषेध गर्नु नागरिकको कर्तव्य भएको बताए । उनले आफूहरुको अभियानमा पोखरावासीले गरेको सहयोग प्रति खुसी व्यक्त गरे ।
वडा सचिव एकबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर महेन्द्र गोदार, वातावरण शाखाका अधिकृत निर्मलमान सिंह भण्डारी, वडा नागरिक मञ्चका संयोजक कृष्णप्रसाद अधिकारी, एकल महिला समूहका अध्यक्ष दुर्गा केसी, एमालेका सुवासबाबु अधिकारी, काँग्रेसका होमबहादुर वानिया, एकीकृत माओवादीका गुरुदत्त भट्टराई, नेकपा माओवादीका चक्रपाणि सुवेदी, राप्रपा नेपालका नन्दलाल शर्मा, बालमञ्चका सरस्वती पुडासैनी, टोल विकास संस्थाका पुष्पराज तिमिल्सिना लगायतले घोषणा सँगसँगै प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिएका छन् । सोही अवसरमा लायन्स क्लब अफ पोखरा केभ सिटीले कपडाको झोला वितरण गरेको छ । क्लबका अधयक्ष दानबहादुर बानियाँले झोला वितरणका लागि प्रमुख अतिथि चालिसेलाई हस्तान्तरण गरे ।
Post a Comment