गोल्डेन न्यूज संवाददाता
लमजुङको करापुटार ७ घर भई पोखरा ५ मालेपाटन बस्ने २३ बर्षीय ईश्वरी पौडेल घिमिरे बैशाख ८ गते विहानै पोखराको ओम अस्पताल पुगिन् । गर्भवती उनी श्रीमान् राजनसँग स्कुटरमै वसेर अस्पताल पुगेकी थिइन् । विहानै अस्पताल पुगेकी उनको गर्भवती जाँच गरियो । अप्रेशनको गर्न भनियो र अपरान्ह झण्डै साढे ४ बजे अप्रेशन पनि भयो । उनलाई पुत्रीलाभ भयो । अप्रेशनपछि पनि आमा र वच्चा दुवै स्वस्थ थिए । भोलिपल्ट बैशाख ९ गते १२ बजे एक्कासी ईश्वरीलाई गाह्रो भयो । चिकित्सक वोलाउन भनियो । १२ बजे बोलाएपनि दिउसो झण्डै साढे ३ बजे चिकित्सक आईपुगे । आन्तरिक रक्तश्राव भएको भन्दै तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा रिफर गरियो । त्यहा लगेपछि पुनः साँझ अप्रेशन गरियो । दोस्रो पटकको अप्रेशनपछि सुत्केरीलाई आईसियुमा राखियो । निजी अस्पताल ओममा पहिले अप्रेशन गर्ने र पछि त्यहाबाट रिफर गरेर सरकारी अस्पताल गण्डकीमा पुनः अप्रेशन गर्ने एउटै चिकित्सक थिए । सिनियर डाक्टरको रुपमा चिनिएका निरज कुमार दुवे । दुई पटकको अप्रेशनले पनि ईश्वरीको ज्यान बचाउन सकेन । उनको बैशाख १२ गते अर्थात् आईतवार विहान उनको ज्यान गयो । एउटा अस्पतालमा अप्रेशन गरेकी सुत्केरीको अर्को अस्पतालमा पुनः अपरेशनपछि मृत्यु भएपछि आफन्तले गण्डकी अस्पताल परिसरमा आईतवार विहान प्रदर्शन समेत गरे । सुत्केरीको मृत्युपछि उनको घर तर्फकाले शव बुझेर लगेपनि माईती पक्षले वाटोबाटै शब फर्काएर पुनः अस्पताल ल्याए र चिकित्सकको लापर्वाहीले ज्यान गएको भन्दै प्रदर्शन गरे । मृतक पक्ष र ओम अस्पताल बीच गण्डकी अस्पतालमा दिउसो भएको वार्तापछि आफन्तले साझ शव बुझेर लगेका छन् । उनीहरुले नवजात शिशुको शिक्षा, स्वास्थ्य सहितको जिम्मेवारी ओम अस्पतालले बेहोर्नुपर्ने माग राखेका छन् । मृतकका देवर ज्ञानेन्द्र घिमिरेले ओम अस्पतालको लापर्वाहीलेनै भाउजुको ज्यान गएको आरोप लगाए । सुत्केरीको मृत्यु हुनुमा चिकित्सकको पनि लापर्वाही भएको उनले बताए । सुत्केरीलाई गाह्रो भएपछि वोलाउँदा समयमै आएको भए विरामीको ज्यान बच्न सक्ने उनले बताए । तर पीडित र अस्पतालको समझदारीले कानूनी प्रक्रिया भने सुरु हुन सकेन ।
Post a Comment