पोखरेली रङ्गमञ्चको कुनै लिखित इतिहास नभएपनि साठीको दशकभन्दा अगाडि पोखरेली रङ्गमञ्चका दर्जनौ संस्था रहेका थिए। दिनँहु नाटक मञ्चन पोखरामा हुन्थ्यो पनि। नाटक हेर्न दर्शकको ओईरो उस्तै। वि.सं. २०६२ भदौमा सिटी हल पोखरामा नाटककार कृष्ण उदासीको नाटक अश्रुज्वाला मञ्चन भयो। त्यसपछाडि पोखरेली रङ्गमञ्च सत्तरीको दशकसम्म शून्य रह्यो। अहिले भने पुनः एकचोटि पोखरेली रङ्गमञ्च जुर्मुराउन थालेको छ। यसै सन्दर्भमा पञ्चामृत नाट्य समूहले यहि बैशाख १७ र १८ गते नाटक ‘पुलिस र प्यास’ मञ्चन गर्दै छ । नाटकका लेखक तथा निर्देशक कृष्ण उदासीसँग गोल्डेन न्यूज दैनिकका लागि राजाराम पौडेलले गरेको कुराकानीको अंश यस प्रकार छः
तपाइँको लेखन तथा निर्देशन रहेको पुलिस र प्यास कस्तो खालको नाटक हो ?
नाटकमा चोर, जँड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्रमार्फत समाजमा भइरहेको विकृति र यसको निराकरण कसरी गर्ने ? भन्ने सन्देश दिन खोजिएको छ । यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यसको निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ । विषयवस्तुका दृष्टिकोणले अन्य नाटकमा भन्दा फरकपन यसमा पाइन्छ । पञ्चामृत नाट्य समूहको प्रस्तुति रहेको यस नाटक यही बैशाख १७ र १८ गते अपरान्ह ४ बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मञ्चन हुँदैछ । आशा छ पोखरेली नाटक पारखीको अपार माया हामीलाई यो नाटकबाट मिल्नेछ ।
सबै नयाँ कलाकार यस नाटकमा छन् उनीहरुले तपाइँको कथालाई कतिको न्याय गर्लान् ?
हो नाटकमा सबै रगंमञ्चका लागि नयाँ कलाकार छन् तर उनीहरुको अभिनय यतिसम्म खारिएको छ कि नाटक हेर्दा दर्शकले उनीहरु नयाँ कलाकार हुन् भन्ने पत्ता लगाउने पाउने छैनन् । नाटकमा परिवर्तन इन्स्पेक्टर कालुरामको पात्रमा देखिने छन् भने हवल्दार फूलमतीको भूमिका मुना गुरुङ, आस्था नामको पागलको भूमिका शितला अधिकारी, दुक्किलाल जुवाडेको भूमिका दिलप्रसाद गुरुङले निभाउँदै छन् । यसैगरी अनुमति मैया यौन व्यवसायीको भूमिका सबु पाठक, नत्थुराम जँड्याको भूमिकामा आशिष अधिकारी र टोलप्रसाद चोरको भूमिका विवश बाबु देखिने छन् । मनिषा गौतमले अभिनय सँगै सह–निर्देशन मलाई साथ दिएकी छन् । पञ्चामृत नाट्य समूहका कलाकारहरु तीव्र इच्छा शक्ति भएका युवाहरु हुन भन्ने लाग्यो मलाई । यिनीहरुको तीव्र इच्छा शक्ति र समर्पण भावलाई सलाम टक्र्याउन चाहन्छु । मलाई नयाँ कलाकारहरुसंग काम गरेजस्तो कति पनि महसूस भएको छैन । सबै कलाकारहरु खुलेर चरित्रमा आएका छन् । अनुशासन र रङ्गमञ्चप्रतिका लगाव सबै कलकारहरुमा छ, जसका कारणले छोटो समयमा नै नाटक तयार हुन पुगेको छ । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सूत्राधार अश्रुलता बाँस्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस.के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगीत संयोजन रविभूषण पराजुलीको रहेको छ ।
पोखरेली नाट्य क्षेत्रलाई निरन्तर क्रियाशिल बनाउन तपाइँको योजना के छन् ?
वर्कशप चलाएर पोखरामा नाट्य क्षेत्रमा युवाहरुलाई आर्कषण गर्ने र नाटकको माहोल पोखरामा निरन्तर बनाइराख्ने योजना मेरो छ । विद्यालयले नाटकलाई प्राथमिकता दिने हो भने नाट्य क्षेत्रको आर्कषण पोखरामा बढ्छ । पोखरामा नाटकको सम्भावना राम्रो भएकोले नाट्य क्षेत्रमा अघि बढ्ने उर्जा मलाई मिलेको हो । पोखरामा युवाहरुको आकर्षण नाटकमा छ, नाटक हेर्ने दर्शक पनि छन् सुस्ताएको पोखरेली नाट्य क्षेत्रलाई मेरो नाटक अन्तर्राष्ट्रिय रक्सी भट्टी मञ्चन पश्चात व्युताँइदिएको छ ।
नाटकमा बाधा के–के ले पु¥याएको छ ?
मुख्य बाधा त नाटक घरकै हो । पोखरामा नाटकघर हुने हो भने नाट्य क्षेत्रमा काम गर्न सहजता हुने थियो । नाट्य एकेडेमी भए रिर्यसल गर्न सहज मात्र होइन कलाकारलाई व्यवसायिक बनाउन सकिन्छ । पहिला यसतर्फमा ध्यान दिइएन अहिले मुख्य आवश्यकता यहि बनेको छ ।
पोखरामा नाट्य प्रतिष्ठान स्थापना हुन किन सकेन ?
अग्रजहरुको इच्छाशक्ति नहुँदा संगीत नाट्य प्रतिष्ठान पोखरामा स्थापना हुन सकेन । हुनत पूर्वका कलाकारसित पश्चिमका कलाकारले लड्न सक्दैनन् यतिमात्र होइन नयाँ कलाकारको जन्मले आफू पछाडि पर्ने डर स्थापित नाट्यकर्मीमा छ । विगतमा डाँफे कला मन्दिर, पोखरा उद्योग वाणिज्य संघको सभाहल, पोखरा सभागृहमा नाटक देखाउने गर्दा छुट्टै नाटकघर बनाउन तर्फ पुहँच भएका नाट्यकर्मीको ध्यान समेत पुग्न सकेन ।
नाट्य क्षेत्रमा तपाइँको आगमन कसरी भयो नी ?
बाल्यकालमा पढाइमा मात्र होइन नाटकमा रुचि समेत उतिकै राख्थें । त्यतिबेला रामलिला, कृष्णलिलामा अभिनय गरे । कक्षा आठमा पढ्दाबाट कविता लेख्न शुरु गरेको थिएँ, त्यो पनि छन्दमा । शिक्षकले गौतमबुद्धको पाठलाई कवितामा ढालेर ल्याउनु भनेर गृहकार्य दिएपछि कविता लेख्न थालेस्कुलमा कवितामा अन्ताक्षरी खेल्न गरेको थिए । पछि कक्षा ९ मा हास्यनाटक ‘मसिनेको शंका’ पढेपछि नाटक तर्फरुचि बढ्यो । वि.स.२०४० सालमा ‘बसन्तविन्दु’ नाटक लेखे । यो नै मैले लेखेको पहिलो नाटक हो ।
तपाइँका प्रत्येक नाटकले नयाँ र मौलिक खालका सन्देश बोकेका हुन्छन, पुलिस र प्यासमा त्यस्तो नयाँपन के छ ?
म खोज र अनुसन्धानलाई आधार मानेर नाटक लेख्छु । खोज र अध्यायनबाट तथ्यहरु संकलन गरेर विषयवस्तु, पात्र र परिवेशको निमार्ण गर्छु । समकालिन समाज र जीवनका भोगाइहरुको चित्रण गर्ने प्रयत्न गर्दा मेरा नाटकहरु मैलिक हुन्छन र सामाजिक संदेश दिन्छन् । पुलिस र प्यास नविन विषय वस्तु, शिल्प शैलीको प्रयोग गरी रचना गरिएको सामाजिक समस्यामा आधारित नाटक हो । यस्को महत्वपूर्ण मौलिक पक्ष भनेको समस्या र समाधान दुवैको खोजी हो । आजसम्म सामाजिक समस्यामा आधारित नाटकहरु समस्यामा मात्रै केन्द्रिय रहे भने यसले समस्या निराकणका लागि समाधानका विकल्पहरु पनि दिएको छ । यसले समाजवादी चिन्तन बोकेको छ । देश समाजवाद उन्मुख भैरहेको बेला यो नाटक समाजवादी साहित्य र कलाको कोशेढुङ्गा हुनेछ भन्ने मलाई विश्वास छ ।
पछिल्लो समय नेपाली रङ्गमञ्चले निकै फड्को मारेको छ । व्यवसायिकता पनि हासिले गरेको छ। यो देखेर पोखरेली युवाहरु पनि रङ्गमञ्चमा आकर्षित भएका हुन ?
यो हुन सक्छ । प्रत्येक मान्छेका लागि उत्प्रेरणा चाहिन्छ । काठ्माडांैले पोखरालाई उत्प्रेरणा दिएको मान्न सकिन्छ । केन्द्रको प्रभाव मोफसलमा पर्नु स्वभानिक हो र पनि पोखरेली युवाहरुमा छुट्टै खालको मौलिक प्रयोगधर्मी चेतना विकसित हुन खोजेजस्तो मलाई लागेको छ । युवाहरुको यो रङ्ग चेतनालाई पुँजीकृत गर्न सकियो भने पोखरेली रङ्गमञ्च छिट्टै व्यवसायिक हुने सम्भावना छ ।
र अन्त्यमा पुलिस र प्यास नाटक हेर्न चाहने दर्शकलाई के भन्नु हुन्छ ?
बैशाख १७ र १८ गते दिउँसो ४ बजे आउनुस नाटक हेर्नुस्, सुझाव दिनुस, नयाँ युवाहरुको रङ्गकर्मप्रतिको लगावलाई साथ दिनुस । पोखरेली रङ्गमञ्च पुनर्जागरणको कालमा छ । हामी तपाईहरुको साथ र सल्लाहलाई आत्म साथ गरी पोखरेली रङ्गमञ्चलाई व्यावसायिक र निरन्तरता दिन चाहन्छौं । मेरो र नाटकको बारेमा थप जानकारी जनतासमक्ष पु¥याउन गोल्डेन न्यूज दैनिक र तपाइँले जून प्रत्यत्न गर्नुभयो यसका लागि मुरी–मुरी धन्यावाद ।
Post a Comment