गोल्डेन न्यूज संवाददाता
पोखरामा स्वदेशी तथा विदेशी पर्यटक तानिरहेको प्याराग्लाइडिङको भविष्य अब के हुन्छ ? यो सबैको चिन्ताको विषय बनेको छ । प्याराग्लाइडिङ नभएर पर्यटकको आकर्षण पनि घट्ने त होइन भन्ने आशंका पनि बढ्दै गइरहेको छ । प्याराग्लाइडिङको भविष्य अब के हुन्छ ? प्रश्नमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमले भने–‘अब प्याराग्लाइडिङ उडानका लागि बैकल्पिक ठाउँ खोज्नुपर्छ ।’ पोखरा उपत्यका बाहिर प्याराग्लाइडिङ उडाउन प्रशस्त सुन्दर र उपयुक्त ठाउँहरु रहेको उनको भनाइ छ ।
तर, प्याराग्लाइडिङ व्यावसायी भने ठूला जहाजहरु उडे पनि आफुहरु विस्थापित हुनु नपर्ने दाबी गर्छन् । विदेशमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्याराग्लाइडिङ उडान भइरहेको उदाहरण प्रस्तुत गर्दै हवाइ खेलकुद संघका महासचिव बसन्त दवाडी भन्छन्–‘अहिले पोखराको प्याराग्लाइडिङ विस्थापित हुन्छ रे भनेर मनगढन्ते कुरा भइरहेको छ ।’ स्वीट्जरल्याण्डको विमानस्थल मा २÷३ किलोमिटरको दूरीमा प्याराग्लाइडिङ उडाउन स्वीकृति दिइएको दवाडीले बताए । ‘अहिलेसम्म प्याराग्लाइडिङ विस्थापित हुने प्राधिकरणबाट आधिकारिक जानकारी आएको छैन’ उनले भने–‘सरकारले चाहेमा अन्तर्राष्ट्रिय उडानसँगै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ ।’ पोखरामा लाखौं पर्यटक भित्राउने प्याराग्लाइडिङ बन्द गर्न नहुने व्यवसायीको तर्क छ । प्याराग्लाइडिङ बन्द हुने नियामक निकायबाट जानकारी नआएको व्यावसायीहरुले दाबी गरिरहँदा महानिर्देशक गौतम भने दुई वर्षअघिदेखि नै पोखराको उपयुक्त विकल्प खोज्न भनिसकेको बताउँछन् ।
‘व्यवसायीलाई हामीले यसअघि नै विकल्प सोच्न भनिसकेका छौं’ महानिर्देशक गौतमले भने–‘अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा आफ्नै सीमा र मापदण्ड हुन्छ, प्राइमरी र सेकेन्डरी एरिया हुन्छ, व्यवसायीले हचुवाका भरमा उडाउन पाइन्छ भनेर हुँदैन ।’ संघका अध्यक्ष योगेश भट्टराई पोखराबाट प्याराग्लाइडिङ हटाउने भएमा सरकारले विकल्पका लागि ठाउँ खोजिदिनुपर्ने बताउँछन् । उनले उपयुक्त ठाउँ खोजेर प्याराग्लाइडिङ सिफ्ट गरिदिने जिम्मेवारी नियामक निकायको भएको बताए ।
तर, प्राधिकरणका महानिर्देशक गौतम प्याराग्लाइडिङ उडाउने ठाउँ खोज्ने काम आफूहरुको क्षेत्रभित्र नपर्ने बताउँछन् । ‘यो नितान्त व्यवसायिक गतिविधि हो, यसलाई कुन ठाउँमा उडाउने भनेर उहाँहरुले नै निर्णय गर्ने हो’ गौतमले भने( ‘उनीहरुले खोजेको ठाउँ उपयुक्त छ वा छैन, टेक्निकल अध्ययन गरिदिने मात्रै हाम्रो काम हो, उनीहरुलाई रेगुलेट गर्ने हाम्रो काम हो ।’ प्याराग्लाइडिङ उडाउने व्यावसायीलाई नै कहाँ उडाउँदा राम्रो हन्छ भनेर बढी थाहा हुने गौतमको तर्क छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट कति दूरीमा हवाइ खेलकुद सञ्चालन गर्न पाइने भनेर आफुहरुलाई थाहा नभएको संघका अध्यक्ष भट्टराईको भनाइ छ । ‘कम्तिमा प्राधिकरणले यति दुरीमा उडाउन पाइन्छ, पोखराका यो–यो ठाउँमा उडाउन पाइँदैन भनेर देखाइदिनु त प¥यो नि’ उनले भने–‘कहाँसम्म उडाउन पाइँदैन भनेर थाहा नहुँदासम्म कसरी ठाउँ खोज्ने ?’ प्याराग्लाइडिङ विस्थापित गर्नुपूर्व आफूहरुसँग छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ । यत्तिकै विनाअध्ययन प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनको आकर्षण हराउने अध्यक्ष भट्टराईले बताए ।
यदि हटाउनै पर्ने भएमा विमानस्थल सञ्चालनमा आइसक्दा आफूहरुलाई स्थानान्तरण गरिसक्नुपर्ने उनले बताए । ‘अन्तर्राष्ट्रिय उडान नै असुरक्षित हुन्छ र रोकिन्छ भने हामी स्थानान्तरण हुन तयार छौं’ संघका महासचिव दवाडीले भने–‘त्यसभन्दा पहिला अध्ययन त हुनुर्पयो नि, यत्तिकै हचुवाको भरमा सिफ्ट होउ भनेर कहाँ सर्ने ? हामीलाई विकल्प त दिनुप¥यो नि ।’
Post a Comment