गोल्डेन न्यूज संवाददाता
सृजनाचोक स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औंं वार्षिकोत्सवको अवसरमा मिति २०७३ वैशाख १२ गते आईतबारका दिन श्री बौद्ध अर्घौं सदन, रामघाट, पोखरालाई आर्थिक सहयोग गरेको छ । पोखरा–१०, रामघाटमा अवस्थित बौद्ध अर्घौं परिसरमा निर्माण हुन गईरहेको नयाँ गुम्बा तथा बहुउद्देश्यीय भवनको निर्माण सहयोगार्थ २५ हजार रुपैंयाँ बराबरको चेक पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गले एक समारोहका बीच बौद्ध अर्घौं सदनका अध्यक्ष क्याप्टेन भुवनसिं गुरुङ्गलाई हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका अध्यक्ष आश बहादुर गुरुङ्गले विविध काम गर्दै आएको जानकारी दिए । अनुमानित कूल १० करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रस्तावित गुम्बाको योजना बारे जानकारी दिनुहुदै बौद्ध अर्घौं सदनका अक्ष्यक्ष क्याप्टेन भुवनसिं गुरुङ्गले पोखरा बचत सहकारीले गरेको यस सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो र यसले वित्तिय संघसंस्थाहरुको व्यवसायिक सामाजिक उत्तरदायित्व वहन सम्बन्धमा समाजमा राम्रो सन्देश प्रवाह हुने बताए । सोही अवसरमा २०७२ वैसाख १२ मा गएको विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएकाहरुको मृतआत्माको चीरशान्तिको कामना गर्दै पोखरा बचत सहकारीद्वारा गुम्बामा शान्ति पूजापाठ गरी एक सय आठ दीप प्रज्वलन समेत गरिएको थियो । बौद्ध अर्घौं सदनका सचिव मोती प्रसाद गुरुङ्गले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा गुम्बाका मुख्य लामा आचार्य थुप्तेन येशे (शीर गुरुङ्ग) र सदनका अध्यक्ष क्याप्टेन भुवनसिं गुरुङ्गद्वारा पोखरा बचत सहकारीका प्रतिनीधिहरुलाई खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा दुवै संस्थाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायत पोखरा बचत सहकारीका कर्मचारीहरु एवम् श्रद्धालु भक्तजनहरुको पनि उपस्थिति रहेको थियो । सहकारी संस्थाद्वारा २०७३ सालको भित्तेपात्रो पनि वितरण गरिएको थियो । मिति २०५९ साल बैशाख १२ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, कास्कीमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको पोखरा बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र कास्की जिल्ला भरि रहेको छ । पोखराको सृजनाचोकमा प्रधानकार्यालय तथा नयाँबजारमा एक सेवाकेन्द्र रहेको उक्त सहकारी संस्थामा हाल १९ सय भन्दा बढी शेयरसदस्यहरु छन् । संस्थाको अधिकृत पूजि सात करोड र चुक्तापूजी दुई करोड ६० लाख रुपैयाँ रहेको छ । जम्मा १४ जना कर्मचारीहरु कार्यरत रहेको उक्त सहकारी संस्थाद्वारा बचत र कर्जा सम्बन्धी कारोवार मात्र नभई मोबाईल, एडिएसएल, टेलिफोन र विद्युत महशूलको अनलाईन बील भुक्तानीको सुविधाको साथै आईएमई, वेष्टर्न युनियन, हिमाल रेमिट र प्रभु मनी ट्रान्सफर लगायतका कम्पनीहरुको रेमिटेन्स सेवा पनि उपलब्ध रहेको सो अवसरमा अध्यक्ष आश बहादुर गुरुङ्गले जानकारी दिए ।
Post a Comment