0
राजाराम पौडेल÷गोल्डेन
बाल्यकालमा चकचके स्वभावका सुरज आचार्य रेडियो बोकेरै गाउँमा डुल्ने गर्दथे ।  त्यसैले त उनलाई गाउँमा ‘रेडियो नेपाल’ भनेर चिनिन्थ्यो । रेडियोमा प्रायः गीत र समाचार सुन्ने गरेका उनको सपना यसरीनै गीत र समाचार आफ्नै आवाजमा सुनाउन पाए भन्ने थियो । अझ अडियो क्यासेटका कभरमा तस्विर देख्दा आफ्नो तस्बिर यसरीनै आइदिए भन्ने उनलाई हुने गर्दथ्यो । यसरी नेपाली लोक संगीतको क्षेत्रमा लाग्ने सपना बुनेका आर्चायको सपना साकार भएको छ । तर उनी यो क्षेत्रबाट त्यति सन्तुष्ट भने छैनन् । कारण यो क्षेत्रमा लागेर मात्र दैनिक छाक टार्न सम्भव भएको छैन । सुरुमा उनको यो क्षेत्र प्रतिको झुकाव बढ्नुको कारण अर्कै छ । कक्षा ४ सम्मको अध्ययन काठमाडौंमा गरेका उनी त्यसपछिको अध्ययनका लागि गाउँकै स्कुलमा भर्ना भएका थिए । कक्षा ६ मा पढ्ने क्रममा ममी विरामी भएकोले उनले पर्याप्त समय पढाइलाई दिन सकेनन् । फलस्वरुप उनी परिक्षामा फेल भए । यसले उनमा पिडा भयो । आफ्नो ममी विरामी भएर पढ्न नपाउदाँ फेल भएको भन्ने विषयलाई गीत मार्फत स्कूलमा आयोजित प्रतियोगितामा शिक्षक र विद्यार्थीलाई सुनाए । पुरस्कार जीते पनि । उनको आवाज र शब्दको तारिफ समेत भयो । यस्ले उनी उत्साहित बने । ममी आएपछि पुरस्कार देखाए । ममीको मुहारमा खुशी देखे । विस्तारै उनको गीत गाउने क्रम बढ्दै गयो ।   उनी भगवान भण्डारीको खैरनीमा गेट, बद्री पंगेनीको ससुरालीमा, हरिदेवी कोइरालाको फूलको वासना लगायतका गीतबाट प्रभावित थिए  । विस्तारै गाउँमा आयोजना हुने कार्यक्रम विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार जिते । उनको गाउँमा रोधी बस्ने कार्यक्रमको आयोजना हुन्थे । यसरी रोधीमा गीत गाउँदा सधैं जित उनकै हुन्थ्यो पनि । यसरी खारिंदै उनको आगमन यो क्षेत्रमा अगाडि बढ्यो । गाउँघरमा सीमित भएको उनको प्रतिभाले वि.सं. २०६४ मा उच्च शिक्षा अध्ययनका लागि  पोखरामा आए सँगै फर्कने मौका पायो । पोखराको महेन्द्र उच्च माविमा भर्ना भएका उनले पोखराका एफएम रेडियोमा हुने प्रतियोगितामा भाग लिएर पुरस्कार जित्थे । यसले उनमा हौसला बढ्यो । यहि बीचमा उनको भेट पोखरामा संर्घष गरिरहेका अर्का कलाकार करण तामाङसँग भयो । तामाङको सर्पोटमा उनी अगाडि बढ्न हौसिए । विस्तारै अन्य कार्यक्रममा समेत भाग लिन थाले । यस्ता कार्यक्रममा उनले एकल गीत गाएर आफ्नो प्रतिभा सुनाउने गर्दथे । सानैदेखि रेडियोमा बोल्ने रहर बनाएका उनको यो सपना वि.सं.२०६५ मा पुरा भयो । पोखराको हिमचुली एफ.एम.मा लोक गीतको कार्यक्रम सञ्चालन गरेर विद्युतीय तरङ्ग मार्फत आफ्नो प्रतिभा सुनाए । यसले उनलाई सबैले चिन्ने मात्र हैन अन्य कलाकार सँगको सामिप्यता समेत  बढायो । अनि उनी एल्बम निकालेरै यौ क्षेत्रमा अगाडि बढ्न कस्सिए । वि.सं. २०७० मा ‘अन्त कतै नजर लाइनननी’ बोलको गीतमा आवाज भरेर नेपाली साँगीतिक क्षेत्रमा डेब्यु उनको भयो ।  शब्द सिजर्ना उनकै रहेको यो गीतमो लय संकलन करण तामाङ थियो । यो गीतमा करण तामाङ र पूर्णकला विसीले उनलाई आवाजमा साथ दिएका थिए । यो गीतमार्फत उनको चर्चा बढ्यो । गीत मात्र नभएर म्युजिक भिडियो समेत दर्शकको रोजाइमा परेको थियो । यतिबेला उनै आचार्यको आमा प्रति समर्पित गीत ‘आमा’ बजारमा आएको छ । छोराले आमालाई खुशी दिन कति त्याग र तपस्या गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत दिन खोजिएको छ । यो एल्बम सुरज आचार्य र चन्द्र बस्नेतको संयुक्त प्रस्तुतिमा बजारमा आएको हो । यु टुवमा गीत सुनेर अमेरिकामा रहेका चन्द्र बस्नेतले उनीसँग यो एल्बममा सहकार्य गरेका हुन् । काठमाडौंमा छायाँकन गरिएको गीतको भिडियोलाई दर्शक श्रोताले मन पराएका छन् । अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांँकन भिडियोमा रहेको छ । गीतलाई जनता डिजिटल फिल्मस् प्रालिले बजारमा ल्याएको हो । गीतमा ५० भन्दा बढि नेपाली फिल्ममा अभिनय गरिसकेकी मिश्री थापाले आमाको भुमिका निभाएकी छन् । सुरज आर्चाय र मिलन भुजेलले छोराको भूमिकामा उनलाई साथ दिएका छन् । जन्म दिने आमाप्रति लक्षित यो गीत मार्मिक भएकोले गीत सुनेर मिश्रि थापाले अभिनय गर्न तयार भएको आचार्य बताउँछन् । ‘ताते ताते गर्ने बेला बाउले पनि छोडे, त्यहिबेलामा आफन्तले देव्रे पाइलो मोडे’ भन्दै आमाले भोगेको पीडालाई गीत मार्फत भनिएको छ । ‘एक्लै घरको धन्दा अनि मेलापातो भ्याउँथेउ, भोकमा खान दिएको खाजा गासँ काटेर ल्याउथे’ भन्दै आमाले गरेको दुःख र छोरालाई गरेको मायालाई अत्यन्त कारुणिक ढंगले प्रस्तुत गरिएको छ । त्यति मात्र नभएर ‘तिमी हिंड्यौ पटुका कसेर, मलाई खुवायौ भोकै बसेर’ भन्दै विषेशगरी ग्रामिण भेगका नेपालीहरुको वास्तविक जीवन कथालाई  गीत मार्फत खोतल्ने प्रयास गरिएको छ । उनकै आवाजमा ‘माया बस्यो झ्याप्पैु बोलको गीत रेर्कड भइसकेको छ । अब केहि समय पछाडि यो गीत बजारमा ल्याउने तयारी उनको छ । रामजी पौडेलको लय संकलन रहेको गीतको शब्द सिर्जना सुरजकै हो भने  आवाजमा उनलाई देवी घर्ती र राजु ढकाल साथ दिएका छन् । उनले हालसम्म तीन दर्जन गीतको शब्द सिर्जना गरिसकेका छन् ।  उनकै शब्दमा अर्जुन खड्काको बाबियाको डोरो लगायतका एक दर्जन गीत विभिन्न कलाकारको आवाजमा आउने तयारीमा रहेको उनले बताए । किचनास गाउँ विकास समिति वडा नं. ६ खैरीकोट स्याङ्गजामा बुबा लोकनाथ र ममी भगवती आचार्यको तेस्रो सन्तानको रुपमा आचार्यको जन्म भएको हो । केहि समय पोखराको त्रिवेणी संगीतालयमा संगीत सिकेर आफूमा निखारता उनले प्रदान गरेका थिए । हाल पोखराको मेघा एफएममा सञ्चारकर्मी रुपमा कार्यरत उनी कञ्चन कम्प्युटर सेवामा समेत आवद्ध छन् ।  उक्त संस्थाका सञ्चालक चिन्तामणि बाँस्तोलाको सहयोगले यात्रा अगाडि बढाउन सहज भएको उनले सुनाए । कास्की, स्याङ्जा, तनहँु, लमजुङ, गोरखा, धादिङ, काभ्रे, नुवाकोट लगायतका ठाँउमा पुगेर आफ्नो प्रतिभा उनले देखाइसकेका छन् । आर्थिक उपलब्धी नभएपनि दर्शक श्रोताको माया पाएकोमा उनी सन्तुष्ट छन् ।अडियो र भिडियो नबिक्ने भएकोले कलाकारलाई लगानी उठाउन असम्भव हुने भएकोले मेला र महोत्सवमा सबै कलाकारले अवसर पाउने हो भने सहज हुने उनको भनाइ छ । ‘सबै कलाकारले अवसर पाउनुपर्छ अवसर नपाउँदा गीत संगीतमा गरेको लगानी नउठेको कारण धेरै कलाकार विस्थापित भएका छन्’–उनले भने ।  पाइरेसी हट्ने र  अग्रजहरुले नयाँ प्रतिभालाई अवसर दिने हो भने यो क्षेत्रमा यात्रा गर्न सकज हुने उनले बताए । टिपिकल गीतलाई उत्ताउला गीतले पछि पारेकोमा उनी असतुष्ट छन्  । ‘दर्शक श्रोताको ध्यान उत्ताउला गीतमा जाँदा टिपिकल गीत छाँयामा परे’–उनले गुनासो गरे ।  यो क्षेत्रमा निरन्तरता दिदै जाने योजना बनाएका उनी यो क्षेत्रमा मात्र लागेर जीवन धान्न नसकिने बताउँछन् । यस क्षेत्रमा आउने सुरुवातका दिनमा धेरै कठिनाई उनले भोगेको छन् । ‘रेकडिङ स्टुडियोमा पालो पाउनै गाह्रो, स्टुडियोमा पालो नपाउँदा थोरै पैसा बोकेर काठमाडांै जाने कलाकार लाई निकै समस्या हुन्छ’–उनले भने । 
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm


Post a Comment

 
Top