गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपलिकाको वडा नम्बर १६ र २८ जोड्ने कालिखोला मोटरेवल पुलको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । उक्त पुलको सांसद शारदा पौडेलले शिलान्यास गरेका हुन् । पुलको शिलान्यास कार्यक्रमपछि बोल्दै प्रमुख अतिथि शारदा पौडेलले पुल निर्माण सकिएपछि त्यस क्षेत्रको कृषि उपजले बजार पाउने र पर्यटन क्षेत्रमा पनि बिकाश हुने उल्लेख गरे । नेपाल सरकारको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत बन्न लागेको पुलको १ करोड ६२ लाख ७९ हजार ९९ रुपैयाँमा स्वच्छन्द÷गौचन जे.भी. काठमण्डौंसंग ठेक्का सम्झौता भएको प्रमुख जिल्ला ईन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा स्वच्छन्द÷गौचन जे.भी.का संचालक तथा निर्माण ब्यावसायी शिव शंकर गौचनले पुल सम्पन्न गर्नुपर्ने मितिमा नै पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । पुलको लम्बाई २५ मिटरको हुनेछ। कार्यक्रममा सासंद कुमार खड्का, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेसका नेतृ लक्ष्मी पाण्डे, राप्रपा नेपालका प्रतिनिधि नेत्रबहादुर बस्नेत, नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि भीम शिरिष, संघीय समाजबादीका प्रतिनिधि दलबहादुर भुजेल लगायतले आ–आफ्नो भनाई राखेका थिए । शिलान्यास कार्यक्रममा जग्गादाता शेरबहादुर थापालाई सम्मान गरिएको थियो । कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले गरेका थिए ।
Post a Comment