0
गोल्डेन न्यूज संवाददाता
पोखरामा रहेका कपडा व्यवसायीहरुको छाता संस्था कपडा व्यवसायी एशोसिएशनका पदाधिकारी एवं सदस्यहरुले व्यवसायीको मुख्य समस्या कर नै भएको बताएका छन् । उनीहरुले सरकारले पछिल्लो क्रममा जारी गरेको थ्रेसहोल्को दायरालाई अझ फराकिलो बनाउनुपर्नेमा समेत जोड दिएका छन् । एशोसिएशनको बिहीबार सम्पन्न आकस्मिक बैठकमा उनीहरुले राज्यले व्यवसायी तथा नागरिकलाई दिएको सुविधा सबैले बराबर रुपमा पाउन नसकेको दुःखेसो गरे । पोखरामा शुक्रबार आगामी बजेट बारे छलफल कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल सहभागी हुँदैछन् । पोखरा उद्योग वाणिज्य संघले आगामी बजेटका सम्बन्धमा लिखित सुझाव दिन आफू मातहतका वस्तुगत संघहरुलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएपनि कपडा व्यवसायी एशोसिएशनको आकस्मिक बैठक बसेको हो । वैठकमा बोल्दै कपडा एशोसिएशनका निवर्तमान अध्यक्ष प्रेम भुजेलले सरकारको नीति अस्पष्ट हुनु, सरकारी कर्मचारीले समेत विभिन्न बाहनामा दुःख दिंदा व्यवसायीलाई धेरै मर्का परेकोले यसै विषयमा केन्द्रित रहेर अर्थमन्त्रीसंग सुझाव राख्नुपर्नेमा जोड दिए । उनले राजस्व कार्यालयका कर्मचारीले नेपाली र भारतीय मूलका व्यवसायीलाई फरक–फरक व्यवहार गर्ने गरेको बताए । पूर्व अध्यक्ष रामचन्द्र गौतमले समस्या राजस्वका कर्मचारी र व्यवसायी दुवैमा रहेकाले यसलाई चिरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले भने–‘राज्यको नीति गलत छैन तर नीतिलाई कार्यान्वयन गर्ने र गराउनेबीचको व्यवहार फरक छ ।’ बैठकमा पूर्व अध्यक्ष जनकराज पराजुलीले व्यवसायीका समस्यामा सरकार र सरकारी संयन्त्र गम्भीर हुनुपर्नेमा जोड दिए। उनले व्यवसायी मैत्री वातावरण मिलाइ अघि बढ्न सबै व्यवसायी बीच एकता आवश्यक भएको बताए ।  संस्थाका कार्यसमिति सदस्य सत्य नारायण खेतानले स्थायी लेखा (पान) मा दर्ता गरेका व्यवसायीले पनि खुलेर चाहेजति व्यवसाय गर्न पाउनुपर्नेमा जोड दिए । ‘सरकारको नीतिमा ५ हजार भन्दा माथिको कारोबारमा भ्याट बिल नै काट्नुपर्ने व्यवस्था रहेकाले त्यसलाई हटाउन संस्थाले पहल गर्नुपर्छ’,उनले भने । ५ हजार भन्दा माथिको कारोबारमा पनि पान बिलले नै कारोबार गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड दिंदै उनले व्यवसायीले भोग्दै आएको समस्याका बारेमा अर्थमन्त्रीलाई जानकारी गराउनुपर्ने खाँचो औंल्याए । एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाको अध्यक्षता मा भएको बैठकमा उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिना, महासचिव नविन नापित, कोषाध्यक्ष जीवन प्रकाश श्रेष्ठ, सदस्यहरु अनिल सिग्देल, रामेश्वर अधिकारी, शेरबहादुर राना, लेखनाथ पौडेल, बलराम भण्डारी, थानेश्वर तिवारी लगायतले व्यवसाय गर्दा आफूहरुले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउँदै समस्यामा पहल गरिदिन संस्थाको ध्यानाकर्षण गराएका थिए । बैठकमा पूर्व अध्यक्ष प्रदिपकुमार मुल्मीलाई मातृशोक गरेकोमा दुःख व्यक्त एवं समवेदना प्रकट गरिएको थियो भने उपाध्यक्ष तिमिल्सिनाको धागो उद्योगमा आगलागी भएकोमा दुःख प्रकट गरिएको थियो ।





Post a Comment

 
Top