दार्श्निक ओशोले एक प्रवचनमा भनेको कथाबाट अप्रेशन सुरुआत गर्दै छु–एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्को राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै पर्यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् । सारा गाउँ साँझ पर्दा नपर्दै पागल भइसकेको थियो सारा गाउँमा एउटा उडन्ते खबर के फैलियो भने राजाको दिमाग खराव भइसकेको छ । यो स्वभाविक पनि थियो किनकि सारा गाउँ पागल हुँदा एउटा व्यक्ति जो पागल हुँदैन, पागलजस्तै लाग्छ । त्यसैले गणित प्रष्ट छ, ती सबै व्यक्तिहरू असाध्यै चिन्तित भए र झन्झटमा परे । तीमध्ये जो विचारशील थिए र पागलहरूमध्ये पनि धेरै विचारशील हुन्छन्, त्यसैले पागल र विचारशीलहरू बीचमा असाध्यै थोरै दूरी हुन्छ । विचारशीलहरू प्रायः पागल हुन्छन् र पागलहरू प्रायस् विचार गर्न थाल्छन् । ती पागलहरूमध्ये कोही विचारशील थिए, कोही नेता थिए ।
ती सबैले भेला भएर सोचे, अब के गर्ने ? राजालाई नफेरे सबै नै गडबड हुने भयो, किनकि राजा पागल हुने हो भने कसरी चल्ला ? ती सबै राजमहल, साँझ पर्दा–नपर्दै राजमहल बाहिर भेला हुन पुगे । र, उनीहरूले नारा लगाए । राजालाई नफेरी अब काम चल्न सक्दैन । राजा पागल भइसकेका छन्, मन्त्री पागल छन्, रानी पागल छिन् । राजा, उनका मन्त्री, उनकी रानी माथि महलमा उभिएर विचार गर्न थाले, अब के गर्ने ? उनका सिपाहीहरू पनि पागल भएका थिए, नोकरहरू पनि उनका पागल भइसकेका थिए, सबै पागल थिए, अब के हुन्छ ? राजाले मन्त्रीलाई सोधे, चाँडै केही सोच, के गर्ने ? उनले भने, केवल त्यो कुवाको पानी पिउनु सिवाय अर्को कुनै उपाय छैन । ती तीनैजनाले सबैलाई भने, तिमीहरू एकछिन पर्ख, हामी आफ्नो पागलपनको उपचार गर्नेछौं । उनीहरू गए र त्यो कुवाको पानी पिए । त्यो रात गाउँमा ठूलो खुशी मनाइयो । मान्छेहरू नाँचे र उनीहरूले गीत गाए, राजाको दिमाग ठिक भएको छ ।
मनुष्य जाति कुनै असाध्यै गहिरो पागलपनबाट ग्रसित छ । कुनै असाध्यै ठूलो विक्षिप्तताले हामीलाई गाँजेको छ । हाम्रा नयाँ केटा–केटीहरूलाई हामी त्यसैमा दीक्षित पार्छौं । जुन केटा–केटीहरू नाइँ भन्छन्, उनीहरू पागलजस्ता देखिन्छन् । हामी उनीहरूलाई जवरजस्ती ठिक पारेर त्यही पागल हुने बाटोमा घिसार्छौं । त्यसैले यो संसारमा स्वस्थ हुनु वडो खतरनाक कुरो हो । र, जुन मान्छे स्वस्थ हुन्छ, उसले स्वस्थ हुनुको ठूलो मूल्य चुक्ता गर्नुपर्छ । कसैले गोली खानुपर्छ, कसैले विष पिउनुपर्छ वा कसैले सूलीमा झुण्डिनुपर्छ । पागलहरूको संसार हो, त्यसैले स्वस्थ मान्छेहरू यहाँ सह्य हुँदैनन् । यो पागलहरूको संसारमा जो जति ठूलो पागल हुन्छ त्यति नै प्रिय हुन्छ । किनकि ऊ आफ्नैजस्तो लाग्छ, ठिक त्यही बाटोमा हिंँडिरहे जस्तै लाग्छ, जुन बाटोमा हामीहरू हिँडिरहेका हुन्छौं ।
त, म तपाईंहरूंलाई के भन्न चाहन्छु भने मनुष्य जातिलाई समातेर बसेको जुन गहिरो पागलपनको स्थिति छ, त्यसबाट छुटकारा पाउने बाटो कुन हो ? र, यदि कुनै मार्ग नखोज्ने हो भने मृत्यु त्यसको फल हुनेछ । र, जेसुकै गर्नुस्, अन्ततः मृत्युले पक्रनेछ, भोलि पक्रन सक्छ, आज पक्रन सक्छ, अहिल्यै पक्रन सक्छ । दार्शनिक ओशोले लेखेका ६५०भन्दा बढी पुस्तकहरू मध्ये एउटा पुस्तकले सर्वा्धिक सकारात्मक र नकारात्मक चर्चा कमायो । त्यो पुस्तक थियो– ‘संभोगसे समाधि तक’ । त्यस पुस्तकको नामाङ्कनकै कारण महान् बुद्धिजीवि कहलिएका व्यक्तिहरूले उनलाई दुत्कार्नसम्म दुत्कारे । पुस्तकका सकारात्मक पक्षप्रति ध्यान नै नदिई पुस्तकमा खुला यौनको वकालत गरिएको आरोप लगाइयो । ‘बेथितिका जन्मदाता’, ‘युवामति भ्रष्ट पार्ने खलनायक’, ‘सेक्स गुरु’ जस्ता थरीथरीका उपमा भिराएर ओशोको प्रचार–प्रसारमा भात–पानी छाडेर लागे । फलतः उनलाई विश्व प्रशिद्ध बनाए । पुस्तक पढेर र चिन्तन–मनन गरेर लेख्न बसेको हुँदो हो त ‘संभोगसे समाधि तक’ पुस्तक त यौन रूपान्तरणको शक्तिशाली विज्ञान विषयक पुस्तक रहेछ भन्ने थिए । साथै, आफ्नो सोच–समझलाई रूपान्तरणको दिशातर्फ केन्द्रित पार्ने थिए । हाम्रा बुद्धिजीवीको अल्पकालीन सोचले नै दीर्घकालीन लाभको दैलो बन्द भएको छ । त्यही जड सोचसमझ वरिपरि घुम्न हामी व्यस्त छौँ ।
छलछाम नगरी भन्ने हो भने मानिसलाई भोजनपछिको अर्को आवश्यकता यौन–पूर्ति नै हो । यस मामलामा हिन्दू संस्कारमा बढी जडता छ । हाम्रो मनले समयले देखाएको मार्ग छिचोल्न भन्छ तर समाजको बन्धनले हामी बन्धनभित्रै रहेर आफ्नो परिचय खोज्न र बनाउन व्यस्त छौँ । झट्ट सुन्दा अनर्गल लागे पनि चिन्तन–मनन गर्दै जाँदा निष्कर्षमा पुग्न कठिन छैन । भोकलाई सङ्घर्षशील सीपमा रूपान्तरण गरी हामी दिनहुँ संसारसँग लाप्पा खेलिरहेका छौँ । सफलताको सगरमाथा–चुली हेरी झमेला पचाएर जीवन–रथ हाँकिरहेका छौँ । त्यसैले हामी जीवित छौँ । प्रकृतिलाई आफूअनुकूल बनाउने ध्याउन्नमा छौँ । अर्को शक्तिशाली यौन पक्षलाई रूपान्तरण त के सही प्रयोग पनि गर्न सकिरहेका छैनौँ । समाजमा विशेषः युवा पिँढीले गर्ने ७५ प्रतिशत उपद्रवहरू यौनकुण्ठाद्वारा निर्र्देिशत हुन्छन् ।
यौन पक्षलाई समाजको अग्रगामी पक्षतर्फ रूपान्तरण गर्न सके समाज सफल बन्दै जान्छ । यसको उदाहरण पश्चिमी मुलुकको विकासलाई नियालेमा पुग्छ । जड संस्कार कहिले पनि लाभदायक हुन्न । दार्श्निक ओशोले कामवासना तृप्तिका लागि पुरुषरस्त्री नै चाहिन्छ भनेका छैन । ध्यानी–मन र एउटा तकिया नै काफी छ भनेका छन् । वास्तबमा कुबेलामा बजेको बाजाको मूल्य हुन्न । यौनतृप्तिको अर्थ यौन मनतृप्ति हो । मनले जसलाई जे ठानेर काम गर्यो त्यो त्यही हुन्छ । मान्छेको मनभित्रै सुखको महासागर पनि छ र दुस्खको घनघोर आँधीबेहरी पनि छ । प्रकृतिले त आफ्नो लीलाद्वारा सबैलाई सुखानुभूति दिइरहेको छ । विकासमा मात्र होइन, विनासमा पनि विकास खोज्नु भनेकै विनासलाई विकासमा रूपान्तरण गर्न हो ।
दार्शनिक ओशोद्वारा लिखित ‘संभोगसे समाधि तक’ पुस्तकको आशय पनि यही र यस्तै हो । यौन मामलालाई नै मूल कथानक बनाई कथा लेखेका बुद्ध चेम्जोङको ‘रूपकी रानी रुपा’ कथाले समेत सर्र्वािधक चर्चा कमाएको छ । त्यसको कथानक यस्तो छ–विमलकुमार ३५ वर्षे जागिरे युवक हो । ऊसँग ५ वर्षे छोरो र ३३ वर्षे श्रीमती छन् । ऊ दिनभरिको कार्यालयको कामले लखतरान हुन्छ । घर फर्केर र थकाइ मार्ने गर्छ । ऊ सामान्य जीवन बिताइरहेको हुन्छ । दुस्खलाई भित्रन दिएको हुँदैन । सुखलाई जोगाएर राख्न सकेको पनि हुँदैन । ऊ आम नेपालीको जीवन भोगिरहेको हुन्छ । एक दिन ऊ कार्यालयबाट फर्कन्छ । घर पुग्दा छोरो र श्रीमती दुवैलाई घरमा पाउँदैन । त्यसको चिन्ता उसलाई हुँदैन । अफिसको कामबाट मुक्ति पाउनु नै उसको लागि ठूलो मुक्तिको क्षण भइदिन्छ । आराम गर्न ऊ सोफामा ढल्कन्छ । त्यत्तिकैमा निदाउँछ ।
सपना देख्न थाल्छ–रुपा नाम गरेकी सुन्दरी युवती उसका सामु देखा पर्छे । ऊसँगै न्युरोड घुम्छ । दुवैले रेष्टुरेन्टमा मम, कोक, थुप्पा खान्छन् । सामान्य वातचित हुन्छ । रुपाको कल्कलाउँदो वैंसले ऊ तानिन्छ । त्यसभन्दा बढ्ता त्यसले लगाएको पारदर्शी कपडा र छोटो स्कटबाट दर्शन भएको रुपाको शारीरिक रूपले ऊ अँझ आकर्षित हुन्छ । दुवै जय नेपाल सिनेमा हलमा गई ‘दिल तो पागल है’ नामक सिनेमा हेर्छन् । त्यस बेला रुपाले कुम जोड्छे । ऊ पनि मौकामा चौका हान्दै कुम जोड्छ । रुपाको तटस्थ मनोभावको फाइदा उठाउँदै ऊ म्वाइ खान्छ । अँझ नकार प्रतिकार नपाउँदा उत्साहित हुँदै अङ्कमाल गर्न पुग्छ । र, भन्छ–‘आइ लभ यु, रुपा ।’ त्यसबेला संयोगले श्रीमती त्यहीं आइपुग्छिन् । र, उसलाई झकझाउँदै के भनेको भनी प्रश्न तेर्साउँछिन् । विमल व्यँुझिन्छ । मीठो सपना बिगारेको ठाने पनि लाजले केही नबोली पोशाक बदल्नतिर लाग्छ ।
यही यौन विषयक कथानक भएको बुद्ध चेम्जोङको ‘रूपकी रानी रुपा’ कथाको मूल कथावस्तु यत्ति नै हो । यसमा विमलको यौनकुण्ठाको उद्घाटन भएको छ । दमित यौनभाव सपनामा प्रकट भएको छ । कार्यालय वा अन्य स्थानमा देखिएका र भेटिएका नवयौवना युवतीहरूसँग यौन संसर्ग गर्ने विमलको चाहना सपनामा सिरानीले पूरा गरिदिएको छ । समाजका अगाडि मुख देखाउन नालायक हुनबाट विमल बचेको छ । कथाकार चेम्जोङले अक्टुबर २००९मा नै उक्त कथा लेखेका हुन् । राजारानी–१, धनकुटा निवासी चेम्जोङले विदेशमा बसेर काठमाडौंको परिवेशमा कथा लेख्नु मुलुकप्रतिको आफ्नो विश्वास र मोह हो भनेर पाठकवृतबाट प्रतिक्रिया व्यक्त भएको छ । अँझ धेरै जसोले कथा अधुरो भएको विचार राखेका छन् भने केहीले कथा ज्यादै चाखलाग्दो भएकोले निरन्तरता दिन आह्वान् समेत गरेका छन् । पात्रगत अवस्थालाई हेर्दा विमल र रुपा नै प्रमुख र मञ्चीय पात्रका रूपमा देखा परेका छन् । साथै उनीहरू दुवै गतिशील, व्यक्तिगत र आबद्ध पात्र हुन् । त्यस्तै अर्की पात्र श्रीमती भने स्त्री, सहायक, अनुकूल, गतिहीन, व्यक्तिगत, मञ्चीय र मुक्त पात्रका रूपमा देखा परेकी छिन् ।
कथाको सशक्त पक्ष भनेकै कथाको टुङ्ग्याउनी हो । कथाको आरम्भ समेत सुन्दर ढङ्गको छ भने विकास भागमा घनापनको कमी छ । घटनाको तारतम्यमा फितलोपन प्रशस्तै छ । समग्रमा कथाको कथानक विश्वासिलो छ । अचेतन मन उद्घाटन शसक्त छ । तर, ‘मनोवाद यौन कथा’ भन्न सुहाउने प्रशस्त आधारहरू छैनन् । किनभने यहाँ आएका विमल, रूपा र श्रीमती तिनै जना मञ्चीय पात्र हुन् । मनोवादमा सिर्फ एक जना मात्र मञ्चीय हुनुपर्छ । र, उसकै मनोभाव मनसँगकै कुराकानीमा प्रकट हुनुपर्छ । सारमा कथाले उठान गर्न खोजेको पक्ष भनेकै अचेतन यौन मनोविज्ञान हो । त्यसको लागि समेत चेतन वातावरण अनुकूल हुनुपर्नेमा त्यसको स्यानो झलकसम्म पाइन्न । एक्कासी अचेतन मनमा यौनभाव कुण्ठित थियो भन्ने मात्र देखाइएको छ । झिनो कथावस्तुले मनोविश्लेषणात्मक कथाको रङमा निखारता भने ल्याइदिएको छ ।
अँझ विम्बात्मक पाराले यौन आकर्षणको वर्णन गरिएको भए श्लिलपन आउने थियो । सिकारु कथाका रूपमा हेर्ने हो भने चाहिँ ‘रूपकी रानी रुपा’ कथा साँच्चै प्रशंसा गर्न लायकको छ । किनभने यसको टुङ्ग्याउनीले पाठकमनलाई झड्का दिन सक्षम छ । कथाको बनोटमा प्रश्न चिन्ह लगाउनु जरुरी नभए पनि बुनोटमा निखारपन ल्याउन उत्तिक्कै खाँचो छ । सशक्त कथाकार बन्ने क्षमता बोकेको कथाकार बुद्ध चेम्जोङको कलमले यस कथाले मझेरीका रचनामा सम्भवतः सर्वाधिक कमेन्ट र शुभेच्छा पाएको छ । नामविनाका अतिथिहरूको सद्भाव वा सदासयतामा शङ्का गर्ने ठाउँ भने बाँकी नै छाडिएको छ । अतिथिज्यूहरूले पनि नामसम्म राखिदिएको भए लेखकहरूले प्रोत्साहन पाउने थिए भन्ने अभिमतका साथ यस चर्चालाई यहीं विश्राम दिन चाहन्छु ।
साभार ः मझेरी डटकम
Post a Comment