0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन्।  पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनःनिर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक रहेको बताए । उनले भने–“कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनःनिर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।” नयाँ जिम्मेवारी सहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’ को रपमा काम गर्न आग्रह गर्दै उनले पुनःनिर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागि परेको बताए ।  गत वर्ष नेकपा (एमाले) ले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयम्सेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तिमा १० स्वयम्सेवक खटाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने, ‘‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्काेले आएर बनाउँदैन, चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी मुुलुक निर्माणमा लाग्नुपर्छ ।” भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने–“कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ । तेह्र सय इञ्जिनियर खटिए प्राधिकरणले सहरी विकास मन्त्रालय अन्तर्गत पुनःनिर्माणका लागि एक हजार ३ सय ४७ इञ्जिनियर खटाएको छ । प्राप्त तीन हजार आवेदकमध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सव इञ्जिनियर खटाइएको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए । ती प्राविधिकले प्रभावितले पाउने घर निर्माणको अनुदान रकम वितरणमा प्राविधिक सहयोग गर्नुका साथै घर निर्माणका डिजाइनमा सल्लाहकारीय भूमिका निर्वाह गर्नेछन् । ती प्राविधिक कम्तीमा एक गाविस एकका दरले जानेछन् । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले विपद् न्यूनिकरणको जिम्मेवारीसहित पुनःनिर्माणको अभियानमा खटिने प्राविधिकलाई सफलताको शुभकामना दिए । प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पपीडित प्राविधिकलाई बाटो पर्खिएर हेरिरहेकाले पीडितको घरमा पुगेर परिवारको सदस्यसरह काम गर्न सक्षम हुने अपेक्षा गरे । 
के भन्छन् पुनःनिर्माणमा खटिएका इन्जिनियर ?
महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले भारतको पटनामा जारी शिक्षण पेसा छाडेर प्राविधिक भई स्वदेश फर्कन प्रेरित ग¥यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादवमा अहिले पुनःनिर्माण अभियानको रोजगारी सहित पीडितको सेवा गर्ने अवसर पाउँदा प्रशन्नता हुन्छन् ।  पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) र युएसआइडीको सहयोगमा सम्पन्न दुई दिने अभिमुखीकरणमा सहभागी भएपछि यादवले भने,–“मैले यस नयाँ काममा पैसाको मुख हेरेको छैन, राष्ट्रको सेवाको अवसर देखेको छु, अनि सरकारी सेवा प्रवेशले स्थायित्वको सम्भावना पनि मानेको छु । प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एकैसाथ एक हजार ३४७ इन्जिनियर खटाएको हो । कुल तीन हजार आवेदक मध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सव इन्जिनियर खटाइएको छ । यी नयाँ जिम्मेवारी बोक्नेलाई निजी आवासका विभिन्न १७ ढाँचा दिइएको छ । स्थानीय प्रकृति र संस्कृति सुहाउँदो घर बनाउन पुनःनिर्माणको नीति बमोजिम उनीहरूले परामर्श दिनेछन् । सप्तरीका धीरेन्द्र यादव पनि तालिम पाएर भूकम्प प्रभावित जनताको घरदैलोमा प्राविधिक सल्लाहकारको रुपमा जान पाउँदा खुसी देखिनुभएको छ । यादवले प्रभावितले पाउने घर निर्माणको अनुदान रकमको किस्ता र त्यसका प्रक्रियामा गाविस सचिव र जिल्ला विकास समितिलाई आवश्यक सहयोग पनि गर्नेछन् । बीस वर्षअघि इन्जिनियरिङ्मा स्नातक गरेका काठमाडौँका निशा तुलाधर पनि सोही अभियानमा खटिएका छन् । उनी यसअघि एक गैरसरकारी संस्थामा काम गर्दैनथे । प्राधिकरणले महिलाका लागि काठमाडौँ उपत्यका क्षेत्रमा काम गर्न प्राथमिकता दिएकाले तुलाधरले आवेदन दिएको बताए । पुरुष प्राविधिकलाई रोलक्रम 
(१,२,३) अनुसार क्रमशः उपत्यका बाहिरका स्थानमा खटाउने सरकारको नीति छ ।
बाँकेका प्रकाश भण्डारी भविष्यमा सरकारी सेवामा आफ्नो अनुभव र क्षमता देखाउन पाउने सम्भाना देखेकाले आवेदन दिएको जनाए । भण्डारीले भने–“यसमा हामीले पैसाको भन्दा पनि देश सेवा र जनसेवालाई बढी जोड दिएका छौ ।” धनुषा घर भएका सुरेन्द्रकुमार शाह पनि सिन्धुपाल्चोकका एक अन्तर्राष्ट्रिय गैरससको काम छाडेर पुनः निर्माणको प्राविधिक बन्न आएको बताउँदै देशको सेवा गर्न पाउनु एक प्रकारको धर्म पनि भएको जनाए । नेपाल इन्जिनियरिङ काउन्सिलमा हालसम्म १३ हजार इन्जिनियर दर्ता भएको देखिन्छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफू पनि सोही क्षेत्रको उत्पादन भएकाले यति धेरै सङ्ख्यामा राज्यले इन्जिनियर खटाएको यो पहिलो अवसर भएकाले अब मुलुक पुनःनिर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए ।



Post a Comment

 
Top