नयाँ शैक्षिक सत्र शुरु भएको छ तर, विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पाठ्यपुस्तकको अभावमा कतिपय विद्यालयहरु खुल्न नसकेको समाचारहरु आउन थालेका छन् । सरकारले हरेक वर्ष पाठ्यपुस्तकको अभाव हुन नदिने बताउँदै आएपनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसक्दा बालबालिकाहरुले पाठ्य पुस्तकबिना विद्यालय जान विवश भएका छन् । पाठ्यपुस्तक अभाव हुन नदिनको लागि सरकारले यसवर्षदेखि पुस्तक दिवस पनि मनाईयो । सुगमका केही विद्यालयका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरेर मनाईएको पुस्तक दिवसले दुर्गमका बालबालिकाहरुलाई भने छुन नसक्ने निश्चित जस्तै बनेको छ । पुस्तक अभावले देशका दुर्गम क्षेत्रमात्रै प्रभावित भएका छैनन् प्रमुख शहरका विद्यालय समेत प्रभावित हुँदा विद्यालयहरु खुल्न नसकेको समाचार सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा अधिकांश विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न नपाउनु लोकलाजको विषय हो । मन्त्रालयले वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक दिवस मनाएर मुलुकभर अभियान सञ्चालन गरिरहेको छ । पुस्तक अभावकै कारण अध्ययनबिना परिक्षा दिँन बाध्य भएका बालबालिकाहरुले यसवर्ष पनि त्यही नियतिको सामना गर्नुपर्ने भएको छ । सरकारकै कजोरीका कारण सामुदायिक विद्यालयका विद्यार्थीहरुले वर्षे्नि पुस्तक अभाव हुने समस्या झेल्दै आएका छन् । शिक्षा जस्तो संवेदनशिल विषयमा सरकार गंभीर नहुँदा भविष्यका कर्णधार रहेका बालबालिकाहरु शिक्षकले दिएको गृहकार्य गरेर कक्षामा समय बिताउन विवश बनेका छन् । छपाई गर्न आवश्यक कागज खरिद प्रक्रियामा गरिने ढिलाई र कमिसन खाने लोभको बालबालिकाहरु शिकार हुँदै आएका छन् । सरकारले गुणस्तरिय शिक्षाका कुरा गरेर नथाकेपनि उसले गर्ने व्यवहार वास्तवमा त्यसको विपरित छ । ठूलो सपना पुरा गर्नको लागि साना कुराबाट प्रेरित हुन जरुरी छ । विद्यालय तहमै गुणस्तरिय शिक्षा नीति लागू गर्न सकिएन भने आधुनिक शिक्षाको परिकल्पना गर्नु हावामा महल बनाउनु सरह हो । पुस्तक अभाव हुने समस्या नौलो होइन, लामो समयदेखि बालबालिकाहरुले किताबको मुखै नदेखी परिक्षा दिएको थुप्रै उदाहरणहरु हाम्रो सामु छर्लङ रहेका छन् । संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेपनि बालबालिकाहरुले पढ्ने पुस्तक नपाउनु दुखको कुरा हो । सरकार साँच्चिकै शिक्षा क्षेत्रको विषयमा संवेदनशिल भएको भए यस्तो समस्या हरेक वर्ष दोहोरिने थिएन् । सरकारले चाहने होभने यो समस्या एकैछिनमा फुमन्तर भएर सल्टिन सक्छ । केवल आवश्यक छ इच्छा शक्तिको । सरकारका यस्तै गतिविधिका कारण सरकारले अघि सारेका साक्षरताका कार्यक्रमहरु असफल बन्दै गएका छन् । शिक्षाको जग बसाउने बेलामा विद्यार्थीले पुस्तकको अभाव झैल्नु प¥यो भने समृद्व शिक्षाको सपना पुरा हुन सक्दैन । त्यसैले पाठ्यपुस्तको अभाव समाधान गर्न सचेत बन्नुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment